बढ्दै बाल स्वास्थ्य समस्या : अभिभावक मात्र हैन विद्यालयले पनि विशेष ध्यान दिन आवश्यक

बढ्दै बाल स्वास्थ्य समस्या : अभिभावक मात्र हैन विद्यालयले पनि विशेष ध्यान दिन आवश्यक


कोरोना भाइरस संक्रमणपछि बालबालिकाको स्वास्थ्यलाई लिएर अभिभावकहरु स्वास्थ्य संस्था जाने क्रम तीव्र बनेको छ।

कोभिडपछिको समयमा बच्चाहरु चिन्तित हुने, विद्यालय जान मन नपराउने, पेट दुख्ने, पखला भइरहने, टोलाइरहने, कम बोल्ने, रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने, खान मन नगर्ने, राति तर्सिएर उठ्ने, डराउने, दुःखी भएर बस्ने, साथीसँग खेल्न मन नपराउने, सुत्न गाह्रो हुने, आलस्य हुने लगायत लक्षण देखिएका छन् । ग्रमिण भेगका बच्चामा भने पौष्टिक तत्वको मात्रा नमिल्दा कुपोषणको समस्या देखिएको छ ।

यसको आधिकारिक तथ्याङ्क सरकारले निकाल्न बाँकी रहे पनि अस्पताल पुग्ने बच्चाहरुमा यो समस्या अत्यधिक पाइएको चिकित्सकहरु बताउँछन् । सो कारण उमेरसँगै तनाव पनि बढ्दै गए भविष्यमा गम्भिर खतरा निम्तन सक्ने भएकाले अभिभावक यो कुरामा चनाखाे हुनुपर्नेछ। घरभित्र वा बाहिर, घरपरिवारको वा साथीभाइसँगको तनावलाई बच्चाले आफ्नै तरिकाले बुझ्ने गर्छन्। जसकाे असरले उनीहरुलाई स्कुलमा वा घरपरिवारमा समेत पिरोलेको हुन्छ। खानाको सन्तुलन नमिल्दा तथा पर्याप्त मात्रामा शारीरिक व्यायाम नभएका कारण उनीहरु थाहै नपाइने समस्यामा फस्ने गरेको चिकित्सकको भनाइ छ। अझ घर तथा विद्यालयमा तनावजन्य वातावरण छ भने बच्चामा पनि चिन्ता, उदासीलगायतको समस्या देखिन्छ। 

कस्तो असर गर्छ ?

कतिपय अवस्थामा अभिभावकले बालबालिकाको समस्यालाई सामान्यरुपमा लिएका हुन्छन् । उनीहरुका समस्यालाई न घरले बुझेको हुन्छ न कि विद्यालयले नै सुनिदिन्छ । तीनै साना समस्याका कारण बच्चाहरुमा गम्भीर प्रकारका समस्या देखिने जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती बताउँछिन् । अभिभावक चनाखो हुनु पर्ने उनको सुझाव छ। बजारमा पाइने अस्वस्थकर खानेकुराको बढी प्रयोगले पनि बालबच्चामा मोटोपनसहितका समस्या बढी देखिने गरेको बताउँदै डा.उप्रेतीले यसप्रकारका समस्या केही बालबालिकामा दीर्घकालसम्म देखिने उल्लेख गरिन् ।

मोटोपनका कारण रगतमा पनि समस्या देखिने गरेको छ। सन्तुलित खानाको प्रवन्ध नभएकाले ग्रामिण क्षेत्रका बालबालिकामा कुपोषणको समस्या देखिने गरेको छ। जसले उच्च रक्तचापको लक्षण देखिने, पढाइमा कमजोर हुने लगायत समस्या बालबालिकामा पाइएको डा.उप्रेतीकाे भनाइ छ। यो अन्त्यका लागि कार्वोहाइड्रेटजन्य खानेकुरा र झोलिलो खानेकुरामा जोड दिन आवश्यक देखिन्छ। 

