अर्को उथलपुथल गर्नसक्ने प्रचण्डको चेतावनी, एमडीएमएसमा भ्रष्टाचार गरेको ठहर[भिडियाेसहित]

अर्को उथलपुथल गर्नसक्ने प्रचण्डको चेतावनी, एमडीएमएसमा भ्रष्टाचार गरेको ठहर[भिडियाेसहित]

केन्द्रबिन्दु
182
Shares

सुशासन र विकासको काम अघि नबढे उथलपुथल हुन्छः प्रधानमन्त्री ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण बनेपछि पनि काम गर्न नसके पद ओगटेर बस्ने मनस्थितिमा आफू नरहेको बताएका छन्। सिंहदरबार विहीबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र विकासको काम अझै अगाडि बढाउन नसके आफूले अर्को उथलपुथल गर्न सक्ने बताएका हुन् ।सो क्रममा उनले हरेक आर्थिक वर्षमा विकासका लागि बजेट मागिरहने तर, खर्च नगर्ने प्रवृत्तिमाथि प्रश्न पनि उठाएका छन् ।

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन पदबाट राजीनामा
राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई उनले राजीनामा पत्र बुझाएकी हुन् । माओवादीबाटै २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी अर्यालले हालै फेरिएको सत्ता समिकरणका कारण राजीनामा दिएकी हुन् । अहिलेको सत्ता गठबन्धन दलहरूबीच राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने सहमति हुँदा उपाध्यक्ष अन्य दलबाट लिने सहमति भएको छ ।

एमडीएमएस प्रकरणमा २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, हालका निर्देशक दीपेश आचार्य, दिगम्बर झासहित २० जनाविरुद्ध करिब एक अर्बको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । करिब ६ महिनामा सम्पन्न हुनुपर्ने काम अहिलेसम्म हुन नसकेको भनी यसमा संलग्नहरुमाथि चरम लापरबाही गरेको र गैरजिम्मेवार बनेको आरोप लागेको छ ।

नागरिक उन्मुक्तिले दुई मन्त्रीको जिम्मेवारी तोके
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्तिबाट सरकारमा सहभागी दुई मन्त्रीको जिम्मेवारी तोकेका छन्।मुख्यमन्त्री शाहले नाउपाका सांसद लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको र खुसीराम चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन्। दुवै मन्त्रीले बिहीबार पदभार ग्रहण गरेका छन्।

पहिलो दिनको एसइई शान्तिपूर्ण सम्पन्न
आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । तर, परीक्षामा मर्यादा कायम नगरेको आरोपमा सर्लाहीबाट भने १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् । कारबाहीस्वरुप उनीहरूलाई जारी एसइईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको हो ।

रास्वपाले उपेन्द्र यादवलाई बुझायो २६ बुँदे सुझाव पत्र
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को स्वास्थ्य विभागले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न २६ बुँदे सुझाव समेटेर सुझाव पत्र बुझाएको छ । बिहीबार रास्वपा सांसद तोसिमा कार्कीको नेतृत्वमा डा। सुवास पोखरेल एवं जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्ष डा। पुष्पमणि खराललगायतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै पुगेर सो सुझाव पत्र बुझाएका हुन् । सुझाव पत्रमा नेपालको स्वास्थ्य क्षेत्र तथा स्वास्थ्य संस्था सुधारका लागि रास्वपाले अध्ययन गरी स्वास्थ्य क्षेत्र सुधारका लागि सुझाव दिएको जनाइएको छ ।

डीएसपीबाट एसपीमा बढुवा सिफारिस विवादित बन्यो
प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक एसपीमा गरेको बढुवा सिफारिस विवादित बनेको छ । १२ नम्बरका डीएसपी विनोद घिमिरे बढुवा सिफारिस सूचीमा परेका छन् । तर, पहिलो नम्बरका प्रदीप क्षेत्री सो सूचीमा नपरेपछि विवादित बनेको हो । घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वपीएसओ समेत हुन् । आठौँ र नवौँ नम्बरमा रहेका डीएसपी राजन लिम्बू र सन्तोष तामाङ समेत बढुवा सिफारिसमा परेका छन् । उनीहरू दुवैजना पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओ हुन् ।

