भक्तपुरमा कोरोना सङ्क्रमित थप एक पुरुषको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या ५ पुग्यो

भक्तपुरमा कोरोना सङ्क्रमित थप एक पुरुषको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या ५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

भक्तपुर।

निमोनिया भएर उपचारका लागि भक्तपुर अस्पताल आएका एक बिरामीको कोभिड–१९ सङ्क्रमणबाट शुक्रबार मृत्यु भएको छ । भक्तपुर नगरपालिका–३ मंगलाछेका एक ८२ वर्षीय पुरुषको मृत्यु भएको हो । उपचारका क्रममा मृत्यु भएका ती पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले निमोनिया भएर बिहीबार दिउसो उपचारका लागि ल्याइएका पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको जानकारी दिइन् । बिरामीको बिहबिार नै स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका लागि पठाएको र शुक्रबार आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उनले बताइन् ।

मृतकमा सङ्क्रमण पुष्टि भएपछि उक्त उपचार कक्ष बन्द गरिएको उनले जानकारी दिइन् । अस्पतालमा हरेक दिन भाइरस निर्मलीकरण गर्ने गरिएको र मृतकको उपचार भएको उक्त कक्षमा पनि निर्मलीकरण गर्नुका साथै तीन दिन सो कक्ष बन्द गरी उपचारमा संलग्न चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई आइसोलेसनमा राखिने उनले बताइन् ।

सुरक्षाकर्मीले मंगलाछेस्थित मृतक बस्ने क्षेत्र सिल गरी परिवारलाई घरमै आइसोलेसनमा राखेको र कन्ट्याक्ट टे«सिङ गर्ने काम भइरहेको बताइएको छ । यसअघि मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका लागि ल्याइएका स्थानीय ६२ वर्षीया एक महिलाको पनि मृत्यु भएको थियो । दम र उच्च रक्तचापका बिरामी रहेकी महिला घरमा बेहोस भएपछि अस्पताल पुर्याउँदा मृत्यु भइसकेको र कोरोनाको लक्षण देखिएकाले पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो ।

दुवै शवको शुक्रबार नै नेपाली सेनाको वीर दल गण सूर्यविनायकको टोलीले पशुपतिस्थित विद्युतीय शवदाह गृहमा व्यवस्थापन गरेको गणका गणपति कर्नेल शिव पौडेलले जानकारी दिए। भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । सोमध्ये सूर्यविनायक नपा १ की ६१ वर्षीया महिलाको उपचारका क्रममा पाटन अस्पतालमा, सूर्यविनायक नपा ८ का ७३ वर्षीय पुरुषको काठमाडौँको मेडिकेयर अस्पतालमा र ५३ वर्षीया महिलाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । आजसम्म भक्तपुरमा ४२९ जना कोरोना सङ्क्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।

Logo