फेरी होला त लकडाउन ? के भन्छन् स्वास्थ्य मन्त्री ? (भिडियाे)

फेरी होला त लकडाउन ? के भन्छन् स्वास्थ्य मन्त्री ? (भिडियाे)


स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।

बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् । उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताएका हुन् ।

मन्त्री खतिवडाले भने, ‘शुरुका बेलामा आतंक बढी भएको हुनाले एक, दुई वटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर ग¥यौं । जति जानेको थियो त्यति ग¥यौं । विश्वमा, युरोपेली देशहरुमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार ग¥यौं । हामी पनि आतंकित भयौँ । गर्नुपर्ने बेलामा गरेनौँ, अघि पछि ग¥यौं । त्यसले केही मृत्युदर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ । तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामहरुलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्यु भन्दा पनि भयावह ढंगले भयो । त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ । आवश्यक्ता हेरेर खास ठाउँमा त्यो विचार पु¥याएर हामी लकडाउन गर्नेछौँ । सजिलैसँग लकडाउनमा जाँदैनौँ । आवश्यक्ताअनुसार ठाउँ विशेष गर्न सक्छौँ । त्यसैले तत्काल लकडाउनको विषयमा आतंकित हुनु पर्दैन । रोगव्याधको विषयमा पनि हामीले सकेसम्म नलागोस् लागे पनि हामीले सबै ठाउँमा आइसोलेशन वार्डहरु, आईसीयू, अक्सिजन, पहिलो भेरियन्टको बेला भन्दा दुई तीन गुणामाथि इक्वीपमेण्ट र टेण्ट भएका छौँ । नागरिकलाई असजिलो पर्दा सरकार तयारीका साथ बसेको छ । स्वास्थ्यकर्मीहरु हामीले तयारीका साथ राखेका छौँ ।’

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन् । उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे । मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए । उनले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेरसमूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताएका हुन् ।

मन्त्री खतिवडाले भने, ‘स्वास्थ्य मापदण्ड अपनाउने भनेर जुन कोरोनाको बेला विभिन्न ढंगले प्रचार गरेका थियौँ । अहिले पनि त्यसलाई हामीले लापरवाही नगरी होशियार हुनुपर्छ । त्यो भनेको मास्क लगाउने, स्यानिटाइजर गर्ने, दूरी कायम गर्ने, अनावश्यक भेटघाट नगर्ने, त्यसलाई सम्पूर्ण नागरिकहरुले पालना गर्नुपर्छ । पहिलो र दोस्रो डोज खोप लगाइदिनुहोस् । सरकारले निःशुल्क रुपमा विभिन्न स्थानबाट सहज हुनेगरी दिइरहेको छ, त्यो लगाए तेस्रो भेरियन्टबाट बच्न सकिन्छ । जिल्लासँग गासिएका अस्पताल, स्वास्थ्यकेन्द्रमा यो पाइन्छ । तेस्रो कुरा ओमिक्रोन भाइरस आएको छ, त्यसको लागि नेपाल सरकारले तेस्रो डोज आवश्यक पर्छ भनेको छ, त्यसलाई बुस्टर भनेर हल्ला गरिएको छ, त्यो दिन हामी तयार छौँ र हामी माघ पहिलो हप्ताबाट फ्रन्टलाइनर्सहरुलाई दिन शुरु गर्छौं । स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षा निकायका कर्मचारी, निजामति कर्मचारीलाई दिनेछौँ । त्यसपछि दोस्रोमा ६० वर्ष माथिकोलाई दोस्रो हप्तामा शुरु गर्दैछौँ । त्यसपछिको तेस्रो चौथो हप्ताबाट पहिलो, दोस्रो डोज लगाएको जसरी नै आम रुपमा लगाउने छौँ । कोही पनि नआत्तिन, नहत्तारिन, ब्ल्याक सोर्स, फोर्स लगाएर अनावश्यक रुपबाट तनावमा नबस्न आग्रह गर्छु, १८ वर्षमाथिको भ्याक्सिनको उत्पादन भएको थियो, हामीले दिएका छौँ । त्यसपछि अहिले ११ देखि १७ समूहको भ्याक्सिन उत्पादन भयो भनेर डब्ल्यूएचओले मान्यता दियो हामीले त्यो ल्याएर पुस ४ गतेबाट दिन थाल्यौँ । स्वास्थ्यकेन्द्र जान असजिलो होला भनेर विद्यालयलाई नै केन्द्र बनायौँ । विद्यालयलाई केन्द्र बनाउनुको कारण विद्यालयका विद्यार्थी मात्रै होइन, आसपासका त्यो उमेर समूहलाई पनि हो । ११ देखि १८ उमेर समूहको भ्याक्सिन सहजै पाउनु हुन्छ । हामीले ८४ लाख खोप यो उमेर समूहलाई लयाएका छौँ । खोप लगाउन भीड गर्नै पर्दैन सबै अस्पतालमा छ जान सक्नुहुन्छ ।’

मन्त्री खतिवडाले स्वास्थ्यकेन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेका छन् । कोरोना खोप लगाउन अस्पतालमा भीड भइरहेको प्रशंगमा मन्त्री खतिवडाले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भीड हुन नदिने बताए । 

 

Logo