धनगढीकी एक महिलामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि

धनगढीकी एक महिलामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

धनगढी ।

सेती प्रादेशिक अस्पताल धनगढीको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएकी कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १२ की एक महिलामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

बुधवार राति मृत्यु भएकी ३० वर्षीया महिलाको मृत्युपछि लिइएको स्बावको नमूना परीक्षण गर्दा विहिबार कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । निमोनियाको समस्या देखिएपछि उनलाई बुधवार विहान अस्पतालको आकस्मिक कक्ष भर्ना गरिएको थियो । यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणवाट मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको छ । असोज महिना शुरु भएसँगै प्रदेशमा कोरोना सङ्क्रमितको मृत्युदर बढेको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड-१९ उपचार विभागका प्रमुख डा.शेरबहादुर कमरले दीर्घरोगी र बढी उमेरका व्यक्ति सङ्क्रमित हुने सङ्ख्या बढ्दै जाँदा मृत्युदर पनि बढ्न थालेको बताए। उनले भने “सङ्क्रमितको सङ्ख्या बढ्दा जटिलता पनि त्यही अनुपातमा बढ्दै जाने गर्छ ।” सो अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा तीन जना र आइसोलेशनमा २० जना सङ्क्रमित उपचाररत रहेका छन् । पछिल्लो १४ दिन यता कैलालीमा तीन र अछाम र डडेलधुरामा एक÷एक जना समेत पाँच जनाको मृत्यु भएको छ ।

यस बाहेक कैलालीका सङ्क्रमित थप एक व्यक्तिको केही दिन अघि चितवन अस्पतालमा मृत्यु भएको थियो । चितवनमा मृत्यु हुनेको विवरण भने प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा समावेश गरिएको छैन ।

प्रदेशमा हाल सम्म कैलाली जिल्लाका नौ जना,अछाम, बझाङ,र बाजुराका दुई÷दुई जना र डडेलधुरा र बैतडीका एक÷एक जना सङ्क्रमितको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार, प्रदेशमा बुधवार एकै दिन अहिले सम्मकै सबै भन्दा बढी १९६ जनामा र पछिल्लो २४ घण्टामा थप ३१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । यो समेत कूल सङ्क्रमित सात हजार ३७६ जना पुगेका छन् ।

लक्षण भएका सक्रिय सङ्क्रमित बिरामी पनि पछिल्ला दिनमा बढ्दै गएका छन् । असोज १ गते ८०२ जना सक्रिय सङ्कमित बिरामी रहेकोमा यो सङ्ख्या अहिले एक हजार १५७ पुगेको छ । कोरोनाबाट सबै भन्दा बढी प्रभावित प्रदेशको राजधानी जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित बिरामी ६६७ जना पुगेका छन् ।रासस

Logo