काठमाडौं ।
नेपालका सात जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा पाँच सय भन्दा बढी सङक्रमण भएका जिल्ला आठ वटा रहेका छन् । ती जिल्लामा मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देही छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला सङ्क्रमणमुक्त जिल्ला हुन् ।
कोरोना भाइरसबाट सोमबार एक हजार १५४ जना संक्रमित भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा महिला ४१८ र पुरुष ७३६ जना रहेको जानकारी दिए। नौ हजार ५३३ जनाको पिसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण देखिएको छ ।
एक हजार पाँच जना सङ्क्रमणमुक्त
यस्तै विगत २४ घण्टामा एक हजार पाँच जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म ४७ हजार २३८ जना सङ्क्रमित निको भई घर फर्किएका छन् । सङ्क्रमणमुक्त भई घर फर्किने कुल सङ्क्रमितको ७२.४ प्रतिशत हो ।
यस्तै सक्रिय सङ्क्रमित १७ हजार ६११, होमआइसोलेसनमा रहेका आठ हजार ६९०, संस्थागत आइसोलेसनमा आठ हजार ९२१ र क्वारन्टिनमा सात हजार ४०३ जना रहेका छन् ।
१९६ आइसियु र ३१ भेन्टिलेटरमा
यसैगरी सघन उपचार कक्ष (आइसियु) मा १९६ र भेन्टिलेटरमा ३१ जनाले उपचार गराइरहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । आइसियुमा प्रदेश नं. १ मा १०, प्रदेश नं. २ मा १६, वाग्मती प्रदेशमा १२८, गण्डकी प्रदेशमा पाँच, प्रदेश नं. ५ मा २२ र कर्णाली प्रदेशमा १५ जना रहेका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा एक, वाग्मती प्रदेशमा २८ र प्रदेश नं. ५ मा दुई जना रहेका छन् ।





























प्रतिक्रिया