समुदायसम्म कोभिशिल्ड पुर्याउन विज्ञहरुको जोड

समुदायसम्म कोभिशिल्ड पुर्याउन विज्ञहरुको जोड


कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिइएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पुर्याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।  

सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडौँंमा आयोजना गरेको कोभिड १९ को महामारी र कोभिडविरुद्ध खोपको प्रभावकारिता विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरुसम्म पुर्याउनुपर्नेमा जोड दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोभिशिल्ड खोपबाट नडराई सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप खोपलिन आग्रह गरे । सरकारले प्रतिवद्धता गरेभन्दा एकमहिना अगाडी नै खोप अभियान शुरु गर्नु सरकारको सफल भएको उनको भनाइ छ ।

खोप विज्ञ डा. श्याम राज उप्रेतीले अध्ययनले कोभिशिल्ड खोप ७० प्रतिशतभन्दा बढी प्रभावकारी भएको बताए । कोभिशिल्ड खोप लगाइसकेपछि कोरोना लागेपनि मृत्यु कम हुने, अस्पताल जानुपर्ने अवस्था नआउने तथा सिकिस्त बिरामी नपर्ने उनले बताए । भ्याक्सिन लगाएमा कोरोनाको संक्रमण भए पनि रोग लाग्न नसक्ने उनले स्पष्ट पारे । खोपले व्यक्तिलाई कोरोना संक्रमणबाट बचाए पनि अर्को ब्यक्तिलाई सार्नसक्ने क्षमता भने रहने भएकाले खोप लगाए पनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्नेमा उनको जोड छ ।

खोप विज्ञ उप्रेतीले १८ वर्ष मुनिका बालबालिकामा परिक्षण हुँदै गरेकाले अहिले खोप नदिइने उनले बताए । गर्भवती महिला र खोपको पहिलो चरण लगाउँदा सिकिस्त बिरामी परेकाहरुलाई पनि खोप नदिने उनले जानकारी दिए ।  त्यसैगरी, उच्च ज्वरो हुँदा, रगत पातलो हुने औषधिको प्रयोग भइरहेको छ भने पनि कोभिशिल्डको प्रयोग गर्न नुहुने विज्ञ उप्रेतीले बताए । पहिले दुध खुवाइरहेकी आमालाई खोप प्रयोग नगर्ने भनिएको भए पनि अब दुध खुवाइरहेकी आमालाई खोप दिन सकिने उनले बताए । उनका अनुसार विश्व स्वास्थ्य संगठनले नै पहिलो मात्रा लगाएको चार हप्ताको अन्तरमा दोस्रो मात्रा खोप लगाउँदा प्रभावकारी हुने भनेको भए पनि अहिले भने ८ हप्तादेखि १२ हप्ताको अन्तरमा खोप दिएमा बढी प्रभावकारी हुने अध्ययनले देखाएको छ । नेपाल सरकारले पनि दोस्रो मात्रा ८ हप्तापछि मात्रै दिने व्यवस्था गरेको उनले जानकारी दिए ।

खोप लगाइसकेपछि कति समयसम्म प्रभावकारी हुन्छ भन्ने अध्ययन भइरहेको उनको भनाइ छ । बेलायत र दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रकृतिको भाइरस विरुद्धमा पनि कोभिशिल्डले केही प्रभावकारीता देखाएको उनले बताए । खोपको गम्भीर प्रकारको साइड इफेक्ट नदेखिएको भन्दै उनले सामान्य इफेक्ट देखिएको र त्यसको २४ देखि ७२ घण्टा सम्ममा निको हुने जानकारी दिए । कार्यक्रममा बोल्दै जनस्वास्थ्य विज्ञ तथा खोपपश्चात हुनसक्ने अवान्छित घटना निरुपण समिति सदस्य केदार बरालले कोभिड नियन्त्रण गर्नका निम्ति सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । कोभिड नियन्त्रणका लागि समुदायलाई सशक्तिकरण गर्न तथा शिक्षा दिन सरकार अझै पनि चुकेको उनको भनाइ छ । जनस्वास्थ्यको मापदण्ड पालना गराउनुपर्नेमा पनि उनले जोड दिए ।

औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले आम जनसमुदायलाई निर्धक्क र ढुक्कसँग खोप लगाउन आग्रह गरे । अध्ययन र अनुसन्धानहरुले खोपको प्रभावकारीता देखाएको भन्दै उनले खोप सुरक्षित र गुणस्तरीय रहेको दावी गरे ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले कोभिशिल्ड खोपले रोग प्रतिरोधात्मक क्षमता र रोग प्रतिरोधात्मक एन्टीबडी बढाउने जानकारी दिए । आगामी दिनमा कोरोना भाइरसविरुद्धको खोप प्रत्येक वर्ष लगाउनुपर्ने अवस्था पनि आउन सक्ने उनको भनाइ छ । खोप लगाएपछि साधारण असर देखापर्ने भन्दै उनले असर देखिएको अवस्थामा पारा सिटामोल तथा झोलिलो पदार्थहरु खान सुझाव समेत दिए । ५÷७ दिनसम्म असर देखा परेमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नपर्ने उनको भनाइ छ । कोरोना संक्रमणबाट निको भएकाहरुले पनि खोप लगाउँदा झनै फाइदा पुग्ने उनले बताए । कोभिशिल्डको प्रभावकारीताको लागि दोस्रो मात्रा आवश्यक रहेको उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले कोरोना विरुद्धको अरु खोप ल्याउन सरकार कटिबद्ध रहेको बताए । सरकारले अत्यावश्यक उमेर समूहलाई पनि लगाउने उनले जानकारी दिए । छिट्टै आम जनमानसमा खोप पुर्याइने उनले बताए ।

सरकारले भारत सरकारसँग माघ ८ गते कोभिड १९ (कोरोना भाइरस) विरुद्धको दश लाख मात्रा कोभिशिल्ड खोप ल्याएको थियो । पहिलो र दोस्रो चरण गरी प्राथमिकताका आधारमा लाखौँ जनतालाई खोप लगाइसकिएको छ । 

Logo