कर्णालीमा ५५ नयाँ सङ्क्रमित थपिए

कर्णालीमा ५५ नयाँ सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

सुर्खेत।

कर्णाली प्रदेशभर थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुमपश्चिम प्रयोगशालामा मंगलबार गरिएको पिसिआर परीक्षणमा ५५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङक्रमितमा सुर्खेतका मात्रै ४२ जना छन् ।

यस्तै रुकुम पश्चिमका १२ र दैलेखका एक जनामा सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २२८ पुगेको महाशाखा प्रमुख शाहीले बताए ।

महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा थप २७ जना डिस्चार्ज भएसँगै प्रदेशमा हालसम्म कोरोनाको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई हजार ७१४ पुगेको छ । जसमा ५०८ जना सक्रिय सङ्क्रमित रहेको जनाईएको छ । त्यस्तै, कर्णाली प्रदेशमा हालसम्म ७१ हजार ६५६ व्यक्तिको पिसिआर परीक्षण गरिएको छ ।

कर्णाली प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले ३४ हजार ९४१, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २५ हजार ६५४, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुमपश्चिमले छ हजार ४४६ र दैलेख अस्पतालमा चार हजार ६१५ व्यक्तिको पिसिआर परीक्षण गरिएको महाशाखाका प्रमुख शाहीले जानकारी दिए । “पिसिआर परीक्षण गरिएका व्यक्तिहरुमा ६७ हजार ५३१ व्यक्तिको नतिजा नेगेटिभ छ”, महाशाखा प्रमुख शाहीले भने, “सङ्क्रमितमा दुई हजार ६३२ पुरुष र ५९६ महिला छन् ।” हालसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट छ जनाको मृत्यु भएको उनको भनाई थियो ।

Logo