नवलपरासीपूर्वमा ३० कुष्ठरोगीको उपचार हुँदै

नवलपरासीपूर्वमा ३० कुष्ठरोगीको उपचार हुँदै

केन्द्रबिन्दु
36
Shares

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा हाल ३० जना कुष्ठरोगीको उपचार भइरहेको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का कुष्ठरोग फोकल पर्सन डिल्लीराम तिवारीका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आठ नयाँ कुष्ठरोगी पहिचान भएका छन् । जिल्लामा हाल १२ महिला र १८ पुरुष कुष्ठरोगी उपचाररत छन् ।

चालु आवमा एक महिला र सात पुरुष कुष्ठरोगी फेला परेका छन् । यस अवधिमा चार महिला र छ पुरुष नियमित औषधि सेवनपछि निको भएका छन् । आठ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा धेरै देवचुली नगरपालिकामा आठ जना कुष्ठरोगी रहेका छन् ।

त्यसैगरी कावासोती नगरपालिकामा सात, मध्यविन्दु र गैँडाकोट नगरपालिकामा पाँच–पाँच, हुप्सेकोट र विनयी गाउँपालिकामा दुई–दुई तथा बौदीकाली गाउँपालिकामा एक–एक जना कुष्ठरोगी औषधि सेवन गरिरहेका छन् ।

कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाबाट सर्ने एक प्रकारको ब्याक्टेरियल सङ्क्रमण हो । यो लामो समयसम्म रहने र क्रमिक रूपमा बढ्ने खालको रोग हो । अन्य सरुवा रोगको तुलनामा कम सर्ने भए पनि बिरामीले हाच्छ्युँ गर्दा रोग सर्ने सम्भावना रहने प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशवप्रसाद चापागाईँले बताए ।

जिल्लामा प्रत्येक वर्ष कुष्ठरोगीको सङ्ख्या घट्दै गएको छ । समयमै उपचार गराएमा रोग पूर्ण रूपमा निको हुने विश्वास जनचेतनामार्फत फैलाइएपछि रोगीको सङ्ख्या क्रमिक रूपमा घट्दै गएको उनले बताए ।

उठबस गर्दा वा हात मिलाउँदा यो रोग सर्दैन । कुष्ठरोगले मुख्य रूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वासप्रश्वास प्रणालीलाई प्रभावित गर्छ । यसले नशा क्षति पु¥याउने, छालामा घाउ बनाउने र मांसपेशी कमजोर बनाउने गर्दछ ।

छालामा रातो फुस्रो दाग देखिनु, छाला नदुख्नु, गिर्खा आउनु, अनुहारको छाला रातो र चम्किलो हुनु, कानको लोती बाक्लिनु, आँखा झिम्काउन नसकिनु, शरीरको कुनै भागमा छोएको थाहा नहुनु तथा हातखुट्टा लत्रिनु कुष्ठरोगका प्रमुख लक्षण हुन् । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत कुष्ठरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

Logo