‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन

‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन


प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । 

आईतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडासहित सिंहदरवारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो । 
भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिका सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नाकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएका छन् । 
सभापति घर्तीले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पुर्याउने कुरा चाँडै कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । 

त्यस्तै सभापति घर्तीका अनुसार समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकि जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

उनले कोरोनाको नयाँ भेरियन्टबाट बच्नको लागि अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यक्ताअनुसार जुटाउन र प्रयोग भइसकेका कुराहरुलाई व्यवस्थित गर्न पनि निर्देशन दिएका छन् ।सभापति घर्तीले अहिले राजनीतिक मुद्धा भन्दा पनि कोरोनाको तेस्रो भेरियन्टबाट जनताको ज्यानको सुरक्षातर्फ लाग्न पनि निर्देशन दिएका छन् । 

Logo