स्कुलमा कस्ता किसिमका खानेकुरा खुवाउने ?
हामीले बच्चाहरुलाई घरमा जति हेरचार गर्छौं तर विद्यालयको खानेकुरामा त्यति ध्यान दिएका हुँदैनौं। पछिल्लो समय बच्चाहरुमा घरको खानाले भन्दा विद्यालयको खानेकुराको असर बढी पाइएको चिकित्सकको भनाइ छ। यसो भन्दै गर्दा सबै विद्यालयमा खानेकुरा अस्वस्थकर नै छन् भन्ने होइन । केही विद्यालयले गुणस्तरमा पनि विशेष ध्यान पुर्याएका छन् । तर अधिकांश विद्यालयले जङ्कफुडको प्रयोग, अस्वस्थकर पानी, बासी खानेकुराको प्रयोग पनि गर्ने गरेका छन् ।

केही मन्टेश्वरीले दूधमा जाइदानो मिसाएर खुवाउने गरेको पाइएको भन्दै चिकित्सकहरुले सचेत पनि गराएका थिए । एक जनामा देखिएको समस्या समूहमा रहेका बालबालिकामा छिनभरमै फैलने भएकाले सरुवा रोगको प्रकोपको डर पनि उत्तिकै हुने गरेको छ। डा.उप्रेती भन्छिन्, ‘बालबालिकामा पछिल्लो समय घाँटी दुख्ने, आलस्य हुने, पढ्न मन नलाग्ने लगायत समस्या व्यापक छ। विद्यालयले पनि सामान्य र स्वस्थकर खानेकुरामा जोड दिन आवश्यक भइसकेको छ ।’

के छन् समाधानका उपाय ?
डा. बाबुराम मरासिनी भन्छन्, ‘समस्या तीन/चार वर्षको बच्चादेखि लिएर किशाेर किशाेरीमा समेत पाइएको छ।’ यसकाे निराकरणका लागि उनीहरुलाई खुल्ला वातावरणमा घुलमिल गराउँने, अभिभावकले समय बढी दिने, उनीहरुका कुरा सुन्ने, पढाइसँगै साथिभाइसँग धुलमिल हुन दिने लगायत सुझाव डा.मरासिनीको छ । बालबच्चमा देखिने यसप्रकारका समस्याको तत्काल पहिचान गर्न आवश्यक देखिएको छ। समयमा नै यस्ता समस्यामा ध्यान नदिए बच्चाहरुमा कडा खालका मानसिक रोगहरु पनि देखिने खतरा हुने डा.मरासिनीको भनाइ छ ।

सामाजिकरणको वातावरण बच्चालाई दिने कोरोना भाइरसपछि बच्चाहरुमा मोवाइल तथा इन्टरनेटको प्रयोगले मनोसामाजिक असर देखिएको चिकित्सकको भनाइ छ। सो कारण बच्चालाई सामाजिकिकरणको वातावरण दिने गर्नु पर्छ।

अभिभावकले बच्चाको कुरा सुन्ने र घरमा बनाइएका पौष्टिक आहारमा जोड दिने गर्नुपर्छ। बच्चाहरु मानसिक समस्या (साइकोसिस) बाट बचाउन मोवाइल फोनको प्रयोगसमेत सानो उमेरबाट गर्न दिन नहुने चिकित्सकको भनाइ छ। संयुक्त राष्ट्र संघले ‘हामीले केटाकेटीलाई सुनौं, बालबालिकाको कुरा सुनौं र बुझौं’ भन्ने एउटा नारा नै तय गरेको थियो । जसबाट मानसिक समस्या कम हुँदै जाने राष्ट्र संघको विश्वास छ। 

बालबालिकाको प्रशंसा गर्नुपर्छ 
बालबालिकाले गर्ने सामान्य गल्तीलाई नजरअन्दाज गरिदिनुहोस्। सामान्य गल्तीमा पनि ठूलो सजाय पाए बालबालिकामा मानसिक असर पर्न सक्छ जसले मानसिक विकास र दैनिक क्रियाकलापमा असर पर्छ। बालबालिकालाई जहिले पनि उनीहरु परिवारको महत्वपूर्ण सदस्य हुन् भन्ने बुझाउन आवश्यक छ। उनीहरुको कुरा नसुन्ने, झर्कने, सामान्य मागसमेत पूरा नगर्नाले बालबच्चाको वृत्तिविकास नै रोकिन्छ। डा.उप्रेतीको सुझाव छ, बालबालिकालाई विद्यालयमा होस् या घरमा सकारात्मक कुरा सुन्न प्रेरणा दिनु पर्छ। घर परिवारमा बस्दा आमाबुबाले पनि उनीहरुसँगै मनपर्ने खेल खेल्ने, किताब पढ्ने तथा उनीहरुले गरेका गल्तीलाई महसुस हुने गरी बुझाउन आवश्यक छ। सानातिना कुरालाई पनि उनीहरुले ठूलो उपलब्धिका रुपमा लिने गरेका छन् । ती कामको प्रशंसा गरिदिनुहोस ता कि अगाडि बढ्न उनीहरुलाई प्रेरणा मिलोस्। 

