कोरोनाको स्वास्थ्य मापदण्ड पालना गर्न हामी चुकेकै होः डा.समीरमणि दीक्षित (अन्तर्वार्ता)

कोरोनाको स्वास्थ्य मापदण्ड पालना गर्न हामी चुकेकै होः डा.समीरमणि दीक्षित (अन्तर्वार्ता)


बायोमेडिकल वैज्ञानिक डा. समीरमणि दीक्षित जनस्वास्थ्यसम्बन्धी विभिन्न विषयमा अनुसन्धानरत छन्। सेन्टर फर मोलिक्युलर डाइनामिक्स नेपाल (सिएमडिएन) का सहसंस्थापक, उपाध्यक्ष र अनुसन्धान निर्देशक रहेका डा. दीक्षितले पछिल्लो समय कोभिड–१९ सम्बन्धी तथ्यपरक र चेतनामूलक जानकारी सम्प्रेषण गर्दै आएका छन्।

नेपालमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभाव, यसको फैलावट, कोरोना खोपको प्रभावकारिता र महामारी नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे केन्द्रबिन्दुकर्मी विकास आचार्यसृजना राईले गरेको कुराकानीको सम्पादित अंशः

नेपालमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको स्थिति कस्तो छ? 

नेपालमा यो प्रजाति, ऊ प्रजातिको कोरोना भाइरस भनिरहेका छन्। तर, नेपाल सरकारले गरेको परीक्षणका आधारमा तीन  प्रकारका भाइरस छन्, जसमा युके भेरियन्ट, भारतीय भेरियन्ट र पुरानो ओरिजिनल भेरियन्ट छन्। 

यी तीनवटा भेरियन्ट नेपालमा कुन बढी, कुन कम फैलिएका छन् भन्ने चाहिँ अनुसन्धानकै विषय रहेको छ। तर,  तीनवटै भाइरस नेपालमा फैलिरहेका छन्। भाइरसको नयाँ भेरियन्टले मृत्युदर होइन, संक्रमणको दर बढाइरहेको पुष्टि भइसकेको छ। 

अहिले विश्वभर फैलिएको नयाँ भेरियन्टलाई सर्वसाधरणले बुझ्ने भाषामा बताइदिनुस् न?

जुनसुकै भेरियन्ट भए पनि यसलाई भाइरसको संरचना हो भनी बुझ्नुपर्छ। भाइरसको वरिपरि प्रोटीन भन्ने पदार्थ हुन्छ र, यसले भाइरसलाई घेरेको हुन्छ।

भाइरसम अनेकौं किसिमका हजारौं प्रोटीन हुन्छन्। यी प्रोटीनमा केही परिवर्तन भयो भने यसलाई नयाँ भेरियन्ट भएको मानिन्छ।

खासमा भाइरस पहिलेकै हो, भाइरसमा फरक भएको हुँदैन। तर, केही प्रोटीनमा परिवर्तन भएकाले गर्दा त्यसले मानवलाई पार्नसक्ने प्रभावमा केही परिवर्तन भएको हो कि भन्ने शंका उब्जिएको छ। 

पछिल्लो समय कोरोनाले हामीलाई जुन असर पुर्याएको छ, त्यसबाट यसको स्वरुप पक्कै परिवर्तन भएको भन्ने बुझ्न सकिन्छ?

संसारमा लाखौं किसिमका भाइरस छन् । तीमध्ये अधिकांश भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्छन्। विशेषतः कोरोना भाइरसलाई एउटा परिवारमा राखिन्छ। यसलाई वैज्ञानिक भाषामा ‘राइबो न्युक्लिक एसिड’ (आरएनए) भाइरस भनिन्छ। 

यो आरएनए भाइरस एकदमै छिटो र सहज तरिकाले परिवर्तन भइरहन्छ र, यसमा भएको जीनमा परिवर्तन हुन्छ। 

जीनले प्रोटीन बनाउने हुनाले प्रोटीनमा पनि केही परिवर्तन हुन्छ र, यसले भाइरसको स्वरुप परिवर्तन गराउँछ। त्यसैलाई हामी भेरियन्टका रुपमा बुझ्न सक्छौं। 

प्रत्येक नयाँ भेरियन्ट संक्रामक र बढी जोखिमयुक्त हुन्छ?  

