स्वास्थ्य बीमा सहज र सहुलियतपूर्ण बन्दै

स्वास्थ्य बीमा सहज र सहुलियतपूर्ण बन्दै

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २५ असोज ।

वार्षिक दुई हजार पाँचसय प्रिमियम तिरेपछि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार अब निःशुल्क हुने भएको छ । व्यवस्थापिका संसदले स्वास्थ्य बीमा विधेयक पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।

विधेयक प्रमाणीकरणपछि चरणबद्ध रुपमा कार्यान्वयनमा आउने जनाइएको छ । अहिले आठ जिल्लामा स्वास्थ्यमा बीमा कार्यक्रम लागू छ ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलका अनुसार परिमार्जनसहित विधेयक पारित भएको छ । पोखरेलले विपन्न गरिब नागरिकहरुले निःशुल्क स्वास्थ्य पाउने भन्दै अहिले ऐतिहासिक विधेयक पास भएको बताए ।

के–के छ सुविधा ?
पारित विधेयक अनुसार खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवाहरुमा बीमा लागू हुनेछ ।

त्यसै गरी बहिरङ्ग, भर्ना उपचार, आकस्मिक उपचार, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरण जस्ता उपचारात्मक सेवाको लागि पनि बीमा लागू हुनेछ ।

हवाई एम्बुलेन्सबाहेकको एम्बुलेन्स सेवा र नेपाल सरकारले निःशुल्क तोकेका अन्य सेवाहरुमा समेत बीमाले कभर गर्नेछ ।

तर तोकिएको मूल्यभन्दा बढी रकमका स्वस्थ्य उपकरण, प्लाष्टिक सर्जरी र कृत्रिम गर्भाधारणामा बीमा लागू हुँदैन । ऐन बनेपछि गरिब, अनाथ र अपाङ्गहरुले स्वास्थ्यमा धेरै राहत पाउने स्वास्थ्यमन्त्री पोखरेलको भनाइ छ ।

यो बीमा योजना नेपालभर सरकारी, निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनक तथा सबै सेवा प्रदायक स्वास्थ्य संस्थामा लागू हुने बताइएको छ ।

Skip This
Logo