चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई उपचारका लागि भरतपुर ल्याउन दूरी र सडक अवस्थाका हिसाबले सहज र छिटो हुने देखिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड सहज रहेकाले काठमाडौँभन्दा भरतपुर पुग्न कम समय लाग्ने चिकित्सकहरूको भनाइ छ ।
भरतपुरस्थित सङ्घीय अस्पताल भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा छ । यसका साथै चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस तथा अन्य निजी अस्पतालहरूमा पनि दुर्घटनाका घाइतेको उपचारका लागि आवश्यक जनशक्ति र उपकरण उपलब्ध छन् । भरतपुर अस्पतालमा २० जना अर्थोपेडिक सर्जन र २१ जना जनरल सर्जन कार्यरत छन् । मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार सिटी स्क्यान, एमआरआईलगायत आवश्यक उपकरण पर्याप्त छन् ।
मुटु, नसालगायत जटिल उपचार सेवा पनि यहाँ उपलब्ध रहेको जनाइएको छ । चितवन मेडिकल कलेजका आकस्मिक विभाग प्रमुख प्रा डा दयाराम लम्सालका अनुसार दुर्घटनापछिको पहिलो एक घण्टा ‘गोल्डेन आवर’ मानिन्छ । यस अवधिमा घाइतेलाई अस्पताल पु¥याउन सके ज्यान जोगिने सम्भावना बढी हुन्छ । दूरी र सुविधाका आधारमा नजिकको अस्पतालमा तत्काल पठाउनुपर्ने उनको सुझाव छ । पछिल्लो समय एम्बुलेन्समै स्वास्थ्यकर्मी राखेर प्राथमिक उपचार गर्दै अस्पताल ल्याउने अभ्यासलाई पनि जोड दिइएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट प्रा डा पौडेलका अनुसार मनोवैज्ञानिक कारणले पनि धेरै घाइते काठमाडौँ पठाउने प्रवृत्ति देखिन्छ, जबकि आवश्यक सुविधा भरतपुरमै उपलब्ध छन् । मुग्लिन–मलेखु सडकबाट काठमाडौँ लैजाँदा उकालो र घुमाउरो सडक पार गर्दै लामो दूरी तय गर्नुपर्ने हुन्छ भने भरतपुरतर्फको सडक तुलनात्मक रूपमा छोटो र सहज छ ।
धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेका अनुसार उद्धार र व्यवस्थापनबीच समन्वय आवश्यक छ । स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौँ पठाउने अभ्यास रहँदै आएको छ ।
लामो समयदेखि धादिङमा पत्रकारिता गर्दै आएका पोषनाथ अधिकारीका अनुसार नारायणगढ–मुग्लिन सडक पहिले अप्ठ्यारो भएकाले घाइते काठमाडौँ पठाउने गरिन्थ्यो । अहिले सडक सुधार भए पनि पुरानै अभ्यास दोहोरिने गरेको उनको भनाइ छ । मुलेखु र गजुरीका अस्पतालमा प्रारम्भिक उपचारपछि दूरीका आधारमा काठमाडौँ पठाउने चलन अझै कायम रहेको बताइएको छ ।





























प्रतिक्रिया