गण्डकीमा मातृ स्वास्थ्यमा निरन्तर सुधार

गण्डकीमा मातृ स्वास्थ्यमा निरन्तर सुधार

केन्द्रबिन्दु
18
Shares

गण्डकी। गण्डकी प्रदेशमा मातृ स्वास्थ्यका सूचकहरूमा उत्साहजनक सुधार देखिएको छ। नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार प्रदेशमा संस्थागत प्रसूतिको दर ८९ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा उल्लेख्य रूपमा बढी हो। सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूति ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको सन्दर्भमा गण्डकी प्रदेश उक्त लक्ष्यको निकै नजिक पुगेको देखिन्छ।

प्रदेशमा दक्ष प्रसूतिकर्मीद्वारा हुने जन्मदर पनि ८९ प्रतिशत रहेको छ, जबकि राष्ट्रिय औसत ८० प्रतिशत मात्र छ। यसैगरी गर्भावस्थामा कम्तीमा चार पटक स्वास्थ्य परीक्षण गराउने गर्भवतीको दर गण्डकीमा ८५ प्रतिशत पुगेको छ। यी सबै सूचकहरूले प्रदेशमा मातृ स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार आएको पुष्टि गर्छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य संस्थाको संख्या वृद्धि, संस्थागत प्रसूतिको प्रवद्र्धन, जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार र जनचेतनाका कार्यक्रमले मातृ मृत्युदर घटाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। विसं २०७८ को जनगणनामा प्रतिलाख जीवित जन्ममा १६२ मातृ मृत्यु देखिएकामा पछिल्लो आर्थिक वर्षमा मातृ मृत्युको संख्या १३ जनामा झरेको छ ।

हाल गण्डकी प्रदेशमा ३६४ प्रसूति केन्द्र सञ्चालनमा छन्। प्रदेशभित्र १८ अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध छ भने ५२ स्वास्थ्य संस्थाले जटिल सुत्केरी सेवा दिइरहेका छन्। मनाङबाहेक सबै जिल्लामा शल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ । जोखिममा परेका गर्भवती, सुत्केरी र नवशिशुको जीवन जोगाउन प्रदेश सरकारले पछिल्लो पाँच वर्षदेखि निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ।

यद्यपि भौगोलिक विकटता, यातायातको अभाव र सचेतनाको कमीका कारण केही ग्रामीण क्षेत्रमा अझै पनि घरमै असुरक्षित प्रसूति हुने समस्या कायमै छ। स्वास्थ्य मन्त्रालयले यस्ता चुनौती न्यूनीकरण गर्दै शतप्रतिशत संस्थागत प्रसूति सुनिश्चित गर्ने लक्ष्यका साथ प्रदेशका सबै जिल्लामा मातृ तथा नवशिशु स्वास्थ्य अभियान सञ्चालन गरिरहेको जनाएको छ।

Logo