विद्यार्थी भिसा कडाई भएसँगै अष्ट्रेलियामा कलेज बन्द हुन थाले
विद्यार्थी भिसामा कडाइ भएसँगै अष्ट्रेलियामा केही कलेज बन्द हुन थालेका छन् । अष्ट्रेलियाको शिक्षा मन्त्रालयले केही कलेज बन्द गरिएको सूचना सार्वजनिक गरेको छ । यसअघि अष्ट्रेलिया सरकारले भिसाको खेती गर्ने शिक्षा प्रदायकहरूलाई कडाइपूर्वक कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो । कतिपय कलेजले विदेशी विद्यार्थीलाई भिसा प्रदान गर्ने कारखानाको रूपमा काम गरिरहेकाले तिनीहरूलाई सच्याउन ६ महिना समय दिने, अन्यथा त्यस्ता कलेजलाई बन्द गराइने बताएको थियो ।

डा.आरजु राणा देउवाको शल्यक्रिया
पचारका लागि भारतको नयाँदिल्लीमा रहेकी कांग्रेस नेतृ एवम सांसद डा।आरजु राणा देउवाको ‘हाइफर पाराथाइरोडिज्म’को शल्यक्रिया गरिएको छ । उनको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा चैत्र १४ गते सफलतापूर्वक शल्यक्रिया भएको हो । विहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार राणाको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्श अनुसार अझै केसी समय अस्पतालमै उपचार गर्नुपर्ने जनाइएको छ ।

नेपालमा आत्महत्याको घटना बढ्दै
नेपालमा पछिल्लो समय आत्महत्याको घटना बढ्दै गइरहेको प्रहरी तथ्यांकले देखाएको छ । एक वर्षमा ७ हजार एक सय ९४ जनाले आत्महत्या गरेका छन् । पछिल्लो एक वर्षमा सबैभन्दा धेरै कोशी प्रदेशमा आत्महत्या हुँदा कर्णालीमा सबैभन्दा कम आत्महत्या भएका छन् । आत्महत्या गर्ने मध्ये सबैभन्दा धेरै ८५ प्रतिशतले झुण्डिएको, १३.३४ प्रतिशतले विष सेवन गरेको र अन्यले आगो लगाएको,पानीमा हाम फालेर मृत्युवरण गरेको विवरण प्रहरी तथ्यांकमा उल्लेख छन् ।

विहिबार चार दशमलव ७८ अङ्कले शेयर बजार बढ्यो
शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ३५ दशमलव ६४ विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, व्यापारबाहेक अरू समूहको शेयर बढेको छ । आज ६६ लाख १४ हजार कित्ता शेयर दुई अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको १९ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

लद्दाख सीमा विवादको विषयमा भारत चीनबीच बेइजिङमा वार्ता सम्पन्न
भारत र चीनबीचको लद्दाखसमेतका सीमा क्षेत्रमा देखिएको विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुवै देशका कुटनीतिक अधिकारीबीच बेइजिङमा वार्ता भएको छ । भारतको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा दुई देशका अधिकारीबीच बुधवार बेइजिङमा २९औँ बैठक बसेको र सीमा क्षेत्रमा देखिएको तनाव मत्थर बनाउनेतर्फ वार्ता सकारात्मक भएको उल्लेख छ । वार्ताका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका सहसचिव र चीनका तर्फबाट विदेश मन्त्रालयको सीमा मामिलासम्बन्धी महानिर्देशकले गरेका थिए ।

वर्षाका कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरु हुने भनिएको टी–२० शृङ्खलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द गरिएको नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच तीनवटा टी–ट्वान्टी तथा तीनवटा एकदिवसीय खेल हुने तालिका रहेको छ ।

Logo