टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधोपचार गर्दा टाढाको अस्पतालमा गएर सेवा लिने गरेका छन् । सङ्क्रमित भनेपछि समाजले अझै हेलाको दृष्टिले हेर्ने भएकाले आफू बसेको भन्दा टाढा रहेका एआरटी सेन्टरमा गएर उपचार सेवा लिने गरेको उनीहरु बताउँछन् ।
लम्कीचुहाकी ७१ वर्षीया एक महिला सधैँ औषधिका लागि टीकापुर अस्पताल आउछन् । लम्कीचुहा अस्पतालमा पनि एआरटी सेन्टर सञ्चालनमा छ तर त्यहाँ गए समाजमा पहिचान खुल्ने भएकाले टीकापुर आउने गरेको उनले बताए। “श्रीमान् एचआइभीकै कारण बित्नुभयो, मलाई त केही भएको छैन भनेकी छु”, उनले भने “थाहा पाएमा समाजले सरसापटी पनि गर्दैनन्, त्यसैले आफन्तको घर जाँदैछु भनेर टीकापुर अस्पतालमा आएर सेवा लिन्छु ।”
टीकापुर अस्पतालमा लम्कीचुहा नगरपालिकाका मात्रै १६२ एचआइभी सङ्क्रमित उपचारका लागि आउने गरेका छन् । टीकापुर अस्पतालमा सञ्चालनमा रहेको एआरटी सेन्टरबाट ५३१ एचआइभी सङ्क्रमितले सेवा लिइरहेका छन् । अस्पतालबाट एआरटी सेवा लिने एचआइभी सङ्क्रमितमा २०७ पुरुष, ३०४ महिला, ११ लैङ्गिक अल्पसङ्ख्यक र नौ जना बालबालिका छन् । अघिल्लो वर्षसम्म यो सङ्ख्या नौ सयसम्म थियो । बसाइँसराइ तथा अन्य पालिकामा पनि एआरटी सेन्टर खुलेपछि केही बिरामी अर्को पालिकाबाट औषधि सेवन गर्न थालेका छन् ।
सेन्टरमा कैलालीका नौ पालिका, बर्दिया र सुर्खेतका बिरामीले सेवा लिने गरेका छन् । यहाँबाट सेवा लिने टीकापुरका १३९ जना छन् भने अरु बिरामी अन्य पालिकाका हुन् । एचआइभी सङ्क्रमितलाई अझै समाजमा सम्मानजनक व्यवहार नभएकाले धेरैले लुकेर उपचार सेवा लिने गरेको अस्पतालमा कार्यरत एड्स हेल्थ केयर फाउन्डेसन नेपाल (एएचएफ) नेपालले जनाएको छ ।
टीकापुर अस्पतालमा सेवा लिन आउने एचआइभी सङ्क्रमित पहिचान खुल्ने डरले अन्य पालिकाका धेरै आउने गरेका छन् भने टीकापुरका केही बिरामी अन्य पालिका धनगढी, लम्कीचुहा गएर सेवा लिने गेका छन् । टीकापुरमा एड्स हेल्थ केयर फाउन्डेसन नेपालद्वारा सञ्चालित सेन्टरले सन् २०१२ देखि काम गरिरहेको छ । संस्थाले एचआइभी एड्स निदान, उपचार र हेरचाहमा सघाउँदै आएको एएचएफ नेपालका काउन्सिलर मीनबहादुर बोहरा बताए ।
“चालु आर्थिक वर्षमा संस्थाले उपचारका लागि अन्यन्त्र जानुपर्दा समस्या भएका ८३५ जनालाई यातायात खर्च सघाएको छ”, उनले भने, “३१६ जनालाई अस्पतालमा उपचार गर्न आउँदा पोषण सहयोगमार्फत खाना खुवाएको, स्वास्थ्य बिमामा नपाइने औषधि खरिद गर्नुपर्ने समस्या भएका २०१ जनालाई उपचार खरिदमा सघाएको, १२ बिरामीलाई आकस्मिक उपचारका लागि सघाएका छौँ ।”
यसका साथै एचआइभी सङ्क्रमित सबैलाई स्वास्थ्य बिमामा आबद्ध गराउन सहयोग गर्ने गरेको छ । संस्थाले बिरामीले नियमति औषध सेवन गरे वा नगरेको निगरानी गर्ने, भाइरल लोड नियमित परीक्षणमा सघाउने गरेको छ । पालिकाअनुसार तथ्याङ्क हेर्दा टीकापुरका १३९, जानकीमा ८१, लम्कीचुहामा १६२, बर्दगोरियामा ५२, जोशीपुरमा ३३, भजनीमा १८, घोडाघोडीमा १८, मोहन्यालमा ४४, धनगढीका एक, बर्दियाका नौ, सुर्खेतका एक एचआइभी सङ्क्रमितले यहाँबाट सेवा लिने गरेका बोहराले जानकारी दिए ।





























प्रतिक्रिया