बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ। सामान्यतया ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिकामा पनि देखिने गरेको छ । बालबालिकामा ‘एच प्योलोरी’ नामक किटाणुको सङ्क्रमणका कारण ग्यास्ट्रिक हुने गर्दछ । यो किटाणुको सङ्क्रमण बच्चादेखि नै हुनसक्ने चिकित्सकहरू बताउँछन् । चिल्लो, पिरो र जङ्कफुड बढी सेवन गर्दा बालबालिकामा ग्यास्ट्रिकको समस्या देखिने गरेको छ ।

कान्ति बाल अस्पतालका पेटसम्बन्धी चिकित्सक डा. सुमित अग्रवालका अनुसार ‘पेनकिलर’ औषधिले पनि बालबालिकामा ग्यास्ट्रिकको समस्या बढाउने गर्दछ । बयस्कमा ग्यास्ट्रिक हुँदा पेट दुख्ने, खाना नरुच्ने र मुखमा अमिलो आउने समस्या देखिन्छ ।

बालबालिकामा भने मुखबाट अमिलो पानी आउने, बिहान र साँझ पेट दुख्ने, कसैलाई खाना खाएपछि धेरै दुख्ने त कसैलाई कम हुने, लगातार बान्ता आउने र पेट फुल्ने जस्ता लक्षण देखिन्छन् । यसका कारण बच्चाको आहार घट्दै जाने र उपचार ढिला भए तौल घट्ने समस्या देखिने गर्दछ ।

समयमै उपचार नगरिए ग्यास्ट्रिकले पेटको दुखाइ बढ्ने, मुखबाट रगत आउने, सानो आन्द्राको प्वाल खुम्चिने र सानो आन्द्राको पहिलो भागमा अल्सरजस्ता समस्या देखिन सक्ने चिकित्सकहरूको भनाइ छ । कान्ति अस्पतालमा दिनमा दुईदेखि तीन जना ग्यास्ट्रिक समस्या भएका बालबालिका आउने गरेका छन् भने हप्तामा एकदेखि दुई जना रगत बान्ता गर्ने बालबालिका अस्पताल पुग्ने गरेका छन् ।

हप्तामा तीनदेखि पाँच वटा इन्डोस्कोपी गर्दा करिब ७५ प्रतिशत बालबालिकामा ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण देखिने गरेको छ । शरीरमा आवश्यकभन्दा बढी मात्रामा एसिड उत्पादन हुनु नै सामान्यतया ग्यास्ट्रिक हो ।

सामान्यतया १८ महिनादेखि १४ वर्षमुनिका बालबालिकामा ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण देखिने गरेको छ । सानै उमेरदेखि शरीरमा भए पनि सात–आठ वर्षपछि मात्र यसको लक्षण देखिन थाल्ने चिकित्सकहरूको भनाइ छ । ‘एच प्योलोरी’ किटाणुको उपचारका लागि दुई हप्तासम्म औषधि सेवन गरेपछि रोग निको हुने जनाइएको छ ।

Logo