हैजासम्बन्धी समस्या भए ११८० मा हटलाइनमा फोन गर्नुस्

हैजासम्बन्धी समस्या भए ११८० मा हटलाइनमा फोन गर्नुस्


काठमाडौं महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । 

काठमाडौं महानगरमा हैजाको समस्या देखिएपछि नागरिकलाई सहज होस् भनेर काठमाडौं महानगरले सोमबारदेखि २४ सै घण्टा सेवा दिनेगरी हटलाइन सञ्चालन गरेको जनाएको छ । समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र कामपाबाट प्राप्त हुने सुविधा लिनसक्ने बताइएको छ ।

हैजा खानेकुरा र पानीबाट सर्ने भएकाले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई आग्रह गरिएको छ ।

विद्यार्थीलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयमा जानकारीमूलक कार्यक्रम गर्ने कामपा स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए ।  त्यस्तै महानगरपालिकाले पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको छ ।  

Logo