आँखारोगीको खोजी गर्दै पौवादुङमा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

केन्द्रबिन्दु
27
Shares

भोजपुर। ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ। गाउँघरमै पुगेर सेवा प्रवाह गर्ने लक्ष्यसहित गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गर्न लागेको हो।

गाउँपालिकाको समन्वयमा नवदृष्टि आँखा अस्पताल प्रालि, खाँदबारी–१ तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिने भएको छ। स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडावडामा शिविर आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए।

उनका अनुसार यही माघ १८ देखि २३ गतेसम्म शिविर सञ्चालन गरिनेछ। गाउँघरमा रहेका आँखारोगीको पहिचान गरी समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो। स्थानीय सरकारको सेवालाई गाउँस्तरसम्म सहज रूपमा विस्तार गर्दै आँखारोगीको पहिचान र उपचारका लागि शिविर सञ्चालन गर्न लागिएको र सबै वडामा शिविर सञ्चालन गरेर नागरिकलाई घरनजिकै सेवा प्रदान गरिने उनले बताए।

माघ १८ गते वडा नं ५ सानोदुम्मा, माघ १९ गते वडा नं ४ बास्तिम, माघ २० गते वडा नं ६ ठूलोदुम्मा, माघ २१ गते वडा नं २ तिवारीभञ्ज्याङ, माघ २२ गते वडा नं १ श्यामशिला र माघ २३ गते वडा नं ३ च्याङ्ग्रेमा शिविर सञ्चालन गरिनेछ।

शिविरमा निःशुल्क आँखा जाँच, चश्मा जाँच, औषधि वितरणलगायत सेवा उपलब्ध गराइनेछ। मोतियाविन्दुका कारण आँखा नदेख्ने बिरामीको नवदृष्टि आँखा अस्पताल, तुम्लिङटारमा निःशुल्क शल्यक्रिया गरिनेछ।

मोतियाविन्दुको शल्यक्रियामा ‘फोल्डेबल लेन्स’ प्रयोग गर्न चाहेमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। त्यसैगरी, शल्यक्रिया आवश्यक पर्ने बिरामीको निःशुल्क ल्याब परीक्षण, आँखामा मासु (प्टेरिजियम) पलाएको अवस्थामा शल्यक्रियामा २० प्रतिशत छुट तथा सहुलियत दरमा चश्मा उपलब्ध गराइनेछ। गाउँपालिकाले सबै वडावासीलाई तोकिएको स्थानमा उपस्थित भई निःशुल्क सेवा लिन आग्रह गरेको छ।

Skip This
Skip This
Logo