बालक्लबको उदाहरणीय कामः जम्मा भएको रकमबाट विद्यालयलाई स्वास्थ्य सामग्री

बालक्लबको उदाहरणीय कामः जम्मा भएको रकमबाट विद्यालयलाई स्वास्थ्य सामग्री

केन्द्रबिन्दु
0
Shares

बचत गर्न भनेर बाठपाला प्राथमिक विद्यालय तलकोटमा अध्ययनरत छोरीले १० रुपैयाँ माग्दा बुवा महाविरे सार्कीलाई अनौंठो लागेको थियो । दश रुपैयाँ बचत गरेर के होला र ? भन्ने सोचेका उनले छोरीको ढिपी पूरा गर्न दिएको सो पैसा आपतमा काम लागेको छ ।  

करिश्मा जस्तै सो विद्यालयमा अध्ययनरत ११० छात्र/छात्राले गरेको बचत अहिले कोभिड– १९ का विपतमा सुरक्षित तरिकाले विद्यालय सञ्चालन गर्न काम लागेको छ । गाउँपालिकामा अन्य विद्यालय बन्द रहेका बेला पनि सञ्चालनमा रहेको सो विद्यालयमा पढ्ने विद्यार्थीलाई कोरोनाको डर छैन ।  

बालबालिकाले स्थापना गरेका बालकोषमा जम्मा  रकमले कोभिड सुरक्षाको लागि आवश्यक मास्क, स्यानिटाइजरलगायत कोभिड सुरक्षा सामग्री किनेर विद्यालय निर्बाध सञ्चालन भएको छ ।  

कोराना महामारीका कारण गत चैतदेखि बन्द भएका तलकोट गाउँपालिकाका विद्यालय गतअसोजमा खुले । विद्यालय खुले पनि कोरोनाको जोखिम कायमै थियो । यद्यपि विद्यार्थीसँग डराइडराइ स्कुल जानुको विकल्प थिएन । कतिपय विद्यालय महामारीको डरका कारण अझै राम्रोसँग सञ्चालन हुनसकेका छैनन् ।

सो प्राविमा पनि शुरुका केही दिन यस्तै समस्या भयो । कक्षा ५ मा अध्ययनरत बाल क्लबका अध्यक्ष राकेश सार्कीले भने “चार पास भएर ५ कक्षामा गएकोमा मनमा खुशी त थियो ।  कोराना लागेर मान्छे मरिरहेको खबर रेडियोमा सुन्दा स्कुल जान डर पनि लाग्थ्यो ।”  उनले कोरोनाका डरले  धेरै विद्यार्थी विद्यालय आउन छोडेपछि शिक्षक र बालक्लबले सल्लाह गरेर कोषको रकमबाट कोभिड सुरक्षा सामग्री किन्ने निर्णय गरेको बताए ।

कोषमा जम्मा भएको करिब ११ हजारले विद्यार्थीलाई ६ महिनासम्म पुग्ने गरी मास्क, स्यानिटाइजर  खरीद गरियो । प्रत्येक विद्यार्थीले मास्क लगाउन थाले र जोखिमपूर्ण अवस्थामा स्यानिटाइजर प्रयोग गर्न थालेपछि सबै जना ढुक्क भएर स्कुल जान थालेको कक्षा ५ मा अध्ययनरत छात्रा बन्दना सिंहले बताइन् । उनले भनिन्, “बालक्लबले मास्क र स्यानिटाइजर दिएपछि स्कुल नआउने पनि ढुक्क भएर स्कुल आउन थाले । अहिले हामीलाई कुनै डर छैन ।”

