के कोभिड खोपको तेस्रो डोज आवश्यक छ?

के कोभिड खोपको तेस्रो डोज आवश्यक छ?

केन्द्रबिन्दु
0
Shares

कोभिड–१९ को दोस्रो–तेस्रो लहरको हाहाकार चल्दै गर्दा ‘हर्ड इम्युनिटी’को चर्चा हुने गर्छ। जब अधिकांश जनसंख्यामा कुनै रोगविरुद्ध प्रतिरोध क्षमता विकास हुन्छ, त्यस अवस्थालाई ‘हर्ड इम्युनिटी’ (सामूहिक रोगप्रतिरोध) भनिन्छ। ‘हर्ड इम्युनिटी’ प्राप्त गर्न हाल संसारभर प्रयोगमा रहेका खोपको कत्तिको प्रभावकारी छन् भन्नेमा भर पर्नेछ। 

लामो समयसम्म खोप प्रभावकारी भएको खण्डमा जनसंख्याको ठूलो अनुपातले महामारीबाट दिगो सुरक्षा पाउन सक्छ, जसले रोगलाई कमजोर पार्न वा उन्मूलन गर्न सहयोग पुर्याउन सक्छ। 

खोपको पूरा डोज लगाइसकेपछि पनि रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएको खण्डमा त्यसको पूर्ति होस् भनेर कोभिडविरुद्धको खोपको तेस्रो अर्थात् ‘बुस्टर’ डोज पनि केही देशमा दिन थालिएको छ। 

के तेस्रो डोज आवश्यक छ? यदि छ भने तेस्रो डोज कहिले लगाउँदा उपयुक्त हुन्छ? 

कोभिडविरुद्धको खोपको प्रभावकारिता कति समयसम्म रहन्छ त? 

यो बुझ्नका लागि कोभिड संक्रमणपछिको रोगप्रतिरोधात्मक क्षमता कत्तिको प्रभावकारी हुन्छ भन्नेबारे चर्चा गरौँ।   

कोभिडविरुद्धको ‘एन्टीबडी’

कोभिडविरुद्धको ‘एन्टीबडी’को उपस्थितिलाई रोगप्रतिरोधात्मक क्षमताको सूचक मानिन्छ। बढी ‘एन्टीबडी’ हुँदा रोगप्रतिरोधात्मक क्षमता उच्च भएको मानिन्छ। ‘एन्टीबडी’को मात्रा निश्चित तहभन्दा तल भए र नामेट भए मानिस पुनः संक्रमणको जोखिममा हुन्छ। 

कोभिड महामारी सुरु हुँदै गर्दा भएका प्रारम्भिक अध्ययनहरूले मानिसमा कोभिड संक्रमण भएलगतै ‘एन्टीबडी’को मात्रामा भारी गिरावट हुने गरेको पत्ता लगाएका थिए। 

पछिल्ला अध्ययनहरूले भने कोभिड संक्रमण भएको ७ देखि ८ महिनासम्म पनि हड्डीभित्रको मासीमा ‘एन्टीबडी’ उत्पादन गर्ने कोषिका हुने गरेको पत्ता लगाएका छन्। यो खोजले दिगो रोगप्रतिरोधात्मक क्षमताबारे आशावादी हुने वातावरण बनाएको छ। साथै संक्रमण भएको छ महिनापछि पनि रोगप्रतिरोधात्मक क्षमता दिने कोषिका मानव शरीरमा पाइन्छ। 

अर्को एक अध्ययनका अनुसार संयुक्त राज्य अमेरिकामा नोभेम्बर २०२० सम्म संक्रमणमुक्त भएका ९ हजार मानिसमध्ये ०.७ प्रतिशतमा पुनः संक्रमण भएको पाइएको थियो। यी अध्ययनहरूको निष्कर्ष पछिल्लो समय भएको नयाँ अध्ययनको निष्कर्षसँग मेल खान जान्छ, जसले संक्रमण भइसकेकामा कम्तिमा पनि अल्पकालीन दृष्टिकोणले पुनः संक्रमणको सम्भावना न्यून रहेका देखाएको छ।  

