सप्तरीका कोरोना सङ्क्रमित एक पुरुषको धरानमा मृत्यु

सप्तरीका कोरोना सङ्क्रमित एक पुरुषको धरानमा मृत्यु


सप्तरी ।

सप्तरीमा कोरोनाबाट संक्रमित थप एक व्यक्तिको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको हो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा भदौ २५ गते संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको उनका छोराले बताए। रक्तचापका बिरामी उनको अवस्था गम्भीर भएपछि १२ दिन अघि उपचारार्थ धरान भर्ना गरिएको थियो । उनको शव अहिले धरानमै छ ।

उनका जुम्ल्याहा दाजुको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि धरान लैजाँदै गर्दा गत भदौ १३ गते बाटो मृत्यु भएको थियो । दाजुको पिसिआर परीक्षण भने गरिएको थिएन । यससँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कञ्चनरुप नगरपालिका कार्यालय बन्द

कञ्चनरुप नगरपालिकाका कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय आजदेखि एक साताका लागि बन्द गरिएको छ । नगरपालिकाले आज सूचना जारी गरी आजदेखि असोज १५ गतेसम्मका लागि कार्यालय सिल गरिएको जनाएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले जारी गरेको सूचना अनुसार नगरपालिकाबाट प्रवाह हुने शिक्षा स्वास्थ्य, कृषि, पशु लगायत नगरपालिका वडा नम्बर ८ बाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षण अनुसार कञ्चनरुप–८ बस्ने कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमण देखिएको थियो ।

संक्रमण पुष्टि भएका कार्यालय सहयोगीका दुई छोरी र सँगै कार्यरत अर्का कार्यालय सहयोगीको पिसिआर परीक्षणका लागि आज स्वाब संकलन गरिएको र अन्य कर्मचारीको आगामी मङ्गलबार स्वाब संकलन गरिने जानकारी खड्काले दिए ।रासस

Logo