मंकीपक्सको अस्वभाविक फैलावट, सचेत बन्न डा.समीर अधिकारीको आग्रह

मंकीपक्सको अस्वभाविक फैलावट, सचेत बन्न डा.समीर अधिकारीको आग्रह

केन्द्रबिन्दु
0
Shares

मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाइ र क्वारेन्टाइनमा बस्ने कुरामा ध्यान दिनुपर्ने बताए ।

विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तीमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनैपनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताउदै उनले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको र सीमा नाकामा निगरानी बढाएको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनको केन्द्रीय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने उनको भनाइ छ । 

मंकीपक्सको भाइरस शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने गर्छन् । यो संक्रमण अधिकांश बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा विशेष ख्याल गर्न आवश्यक छ ।

मंकीपक्सबाट मृत्यु हुने दर १० प्रतिशत मात्रै रहेपनि यसको पीडा भने असैह्य हुने चिकित्सकहरु बताउँछन् । डा.अधिकारीले मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिव तीन महिनापछि आफैँ हराएर जाने भएकोले नडराउन तर सचेत बन्न सुझाउछन् । मंकीपक्स भएको तीनदेखि ४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना उच्च रहेको उनको भनाइ छ । 

मंकीपग्स मध्य र पश्चिमी अफ्रिकी देशहरुको घना जंगलमा रहेका जनावरहरुको सम्पर्कमा आउने मानिसबाट सुरु भएको अनुसन्धानबाट देखिएको छ । प्रायः मुसा प्रजातीका जनावरमा यसको भाइरस रहन्छ । ती जनावरबाट निस्किएका थुकका छिटा, र्‍याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने माध्यम तथा मरेका वा त्यस्ता जनावरको मासु प्रयोग गरे यो संक्रमण सर्ने गरेको छ ।

यो संक्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्युन रहेको हालसम्मको अध्ययनले देखाएको छ । तर पछिल्लो समय असाधारण फैलावटले मान्छेबाट मान्छेमा नै संक्रमण सरेको हुनसक्ने अनुमान छ ।

पछिल्लो समय अफ्रिकी मुलुकपछि मंकीपक्स युरोपका केही देशमा समेत देखिएको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार मंकीपक्स अहिलेसम्म विभिन्न १५ देशमा देखिइसकेको छ । यसका अधिकांश लक्षण स्मलपंक्स भाइरससँग मिलेको विज्ञहरुको अध्ययनले देखाएको छ । 

Logo