४ कात्तिक २०७८ बिहीबार

नेपालमा मौसमी फ्लु बढ्दोः कोरोनासँग मिल्दाे लक्षण कसरी छुट्ट्याउने?

कोभिड महामारीबीच पछिल्लो समय नेपालमा मौसमी फ्लुको समस्या बढेको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयले भने सरकारी प्रणालीमा फ्लु असामान्य वृद्धि भएको नदेखिएको जनाएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले भन्छन्: "तर छिटफुट केसहरु रिपोर्ट भइरहेका छन्। साना बालबालिकाहरू घ्यारघ्यार गराउने भाइरसबाट सङ्क्रमित भएको सूचना छ।"

मौसमी फ्लु प्रति सर्वसाधारणहरूले पहिले त्यति ध्यान दिने नगरेको भए पनि कोभिडका कारण मानिसहरू गम्भीर हुन थालेको बताइएको छ।

कोरोना भाइरस सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएकाले सर्वसाधारणहरू बढी त्रसित भएको चिकित्सकहरू बताउँछन्।

नेपालमा मौसमी फ्लु कुन समयमा बढ्छ?

हालको मौसममा नियमितरूपमा नेपालमा मौसमी फ्लु देखिने हुँदा आत्तिइहाल्नु पर्ने अवस्था नरहेको पौडेल बताउँछन्। तर सर्वसाधारणहरू सचेत भने रहनुपर्ने उनको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुनका अनुसार नेपालमा फेब्रुअरी- मार्च महिना र जुलाईदेखि सेप्टेम्बर महिनामा फ्लुबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्ने गरेको पाइन्छ।

"अझ तुलना गर्ने हो भने त यो जुलाई - अगस्टतिर बढी हुन्छ," उनले भने। गत फेब्रुअरी - मार्च महिनातिर अस्पताल आएकाहरूले फ्लुका कारण हप्तामै दुई-तीन पटकसम्म कोभिड परीक्षण गरेको पाइएको उनले जानकारी दिए।

काठमाडाैं मात्र नभएर भरतपुर र पोखरा लगायतका सहरहरूमा पनि फ्लुबाट बिरामी परेकाहरूको सङ्ख्या बढेको पाइएको उनले बताए।

"तीन-चार हप्ता अघिसम्म त अलि धेरै नै तथ्याङ्क देखिन्छ। नेपालभरि हप्तामा १५० भन्दा बढी पुष्टि भएको देख्छु," डा. पुनले भने। "पछिल्लो दुई हप्तादेखि भने अलि तल ओर्लिएको देखिन्छ।"

नेपालमा देखा परेका मौसमी फ्लु के हुन्?

डा. पुनका अनुसार नेपालमा सामान्यता इन्फलुएन्जा ए बढी फैलिन्छ भने इन्फ्लुएन्जा बी तुलनात्मक रूपमा कम फैलिन्छ। टाइप ए इन्फ्लुएन्जाले महामारी जस्तै गरी फैलिन सक्ने भए पनि टाइप बीले भने सामान्यता त्यस्तो अवस्था सृजना नगराउने उनको भनाइ छ। "तर पछिल्लो दुई हप्तामा चाहिँ फ्लु बीले अग्रता लिइरहेको देखिन्छ," उनले भने।

"बी ले मेरै चिनेको कतिपय एकदमै थला परेको पाएँ। उहाँहरू बरु कोभिड लाग्दा यस्तो परेको थिइएन, यो कडा भयो भन्छन्।''

फ्लुको लक्षण कति कडा हुन्छ भन्ने विषयमा सामान्यतया चिकित्सकहरूले टाइप एलाई बढी कडा मान्ने गरेको भए पनि टाइप बी पनि उत्तिकै कडा देखिएको र पछिल्लो दुई हप्तामा त्यो झन् "आक्रामक भएर गएको" देखिएको उनले जानकारी दिए।

पछिल्लो तथ्याङ्क अस्पताल आउनेहरूले गरेको परीक्षणमा आधारित रहेको तर त्यसले समुदायमा फ्लु प्रशस्त छ भन्ने अनुमान गर्ने सकिने उनको भनाइ छ।

टाइप ए र बी मा के फरक हुन्छ?

