संसद् बैठक अघिनै सांसदहरूलाई कोरोना खोप

संसद् बैठक अघिनै सांसदहरूलाई कोरोना खोप


संघीय संसद्‌को आगामी अधिवेशन अघि सांसदहरुलाई कोरोना खोप लगाइने भएको छ ।

संघीय संसद् सचिवालयले कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारसँग सहकार्य गरेर सांसद र संसद् भवनभित्र प्रवेश गर्ने कर्मचारी र मर्यादापालकहरूलाई कोरोना खोपको व्यवस्था गर्न लागिएको हो ।

सांसद्, कार्यव्यवस्थामा रहेका अधिकारी र मर्यादापालक एवं कर्मचारी गरेर करिब एक हजार ४ सयभन्दा बढीका लागि खोपको व्यवस्था गर्न लागिएको संघीय संसद् सचिवालय, सिंहदरबारका स्वास्थ्य इकाई प्रमुख डा. पुष्पराज रिजालले जानकारी दिए । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाका झन्डै ३३० सांसद, १३० भन्दा बढी मर्यादापालक र संसद् भवनमा प्रवेश गर्ने अन्य कर्मचारी गरी झन्डै १४ सय जनालाई कोरोना खोपको व्यवस्था गर्न लागिएको बताइएको छ । 

फागुन १९ गते, २० गते र २१ गते नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसद र संसद्सँग सम्बन्धित व्यक्तिहरूलाई खोप लगाउने तयारी गरिएको छ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले फागुन २३ गते संघीय संसद्को‍ अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

Logo