बिरामीको चापले टीकापुर अस्पतालमा शय्या अभाव

बिरामीको चापले टीकापुर अस्पतालमा शय्या अभाव


कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्या अभाव हुन थालेको छ। दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो। 

यसअघि प्रसूति र हाडजोर्नी सम्बन्धि शल्यक्रिया गरिँदै आएकामा अस्पतालले एक हप्तादेखि आफ्नो सेवा विस्तार गरेको छ। टीकापुर अस्पतालबाट अब हाइड्रोसिल, हर्निया, पत्थरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत र पानी भरिएका बिरामीको  शल्यक्रिया सेवा थालेको छ। 

शल्यक्रिया सेवा पाउन थालेपछि बिरामीको चाप बढेको छ। शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने भएको छ। शय्या अभावपछि बिरामीले पालो पर्खिनु पर्छ। जोशीपुरकी सरस्वती श्रेष्ठ बुवाको हाइड्रोसिलको शल्यक्रियाका लागि पालो कुर्नुपरेको बताउँछन्। 

‘शल्यक्रियाका लागि निकै कुर्नुपर्छ, शल्यक्रियापछि शय्या पाउन झन मुश्किल हुने गरेको छ’, उनले भने। 

चाप बढेपछि बिरामीको अवस्था हेरेर अस्पतालले घर पठाउने र शय्या उपलब्ध गराउन थालेको छ। अस्पतालसँग भौतिक सुविधा अभाव हुँदा बिरामीका कुरुवाले अस्पताल प्रशासनसँग आक्रोश पोख्ने गरेका छन्।  अस्पताल ५१ शय्याको मात्र भए पनि अस्पतालले थप शय्या थपेर सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपड सोडारी बताउँछन्। 

‘५१ शय्याले धान्न मुस्किल छ। दैनिक ४० देखि ५० बिरामी भर्ना हुन्छन्, नियमित शल्यक्रिया सेवापछि शय्याको अभाव भएको हो’, उनले भने।

टीकापुर अस्पतालमा शल्यक्रिया सेवा पाएपछि यहाँका बिरामीलाई धनगढी र नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ। अस्पतालमा कैलालीको टीकापुरसहित जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दियाको राजापुर नगरपालिकाका बिरामी बढिजसो उपचार गर्न आउने गरेका छन्। स्वास्थ्य बिमामार्फत सेवा लिने समेत बढेको अस्पतालले जनाएको छ।

Logo