कोरोना सङ्क्रमणमुक्त किशोरीको अभिभाकत्व ग्रहण गरे नमोबुद्ध नगरका प्रमुख शर्माले

कोरोना सङ्क्रमणमुक्त किशोरीको अभिभाकत्व ग्रहण गरे नमोबुद्ध नगरका प्रमुख शर्माले

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले कोरोना सङ्क्रमणबाट मुक्त भएकी एक किशोरीको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका छन् ।

सङ्क्रमणमुक्त भई घर फर्केकी नमोबुद्ध नपा–५ को किशोरीको शुक्रबार घरमै गई तिमल्सिनाले स्नातकसम्मको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका हुन् । किशोरीको आर्थिक अवस्था कमजोर रहेको थाहा पाएपछि उनको शिक्षाको अभिभावकत्व ग्रहण गरेको तिमल्सिनाले बताए। “चिकित्सक एवं स्वास्थ्यकर्मीलाई दुर्व्यवहार भइरहेका बेला कोरोना सङ्क्रमितलाई दुर्व्यवहार हैन, हौसला प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले उनको अभिभावकत्व ग्रहण गरेको हुँ”, उनले भने। किशोरी हाल कक्षा १२ मा अध्ययनरत छिन् । किशोरीको परिवारमा छ सदस्य छन् । परम्परागत रुपमा सामान्य खेतीपाती गर्दै आएको परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ ।

नगरप्रमुख तिमल्सिनाले आफ्नो घरसम्मै आएर हौसला प्रदान गरेकोमा सङ्क्रमणमुक्त किशोरीले खुशी व्यक्त गरिन् । उनले भनिन् , “मेरो शिक्षाका लागि उहाँले अभिभावकत्व ग्रहण गर्नुले आफूलाई अझै अध्ययनमा हौसला मिलेको छ ।” किशोरीमा कोरोना सङ्क्रमण देखिएपछि गत साउन ३१ गतेदेखि धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । नमोबुद्ध नगरमा हालसम्म भएका ६ सङ्क्रमितमध्ये चार जना सङ्क्रमणमुक्त भैसकेका छन् ।

नगर प्रमुख तिमल्सिनाले विगतदेखि नै व्यक्तिगत तर्फबाट विपन्न र जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सहयोग गर्दै आएका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर गत बुधबारमात्रै एक लाखभन्दा बढी रकम विद्यार्थीको शिक्षाका लागि प्रदान गरेका थिए।

यसैबीच, काभ्रेपलाञ्चोकमा हालसम्म २१९ लाई कोरोना सङ्क्रमण भएको छ । यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भैसकेको छ भने ८१ जना उपचारपछि घर फर्किएको र १३६ जना विभिन्न स्थानको आइसोलेशनमा उपचाररत रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकले जनाएको छ ।रासस

Logo