कोभिड संक्रमणपछि दीर्घकालीन रोगप्रतिरोधात्मक क्षमता विकास हुने गरेको पाइए पनि खोप उपयोगी नै हुने देखिन्छ। 

संक्रमणपछि प्राप्त हुने प्राकृतिक रोगप्रतिरोधात्मक क्षमता मात्रैभन्दा प्राकृतिकसँगै खोपले दिने प्रतिरोधात्मक क्षमता प्रभावकारी हुने एक अध्ययनले देखाएको छ। यस किसिमको ‘हाइब्रिड’ रोगप्रतिरोधात्मक क्षमता भएका मानिसमा ‘एन्टीबडी’को विविधता पनि पाइएको छ। 
रोगप्रतिरोध कति समयसम्म रहन्छ?

कोभिडविरुद्धका खोप मुख्यतः दुई प्रकारका छन्। एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनका खोप ‘भाइरल भेक्टर’ खोप हुन्। यी खोपमा रोगप्रतिरोधात्मक प्रणालीलाई कोरोनाभाइरस विरुद्ध सक्रिय बनाउन सामान्य रुघाखोकी लगाउने एडेनो भाइरसको प्रयोग गरिएको हुन्छ। 

फाइजर र मोडर्ना खोपमा भने ‘एमआरएनए’मा आधारित प्रविधि प्रयोग हुन्छ। ‘एमआरएनए’ भनेको ‘मेसेन्सर’ (सूचना संवाहक) ‘आरएनए’ हो, जसमा पनि ‘आरएनए’ कोषिकाभित्र जानकारी भण्डारण गर्ने एक अम्ल हो। ‘एमआरएनए’ले मानव कोषिकाहरूलाई कही समयका लागि कोरोनाभाइरसको ‘स्पाइक प्रोटिन’ बनाउन सन्देश दिन्छ । अनि कोभिड संक्रमण भएको खण्डमा त्यसबाट बच्न रोग प्रतिरोधात्मक प्रणालीलाई प्रशिक्षण दिन्छ। 

‘भाइरल भेक्टर’ खोपबारे ट्रायलहरू चलिरहेको भए पनि ‘एन्टीबडी’ प्रतिक्रियाका लागि कति समय लाग्छ भन्नेबारे यकिन तथ्याङ्क अहिलेसम्म छैन। प्रारम्भिक अध्ययनले यी खोपको प्रभावकारिता एकदेखि दुई महिनासम्म रहने देखाएको छ। यद्यपि, ‘भाइरल भेक्टर’ खोपको हकमा सुरक्षाको अवधि र ‘बुस्टर’ डोजको आवश्यकता अहिलेसम्म स्पष्ट हुन सकेको छैन। 

कारोनाभाइरसकै एक प्रजातिले निम्त्याएको ‘मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम’ (मर्स) विरुद्ध प्रयोग भएको एस्ट्राजेनेकासँग मिल्दोजुल्दो खोपले १२ महिनासम्म स्थिर रूपमा ‘एन्टीबडी’ दिएको पाइएको थियो। यस तथ्याङ्कले उस्तै प्रकृतिको कोरोना भाइरस विरुद्धका खोपहरू प्रभावकारी हुनेछन् भन्ने आशा जगाएको छ। 
फाइजर र मोडर्ना मानवमाथि प्रयोगका लागि स्वीकृति पाउने सुरुवाती ‘एमआरएनए’ खोप हुन्। त्यसैले यिनको प्रभाव कति समयसम्म रहन सक्छ भन्ने कुरा यकिन हुन थप अध्ययन–अनुसन्धानको आवश्यकता छ। 

फाइजर खोप लगाएका मानिसमा रोगप्रतिरोधात्मक कोषिकाहरूलाई तालिम दिइने ‘जर्मिनल सेन्टर’ रहेको पाइएको छ। त्यसैले यो खोप दीर्घकालीन रूपमा प्रभावकारी छ भन्ने आँकलन गर्न सकिन्छ। प्रारभिक अध्ययनले अल्पकालीन प्रभावकारिताबारे मात्र खोज गरेको भए पनि पछिल्ला अध्ययनले खोप लगाएको ६ महिनासम्म पनि ‘एन्टीबडी’को मात्रा उचच भएको देखाएका छन्। 

‘डेल्टा’ भेरियन्टविरुद्ध कति प्रभावकारी?