चिकित्सकहरूका अनुसार दुवै फ्लुमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने र कसैलाई पखाला लाग्ने जस्ता लक्षण देखिन्छ।

तर बर्डफ्लु, स्वाइन फ्लु र हङ्कङ फ्लु जस्ता सङ्क्रमणका लक्षण कडा हुने उनको भनाइ छ। यी सबै टाइप ए अन्तर्गत पर्छन्।

इन्फ्लुएन्जा बी अन्तर्गत चाहिँ दुई वटा प्रकार फ्लु छुट्टाइएको हुन्छ। ती दुई प्रकार यामागाटा र भिक्टोरिया हुन्। नेपालमा भिक्टोरिया बढी देखिने गरेको पुनले जानकारी दिए।

पछिल्लो समयमा भने यी दुवै प्रकार भित्र नपर्ने टाइप बीको अर्को खाले इन्फ्लुएन्जा नेपालमा देखिएको उनको बुझाइ छ। त्यो नयाँ प्रकारको फ्लुले कडा लक्षण उत्पन्न गराइरहेको हो वा अरू नै केही हो भन्ने कुरा भने आफूले भन्न सक्ने अवस्था नरहेको उनले बताए।

फ्लु कि कोभिड आफैं थाहा पाउन सकिन्छ?

चिकित्सकहरू त्यस्तो गर्न सहज नरहेको बताउँछन्। यसका लागि चिकित्सककै सहारा लिनुपर्ने हुन्छ। कोभिड वा मौसमी फ्लु के हो भन्ने कुरा छुट्टाउन चिकित्सकहरूलाई समेत सहज नहुने बताइन्छ।

त्यसै कारण सङ्क्रमण वा लक्षण भएका व्यक्तिहरूले कोभिडका साथै फ्लुको पनि परीक्षण गर्दा राम्रो हुने डा. पुन बताउँछन्। ''यो दुइटाको उपचार र परामर्श बिलकुल फरक हुन्छ,'' उनले भने।

सामान्यतया स्वाद र गन्ध हराएको अवस्थामा फ्लुको लक्षण भएका व्यक्तिलाई कोभिड भएको हुन सक्ने रूपमा हेरिने गरेको चिकित्साहरू बताउँछन्। तर कोभिड लागेका अधिकांशमा देखिने यस्तो लक्षण सबैमा भने नदेखिने डा. पुनको भनाइ छ।

फ्लु लागेका बेला नाक बन्द भएका कतिपय बिरामीहरूमा गन्ध हराउने वा गन्ध नआउने हुन सक्ने डा. पौडेल बताउँछन्। त्यसकारण पनि परीक्षण गर्नु उचित रहेको चिकित्सकहरूको मत छ। ज्वरो बढी रहे वा सास फेर्न गाह्रो भए बिरामी अस्पताल जानुपर्ने डा. पौडेल सुझाउँछन्।

फ्लु कति घातक हुन्छ?

नेपालमा मौसमी रुघाखोकीलाई सामान्य रूपमा लिइने गरेको कुरा चिकित्सकहरू पनि स्वीकार्छन्। केही दिन आराम, आहारको सन्तुलन र न्यानो गरेर बस्दा मौसमी फ्लु आफै निको हुने अनुभव धेरैले गर्ने गरेका छन्।

तर बिरामी हुने क्रम लामो समयसम्म चल्यो वा थप जटिल अवस्था हुँदै गयो भने चिकित्सकहरूको सम्पर्कमा जानुपर्ने हुन्छ। निमोनियादेखि अन्य अङ्गमा प्रभाव पार्न सक्ने हुँदा मौसमी फ्लुलाई कम आँक्न नहुने बताइन्छ।

''चार पाँच दिन घरमै झोलिलो कुरा खाएर बस्न सकिन्छ। तर निरन्तर लक्षण देखियो वा सो लक्षण थप जटिल हुन थाल्यो भने चिकित्सकको सम्पर्कमा जानुपर्ने हुन्छ,'' डा. पौडेलले भने।

कोभिड महामारीकाबीच सुरक्षाका मापदण्ड अपनाएर परिवारसँगै बस्न सकिने उनको भनाइ छ। "हेलमेल भने धेरै गर्न हुँदैन।" मौसमी फ्लुबाट ग्रसित व्यक्तिले प्रशस्त पानी पिउनुपर्ने र ज्वरो आएको अवस्थामा सिटामोल खान सक्ने पौडेल बताउँछन्।

कुन उमेरका मानिसमा बढी जोखिम छ?
यसको उच्च जोखिममा ज्येष्ठ नागरिक र दीर्घरोगी रहेको चिकित्सकहरू बताउँछन्। बालबालिका पनि यसबाट प्रभावित हुनसक्ने सम्भावना रहन्छ। र यो विषय मानिसको रोगप्रतिरोधी क्षमतासँग सम्बन्धित छ।

एक अध्ययनले उष्ण क्षेत्रमा पर्ने देशहरूमा वर्षैभरि मौसमी फ्लु देखिने गरेको देखाएको विज्ञहरू बताउँछन्।बीबीसी नेपालीबाट

छुटयो कि ?

प्रकाशित: ९ असोज २०७८ ०९:०१ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी