चिसो महिनामा मुटुका विरामीहरुले के-के कुरामा ध्यान दिने ?

चिसो महिनामा मुटुका विरामीहरुले के-के कुरामा ध्यान दिने ?

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । चिसो महिना मुटुका बिरामीहरुका लागि अनुकूल समय मानिँदैन ।तापक्रममा आउने गिरावटले मुटुको स्वास्थ्यमा अतिरिक्त चुनौती थप्ने गर्दछ। चिकित्सकहरूका अनुसार चिसो मौसममा शरीरको तापक्रम सन्तुलनमा राख्न रक्तनलीहरू खुम्चिने हुँदा मुटुलाई रगत पम्प गर्न बढी बल लगाउनुपर्छ, जसले गर्दा रक्तचाप बढ्ने र हृदयाघातको जोखिम उच्च रहन्छ । तसर्थ, मुटुका बिरामीहरूले यस समयमा आफ्नो खानपान, शारीरिक सक्रियता र न्यानोपनमा विशेष ध्यान दिनु अत्यन्त जरुरी हुन्छ।

मुटुरोगको औषधि सेवन गरेर निको भइसकेका व्यक्तिले चिसो समयमा विशेष ध्यान दिनुपर्छ । त्यस्तै, औषधि नियमित सेवन गरिरहेकाहरूमा पनि रोग पुनः बल्झने खतरा हुने भएकाले उनीहरू पनि सतर्क रहनुपर्छ ।

१. बिहानको ‘मर्निङ वाक’ बाट जोगिने
अत्यधिक चिसो भएको बेला वा शीत परेको समयमा बिहानै घरबाहिर ननिस्कनुहोस्। चिसो हावाले सिधै मुटुमा दबाब दिने भएकाले घाम लागेपछि मात्र हिँडडुल गर्नु उपयुक्त हुन्छ। साथै याे समयमा बिहानको वायुमण्डलमा धुलोका कण र प्रदूषण भुइँ नजिकै थुप्रिएका हुन्छन्। यसले गर्दा फोक्सोमा समस्या देखिन सक्छ। अझ काठमाडौँ जस्तो उपत्यकामा हावा बाहिर निस्किन अझ कठिन भएकाले पनि जाडोको समयमा प्रदूषण बढ्छ ।

२. पत्र-पत्र गरेर कपडा लगाउने
एउटै बाक्लो लुगा लगाउनु भन्दा २-३ वटा पातलो लुगाहरू पत्र-पत्र पारेर लगाउनु राम्रो हुन्छ। यसले शरीरको तापक्रम स्थिर राख्न मद्दत गर्छ। टाउको र कानलाई टोपीले छोप्नुहोस् किनभने शरीरको धेरै ताप टाउकोबाट बाहिरिन्छ।

३. घरभित्रै हल्का व्यायाम गर्ने
बाहिर जान नसक्ने अवस्थामा घरभित्रै योगाभ्यास, स्ट्रेचिङ वा हल्का हिँडडुल गरेर शरीरलाई चलायमान राख्नुहोस्। यसले रक्तसञ्चारमा सुधार ल्याउँछ।

४. खानपानमा विशेष ध्यान

जाडोमा प्रेसर बढ्ने डर हुने भएकाले नुन कम खानुहोस्। साथै तातो सुप, दाल र मनतातो पानी पिउनुहोस्। तर कफी र चियाको अत्यधिक सेवन नगर्नुहोस्।

कोलेस्ट्रोल बढ्न नदिन तेलयुक्त र तारेको खानेकुराबाट पनि टाढै रहनुहोस्।

५. औषधिको नियमित सेवन
मुटुको औषधि खाइरहनुभएको छ भने चिकित्सकको सल्लाह बिना कुनै पनि हालतमा नछुटाउनुहोस्। जाडोमा कहिलेकाहीँ औषधिको मात्रा फेरबदल गर्नुपर्ने हुन सक्छ, त्यसैले एकपटक डाक्टरलाई जचाउनु राम्रो हुन्छ।

६. मद्यपान र धुम्रपान त्याग गर्ने
धेरैलाई लाग्न सक्छ कि रक्सीले शरीर तातो बनाउँछ, तर यसले मुटुको चाल बिगार्न र रक्तचाप अनियन्त्रित बनाउन सक्छ। धुम्रपानले रक्तनली झन् साँघुरो बनाउँछ।

७. फ्लु (रुघाखोकी)बाट बच्ने
मुटुरोगीका लागि सामान्य रुघाखोकी वा निमोनिया पनि घातक हुन सक्छ। भिडभाडमा जाँदा मास्क प्रयोग गर्ने र सरसफाइमा ध्यान दिने गर्नुपर्छ। आवश्यक परे चिकित्सकको सल्लाहमा ‘फ्लु भ्याक्सिन’ लगाउन सकिन्छ।

८. कोठाको तापक्रम मिलाउने
कोठालाई तातो बनाउन हिटर प्रयोग गर्दा भेन्टिलेसन (हावा छिर्ने ठाउँ) को ख्याल गर्नुहोस्। ग्यास हिटर वा कोइला बालेर झ्यालढोका थुन्दा अक्सिजनको कमी भई मुटुमा असर पर्न सक्छ।

९. पानी पर्याप्त पिउने
जाडोमा तिर्खा कम लाग्छ, तर शरीरलाई पानीको आवश्यकता हुन्छ। पानी कम हुँदा रगत बाक्लो हुन सक्छ, त्यसैले दिनभरि पर्याप्त मात्रामा मनतातो पानी पिउनुहोस्।

१०. यी लक्षण देखिए तुरुन्त अस्पताल जाने
यदि छाती भारी हुने, सास फेर्न गाह्रो हुने, धेरै पसिना आउने, वा देब्रे हात र बङ्गारा दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको अस्पताल पुग्नुपर्छ।

Skip This
Skip This
Logo