अहिले विद्यार्थीमा सरसफाइ गर्ने बानीको विकास हुनुको साथै विद्यालय आउदा माक्स लगाएर आउने र विद्यालयमा स्यानिटाइजर लगाई कक्षा कोठाभित्र जाने गरेको उनको भनाइ छ । २०७५ साल बैशाखबाट यहाँका विद्यार्थीले बालकोषको रुपमा मासिक १० रुपैयाँ जम्मा गर्न थालेका थिए । गैरसरकारी संस्था एकीकृत विकास समाज नेपाल (आइडिएस) को सहजीकरणमा बालक्लब गठन गरेर कोषको शुरुवात भएको थियो । कोषमा जम्मा भएको रकमले बालबालिकालाई विद्यालयमा आउने ससाना समस्याको समाधान गर्न सहयोग गर्ने उद्देश्य राखिएको थियो ।  

बाल क्लबमा आवद्ध विद्यार्थीलाई सरसफाइसम्बन्धि सचेतना जगाएर उनीहरुमार्फत समुदायमा सरसफाइ अभियान चलाउनका लागि यस्तो गरिएको थियो ।    

अभिभावक महाविरे सार्कीले भने, “१० रुपैयाँले के गर्ने होलान भन्ने ठानेको थिएँ ।  अहिले त्यही रकम आपत्मा काम लागेको छ ।  सबै भन्दा ठूलो कुरा हामीले सरसफाइ गर भनेर सिकाउनुपर्ने बच्चा उल्टै हामीलाई सरसफाइ गर्न सिकाउँछन् । बच्चाहरुमा आएको परिर्वतन देखेर खुशी लागेको छ ।”

संस्थाले यहाँका शिक्षक तथा बालक्लबमा आवद्ध विद्यार्थीलाई सरसफाइसम्बन्धि नियमित सचेतना कार्यक्रमपछि समुदाय सरसफाइमा पनि राम्रो प्रभाव परेको छ । महिनामा एक पटक आइडिएसले सरसफाइ सचेतना कार्यक्रम गर्ने गरेको छ । यसले विद्यार्थीको बानीमा धेरै परिर्वतन भएको छ । विद्यालयका प्रधानाध्यापक वसन्त विक भन्छन्, “केटाकेटीले स्कुलमा मात्रै होइन, आफ्नो घरमा पनि सरसफाइका कुरा सिकाउन थालेका छन् पहिला फोहर हुने बच्चा पनि अहिले चिटिक्क परेर स्कुल आउन थालेका छन ।”

बालक्लबमा आवद्ध भइसकेपछि विद्यार्थीको नेतृत्व विकाससमेत भएको छ । उनीहरु विभिन्न अतिरिक्त क्रियाकलाप गरेर क्षमता विकास गर्ने गरेका छन । प्रत्येक शुक्रबार क्लबले हाजिर जवाफ, वक्तृत्वकला र अन्य खेलकूदका कार्यक्रम आयोजना गर्ने गरेको छ । गाउँमा समेत  विद्यार्थीले कोभिड– १९ बाट बच्ने उपाय र सरसफाइको बारेमा कुरा गर्ने गरेका छन् । उनीहरु शिक्षक अभिभावको साथ लिएर विद्यालयलाई पूर्ण सरसफाइयुक्त विद्यालय बनाउने र बालकोषबाट प्रत्येक कक्षाकोठामा डस्बीनको व्यवस्था गर्ने अन्य सरसफाइ सामग्री खरीद गर्ने योजनामा रहेको क्लबका अध्यक्ष सार्कीले जानकारी दिए ।  

विद्यार्थीको आफ्नै पहलमा भएको  काम पालिका भरिमै नमूनाको रुपमा रहेको र अरु विद्यालयले पनि यस्तै अभ्यास गर्न थालेको तलकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिद्धराज भण्डारीको भनाइ छ । शिक्षक, अभिभावक र विद्यार्थीले चाहेमा नहुने भन्ने केही रहेनछ । सानातिना कामको लागि पनि पालिकाकै मुख ताक्नेलाई वाठपाला प्राविले गतिलो जवाफ दिएको छ । उनले गाउँपालिकाले यो कामलाई अन्य विद्यालयमा पनि लागू गर्ने र सबै विद्यालयमा बालक्लब गठन गर्ने तयारी गरेको  बताए । रासस

Logo