उत्कृष्ट परिवार योजना सेवा प्रदान गर्ने नरेठाँटी स्वास्थ्यचौकी गण्डकी प्रदेशकै प्रथम

उत्कृष्ट परिवार योजना सेवा प्रदान गर्ने नरेठाँटी स्वास्थ्यचौकी गण्डकी प्रदेशकै प्रथम

केन्द्रबिन्दु
0
Shares

गलकोट। गण्डकी प्रदेशमा सर्वाधिक अङ्क प्राप्त गर्दै बागलुङको गलकोटस्थित नरेठाँटी स्वास्थ्यचौकी उत्कृष्ट बनेको छ। न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनका आधारमा उक्त स्वास्थ्यचौकी उत्कृष्ट घोषित गरिएको हो।

नरेठाँटी स्वास्थ्यचौकीले न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गर्दै उत्कृष्ट स्थान हासिल गरेको हो। विभिन्न स्वास्थ्य सूचकका आधारमा सो अङ्क प्राप्त गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

गत वर्ष पनि नरेठाँटी स्वास्थ्यचौकीले गण्डकी प्रदेशमै ९६ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो। यस वर्ष हालसम्म सम्पन्न भएका मूल्याङ्कनमा ९८ प्रतिशत अङ्कसहित नरेठाँटी स्वास्थ्यचौकी प्रदेशकै पहिलो स्थानमा रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए।

स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको मेहनत र लगावका कारण प्रदेशमै उत्कृष्ट बन्न सफल भएको घिमिरेले बताए। उनका अनुसार भौतिक पूर्वाधारजस्तै भवनको अवस्था, पानी–बिजुली, शौचालय, प्रतीक्षालय, सेवा कक्ष, अपाङ्गमैत्री पहुँच, फोहर व्यवस्थापन, कर्मचारी व्यवस्थापन, तालिम र सेवा प्रवाहको अवस्थाका आधारमा मूल्याङ्कन गरिँदै आएको छ।

फोहर व्यवस्थापनमा मानव संशाधन, स्वीकृत दरबन्दीअनुसार कर्मचारी, उपस्थिति, तालिमप्राप्त जनशक्ति, जिम्मेवारी बाँडफाँट, ओपिडी सेवा, मातृशिशु सेवा, खोप, परिवार योजना, पोषण, क्षयरोग तथा कुष्ठरोग सेवा, आकस्मिक प्राथमिक उपचार, औषधि तथा उपकरण, आवश्यक औषधिको उपलब्धताजस्ता सूचकका आधारमा नरेठाँटी स्वास्थ्यचौकी उत्कृष्ट रहेको गलकोट–२ का वडाध्यक्ष हेमन्त भण्डारीले बताए।

Logo