बाराकी कोरोना सङ्क्रमित गर्भवतीको वीरगञ्जमा मृत्यु

बाराकी कोरोना सङ्क्रमित गर्भवतीको वीरगञ्जमा मृत्यु


बारा।

बाराको सुवर्ण गाउँपालिका-४ की कोरोना सङ्क्रमित एक गर्भवती महिलाको उपचारका क्रममा आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १० गतेदेखि अस्पतालमा उपचाररत २३ वर्षीया ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ । ती महिला ३३ हप्ताकी गर्भवती थिइन् ।

ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गराएका थिए । उच्च रक्तचापसमेत रहेको ती महिलाको भदौ ८ गते स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उपचारकै क्रममा आज बिहान साढे ६ बजे उनको मृत्यु भएको छ । मृतकको शव व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले बताए ।

मोटरसाइकल दुर्घटनामा निधन

मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । बिहान ९ बजे महागढीमाई नगरपालिका–२ भूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ ।

Logo