असोज मसान्तसम्ममा थप १ करोड खोप आउनेः राज्यमन्त्री श्रेष्ठ

असोज मसान्तसम्ममा थप १ करोड खोप आउनेः राज्यमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने जानकारी दिएका छन्।  

बिहीवारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको बताए । 

उनले असोज मसान्तसम्म १ करोड २ लाख प्राप्त हुने र माघ मसान्तसम्ममा ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने जनाए । त्यस्तै माघ महिनासम्ममा ५ करोड २३ लाख मात्रा उपलब्ध हुनेपनि उनले बताए । 

राज्यमन्त्री श्रेष्ठले नेपाली जनतालाई कुल ५ करोड ५० लाख खोप आवश्यक रहेको उल्लेख गर्दै केपी ओली नेतृत्वको सरकारले ९७ लाख खोप प्राप्त गरी असार महिनाको अन्तिमसम्ममा ४२ लाख खोप जनतालाई उपलब्ध गराइएको बताए । उनले नयाँ सरकारले ७५ लाख खोप लगाएको पनि उल्लेख गरे ।

राज्यमन्त्री श्रेष्ठले विगत एक साताको आँकडाअनुसार कोभिड १९ संक्रमण दर बढेकोले सबैलाई जनस्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित हुन अपिल गरे। उनकाअनुसार हाल ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १९ पुगेको छ।

बन्द रहेको विद्यालयहरुमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नका लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारीका लागि खोप ल्याउने गृहकार्य पनि अगाडि बढाइएको उनको भनाइ थियो ।  
 

Logo