सप्तरी ।
सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको रुपनीका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिपोर्ट नेगेटिभ आएका उनको काठमाडौंमा कोरोना पोजेटिभ देखिएको रुपनी–१ का सन्तोष यादवले जानकारी दिए। काठमाडौं मेडिकल कलेजमा ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् ।
यससँगै सप्तरीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या २० जना पुगेको छ । जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षकको कार्यभार सम्हाल्न आउनु भएका ३६ वर्षीय पुरुषसहित पाँच जनामा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै जिल्लामा सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ३६३ पुगेको छ । ती मध्ये १ हजार १०३ जना निको भएका छन् । हाल जिल्लामा सक्रिय सङ्क्रमित २ सय ४० जना रहेका छन् ।































प्रतिक्रिया