अन्तर्वार्ता: प्रदेश–१ सरकार अब अखण्ड छ- मुख्यमन्त्री राई

अन्तर्वार्ता: प्रदेश–१ सरकार अब अखण्ड छ- मुख्यमन्त्री राई

केन्द्रबिन्दु
0
Shares

मुख्यमन्त्री शेरधन राईले प्रदेश १ सरकार अहिलेको राजनीतिक परिवेशमा झनै बलियो बनेको दाबी गरेका छन्। गत फागुन २३ गते सर्वाेच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषिराम कट्टेल नेतृत्वको पार्टीलाई दिएसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। 

फैसलापछि त्यसअघि मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव औचित्यहीन बनेको छ । अर्काेतर्फ, प्रदेशसभामा सत्तारुढ एमालेकै ५१ सांसद रहेकाले कसैले चाहेर पनि सरकार ढाल्न नसक्ने मुख्मन्त्री राईको दाबी छ। 

केन्द्रविन्दुसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेश १ मा कुल ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको आवश्यकता पर्ने र यो आवश्यक सांसद संख्या नेकपा एमाले स्वयंसँगै हुनुले आफ्नो सरकारलाई अहिलेको अवस्थामा कसैले चाहेर पनि हल्लाउन नसक्ने जिकिर गरे। 

पछिल्लो समय नेकपा एमालेभित्र देखिएको आन्तरिक विवादको असर प्रदेश १ मा राम्रोसँग परेको छ। तर, अहिलेकै राजनीतिक परिवेशमा प्रतिकूल परिस्थिति भोग्नुपर्ने सम्भावना उनी देख्दैनन्। ‘यदि माधव नेपालपक्षीय माननीयहरूले समर्थन फिर्ता लिँदा त्यसले कुनै असर पार्दैन। सिंगो बहुमत मसँग छ,’ राईले भने, ‘उहाँहरू कुनै अर्को दलमा प्रवेश नै गर्नुभयो भने पनि पार्टीको विधान आकर्षित हुन्छ र, सोही अनुसार कारबाही प्रक्रिया अघि बढ्छ।’

नेपाल पक्ष छुट्टिएर अरु पार्टीमा विलय भए वा नयाँ पार्टी खोलेर गए पनि प्रदेश १ का एकाधबाहेक सबै माननीयले सँगै सति जाने निर्णय गर्दैनन्

‘यसले उहाँहरूको सांसद पद रिक्त हुन्छ र, बाँकी सांसदहरूको संख्याका आधारमा नै बहुमत देखाउनुपर्ने हुन्छ, अहिले नै म त्यो परिकल्पना गर्दिनँ,’ उनले भने।

प्रदेश १ सरकार अखण्ड रहेको दाबी गर्दै मन्त्री राईले नेपाल पक्ष छुट्टिएर अरु पार्टीमा विलय भए वा नयाँ पार्टी खोलेर गए पनि एकाधबाहेक सबै माननीयले सँगै सति जाने निर्णय नगर्ने विश्वास व्यक्त गरे। 

मुख्यमन्त्री राईले अहिले एमालेभित्र चलिरहेको आन्तरिक विवादको मुख्य कारण पदलोलुपता भएको बताएका छन्। पार्टीभित्रका नेताहरूले सडकमा गएर गुटगत हिसाबमा गरिरहेका गतिविधि पार्टीको  विधानविपरीत रहेको उनको ठम्याइ छ। 

उनले भने, ‘पार्टी अध्यक्ष र महासचिवले फोनमार्फत् बोलाएर छलफलमा जुट्न आह्वान गरिरहँदा पनि सडकमा गएर हाम्रा लागि एमालेको ढोका बन्द गरियो, हामी एमालेमै बस्न चाहन्छौं भनेर जुन प्रकारको वक्तव्यबाजी गरिरहनु भएको छ, यसबाट उहाँहरू आफैं नाङ्गिदै हुनुहुन्छ।’

‘आफ्नै जिद्दी, नाजायज बार्गेनिङ र डिमान्डका साथ नेपाल–खनाल पक्ष छुट्टै ठाउँमा हुनुले उहाँहरूको मनसाय अब एमालेमा बस्न सकिन्नँ, हामी धेरै टाढा पुगिसक्यौं भन्ने हो,’ मुख्यमन्त्री राईले थपे,‘यसरी केही दिनसम्म समानान्तर गतिविधि गर्ने, सकेसम्म कार्यकर्ताहरूलाई भ्रममा पार्ने र नयाँ दल खोल्ने वा, कुनै पार्टीसँग समाहित हुने ध्येय देखिन्छ।’

नेपाल–खनाल समूहका पछिल्ला गतिविधि जे–जे भए पनि नेकपा एमाले पार्टी, सूर्य चिह्न, जबजको सिद्धान्त लिन नेपाल पक्ष असक्षम रहको जनाउँदै मुख्यमन्त्री राईले भने, ‘उहाँहरूले नयाँ पार्टी खोल्नुपर्ने र नयाँ चुनाव चिन्ह लिनुपर्ने भएकाले कुनै गाईजात्रा वा तमासा नदेखाई नयाँ दल दर्ता गराएर चुनावमा गए हुन्छ।’

पार्टीभित्र अनावश्क वार्गेनिङ गरेर बस्नुभन्दा नयाँ दल र चुनावचिह्नसहित जनतामा अपिल गरेर जाँदा नेपाल–खनाल समूहलाई राम्रो हुने उनको भनाइ छ।

 

Skip This
Logo