अभिभावकको लापरबाही
अनुसन्धान हुन बाँकी रहेपनि कोभिड संक्रमणपछिको अवस्थालाई मात्रै नियाल्ने हो भने बालबालिकामा थुप्रै परिवर्तन आएको पाइन्छ। लामो समय घरभित्रै बस्नु पर्ने बाध्यताले उनीहरुमा यसप्रकारका समस्या देखिएको चिकित्सकहरु बताउँछन्। ग्याजेटको अत्यधिक प्रयोग, जङ्कफुडको प्रयोग, महिनौंसम्म एकै व्यक्तिसँगको उठबस लगायतले बालबालिकामा दिग्दारीपनको सुरुवात भएको र उनीहरु चिट्चिढे स्वभावका बन्न पुगेको विश्लेषण चिकित्सकको छ।

ठूलो गल्तीमा पनि बाबुआमाबाट पाउने छुट, एकै घरमा भएर पनि मोबाइलको प्रयोगले अलग अलग दैनिकी, नजिकपनको अभाव लगायत कारणले अभिभावकबाट बालबालिका टाढा हुँदै गएको प्रष्ट हुन्छ। आफ्नो सहजताका लागि ग्याजेट प्रयोगको अनुमति, जङ्कफुड प्रयोगमा छुट, दिनभर एक्लै छाड्नु लगायतले बालबालिकासँगको दुरी बढाउँदैछ । अभिभावक संघका अध्यक्ष सुप्रभात झण्डारी अभिभावक सचेत नभएका कारण बच्चाहरुको स्वास्थ्यमा गम्भीर असर परिरहेको स्वीकार्छन् ।

आफ्ना इच्छा बच्चाबाट पूरा भएको हेर्न चाहने अभिभावकको सोचका कारण पनि उनीहरुमा मानसिक तनाव बढी पाइन्छ। मायामोह नाममा बच्चाहरुको स्वतन्त्रता खोसिएको छ। बच्चाहरुलाई सकभर स्वतन्त्ररुपमा खेल्न तथा कुराहरु सुन्न दिनुपर्छ। स्वतन्त्रतापूर्वक समाजमा घुलमिल हुन दिने, अभिभावकले शिक्षा तथा निगरानी गर्नु जरुरी छ। 

सरकारी अनुगमन फितलो 
खासगरी सरकारले खाद्यवस्तुमा गरेको अनुगमन फितलो भएका कारण समस्या उत्पन्न भएको छ। बच्चालाई आकर्षित गर्ने गरि विभिन्न रंग पोतेर बजारमा ल्याइने अखाद्य सामाग्रीको अनुगमन सरकारीतहबाट हुन सकिरहेको छैन। उत्पादन र प्रयोग मिति नभएका खानेकुराको प्रयोग पनि भइरहेकै छ। तर सरकारी निकायबाट यसमा कुनै चासो भएको पाइँदैन। 

सामाजिकरणको वातावरण बच्चालाई दिने कोरोना भाइरसपछि बच्चाहरुमा मोवाइल तथा इन्टरनेटको प्रयोगले मनोसामाजिक असर देखिएको चिकित्सकको भनाइ छ। सो कारण बच्चालाई सामाजिकिकरणको वातावरण दिने गर्नु पर्छ। बालबच्चालाई बढी समय दिने, घुमाउन लैजाने, उनीहरुलाई स्वस्थकर खानेकुरामा प्रेरित गर्ने, मोबाइल प्रयोगबाट हुने हानीबारे जानकारी गराउने, खेल्ने खेलाउने लगायतमा अभिभावकले विशेष ध्यान दिन आवश्यक छ। आफ्नो बच्चामा एकाेहाेराेपन तथा जिद्धीपन देखिएको भए तत्काल मनोचिकित्सकसँग परामर्श लिन आवश्यक रहेको चिकित्सकहरुको सुझाव छ। 

Logo