संक्रामकता र घातकता उच्च भएका ‘डेल्टा’ जस्ता भेरियन्टका कारण ‘बुस्टर’ डोजको चर्चा बढ्दो छ। 
सबै खोप अन्य भेरियन्टको तुलनामा ‘डेल्टा’विरुद्ध कम प्रभावकारी रहेको अध्ययनले देखाएको छ। त्यसै कारण समयसँगै रोगप्रतिरोधात्मक क्षमता घट्नु सुरुवाती

कोरोनाभाइरस र अन्य भेरियन्टको तुलनामा ‘डेल्टा’ भेरियन्टमा ठूलो समस्या हो। 

पछिल्लो समय भएको एक अध्ययनले ‘डेल्टा’ भेरियन्टविरुद्ध फाइजर र एस्ट्राजेनेका खोपको प्रभावकारिता तीन महिनाभित्र घट्ने देखाएको छ। संयुक्त अधिराज्यमा भएको यस अध्ययनले फाइजर खोप दोस्रो डोज पाएको १४ दिनपछि ९२ प्रतिशत प्रभावकारी हुने, तर ९० दिनमा त्यस्तो प्रभावकारिता ७८ प्रतशतमा झर्ने पत्ता लगाएको छ। त्यस्तै एस्ट्राजेनेका खोप दोस्रो डोज पाएको १४ दिनपछि ६९ प्रतिशत प्रभावकारी हुने, तर ९० दिनमा त्यस्तो प्रभावकारिता ६१ प्रतशतमा झर्ने गरेको पनि पत्ता लागेको छ।

खोप लगाएका मानिसहरूमा पनि ‘डेल्टा’ भेरियन्ट संक्रमण भएर निको हुँदा भाइरल लोड उच्च हुने पनि उक्त अध्ययनको एक खोज रहेको छ। यस्तो अवस्थामा घातक संक्रमण रोक्न ‘बुस्टर’ डोज सहयोगी हुन सक्छ। 

संयुक्त अधिराज्यमा भएको उक्त अध्ययन अस्पताल भर्ना दर र मृत्युभन्दा संक्रमणमा आधारित छ। संसारभरको तथ्याङ्कले भने गम्भीर संक्रमण भएका मानिसमध्ये अधिकांश खोप नलगाएका मानिस रहेका छन्। 

निष्कर्ष

रोगप्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्न तेस्रो डोज प्रभावकारी हुने फाइजरको निष्कर्ष छ। उक्त कम्पनीले ‘बुस्टर’ डोजका लागि अमेरिकी सरकारी निकायको अनुमतिको प्रतिक्षा गरिरहेको छ। 

आठ महिनाभन्दा अघि ‘एमआरएनए’ खोपको दुई डोज पाएका मानिसलाई अर्को अक्टोबरदेखि तेस्रो डोज दिने घोषणा अमेरिकाले गरेको छ। 

इजरायललगायत केही देशले भने ‘बुस्टर’ डोज दिन थालिसकेका छन्। संसारका केही मानिसले एक डोज पनि खोप नपाउँदा सम्पन्न राष्ट्रले भने आफ्ना नागरिकलाई तेस्रो डोज खोप दिन लागेकोमा नैतिक प्रश्न पनि उठ्न थालेका छन्। 

‘डेल्टा’ भेरियन्टजन्य महामारीसँग जुध्न जोखिममा रहेको जनसंख्यालाई तेस्रो डोज खोप लगाउन केही देशले अनुमति दिइसकेका छन्। ‘जोखिममा भएका मानिस’ भन्नाले वृद्धवृद्धा र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस बुझिन्छ। 

(‘वर्ल्ड  इकोनमिक फोरम’मा प्रकाशित भासो एपोस्टोलोपोलस र ज्याक फिहानको यो लेख केन्द्रबिन्दुका लागि कुशल बस्नेतले अनुवाद गरेका हुन्) 

  
 

Logo