पर्वत। फलेवास नगरपालिका–३ शङ्करपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार ३०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
सहिद हरिदत्त तिवारीको २३औँ स्मृति दिवसका अवसरमा आयोजित स्वास्थ्य शिविरमा मुटु, छाती, पेट, महिला तथा मातृ स्वास्थ्य, हाडजोर्नी, नाककानघाँटी, बाल स्वास्थ्य, रक्तचाप, मधुमेह, इकोकार्डियोग्राफी, इलेक्ट्रोकार्डियोग्राम, अल्ट्रासाउन्ड, फिजियोथेरापी तथा मनोरोगको परीक्षण गरिएको थियो। आवश्यकताअनुसार बिरामीलाई औषधि पनि वितरण गरिएको थियो ।
शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ श्यामराज रेग्मी, डा अनिल भट्टराई, डा भारती शर्मा, प्रसूति रोग विशेषज्ञ डा केशव आचार्य, मानसिक रोग विशेषज्ञ डा सुजना रेग्मी, बालरोग विशेषज्ञ डा प्रकाश गौतमलगायत २५ जना चिकित्सकले सेवा प्रवाह गरेका थिए । यसैबीच, शिविरमा नेपाल रेडक्रस सोसाइटीको संयोजनमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । त्यस अवसरमा ५० जनाले रगत दान गरेका थिए । शिविरमा फलेवास नगरपालिका,कुस्मा नगरपालिका मोदी गाउँपालिका लगायत जिल्लाका विभिन्न ठाउँहरुका नागरिकले स्वास्थ्य जाँच गरेका थिए ।
सहिद हरिदत्त स्मृति प्रतिष्ठानका संरक्षक सहिदपुत्र एवं फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले यहाँका आर्थिक रुपमा विपन्न भएका र विभिन्न परिस्थितिका कारण स्वास्थ्य उपचार बाट वञ्चित हुन नपरोर भनेर स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । यस्तै शिविर सम्पन्न गर्न सहयोग गर्ने सवैलाई तिवारीले धन्यवाद समेत व्यक्त गरे ।
तिवारीले उनले सहिदको सम्झनामा आयोजना गरिएको यो स्वास्थ्य शिविरले समुदायमा स्वास्थ्य सचेतना बढाउने मात्र नभई आम नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउनु प्रमुख उद्देश्य रहेको बताए ।
शिविरमा जाने विरामीहरुलाई आवतजावत गर्न गाडिको समेत प्रवन्ध मिलाईएको थियो । सहिद हरिदत्त तिवारी एक समाजसेवी,राजनीतिज्ञ एवं एक कुशल विकासप्रेमी व्याक्तित्वका रुपमा रूपमा स्मरण गरिन्छन्। तिवारी तत्कालिन माओवादी जनयुद्दमा सहिद बनेका थिए ।





























प्रतिक्रिया