कोरोना सुरु भएको दुई वर्ष हुन लागिसक्यो र, यो परिवर्तनशील भाइरस भन्ने पनि पुष्टि भइसकेको छ। त्यसैले के साँच्चिकै संसारमा ५–६ वटा मात्र भेरियन्ट होलान् र? 

भन्ने सबैको मानसपटलमा उब्जिएको प्रश्न हो। 

त्यो संख्यामा अवश्य पनि छैनन्। जब विज्ञानले कोरोनाबारे सुक्ष्म रुपले अध्ययन–अनुसन्धान गर्न थाल्यो। बल्ल नयाँ भेरियन्टको बारेमा पत्ता लाग्न थालेको हो। 

त्यसैले संसारमा ५–६ वटा भेरियन्ट मात्र छन् भनेर नबुझौं। हजारौं लाखौं भेरियन्ट हुन्छन्। यदि सबै भेरियन्ट कडा  हँुदा हुन् त मानिसको भकाभक मृत्यु हुन थाल्थ्यो। भाइरस परिवर्तन हुँदैमा अझै कडा अथवा मृत्युदर बढाउने भन्ने हुँदैन। 

अहिले देखिएका केही भेरियन्टले संक्रमण ज्यादै छिटो फैलाउँदा रहेछन् भनेर बुझ्न सकिन्छ। त्यसैले नयाँ भेरियन्ट कडा छ भन्ने भ्रममा नपरौं। 

हाल नेपालमा भारतभन्दा तीव्र रुपले संक्रमण दर बढिरहेको छ, यसको कारण के हो? 

भारतमा जुन प्रजातिको कोरोना भाइरस देखिएको छ, सायद हाम्रोमा पनि त्यही प्रजाति फैलिएको भन्न सक्छौं। तर, कति दरमा फैलिएको छ भन्ने पुष्टि छैन।

भारतमा संक्रमण उच्च दरमा देखिएको छ। नेपालको अवस्था पनि त्यस्तै छ। यसबाहेक पाकिस्तान, भुटान, बङ्गलादेशमा पनि उच्च दरमा संक्रामक भाइरस देखिएको छ । त्यसैले बिनाशंका नेपालमा भारतकै भेरियन्ट आएको भन्न सक्छौं। 

त्यसबाहेक युके भेरियन्ट त पुष्टि भएकै छ। भारतमा जुन किसिमले संक्रमण बढिरहेको छ, नेपालमा पनि नबढेको होइन। तर, हाम्रोमा भारतको तुलनामा परीक्षण एकदमै कम छ।

 परीक्षण पर्याप्त भएपछि मात्र संक्रमणको दरलाई राम्रोसँगल हिसाब गर्न सकिन्छ । त्यसैले हामीले भारतसँग तुलना गर्न मिल्दैन । तर, यो नयाँ भेरिएन्ट अवश्य पनि संक्रामक भने हो। 

पुरानो भाइरसको तुलनामा नयाँ भेरियन्ट २ देखि ३ गुणा संक्रामक छ भन्ने विभिन्न तथ्य तथ्याङ्कले देखाएको छ। 

 अहिले हामीसँग भएको भेरियन्ट बढी संक्रामक छ, जसले भारतको जस्तै संक्रमण बढाइरहेको हो। मृत्युदर बढाएको होइन, मृत्यु संख्या बढेको हो। धेरै मानिस संक्रमित भएपछि ती मध्ये पुरानै दरमा केहीको मृत्यु हुन्छ । 

लकडाउनले चेन ब्रेक गराउन अथवा अस्पतालको चाप घटाउन केही हदसम्म काम गर्ला। तर, कहिलेसम्म ? एक हप्ता, एक महिना ? भनेपछि यति सजिलै १५–२० दिनमै सहज हुनसक्ने अवस्था होइन यो।

जब संक्रमितको संख्या बढ्छ, त्यसभित्र त्यति नै मृत्यु संख्या बढ्ने नै भयो र, हाम्रो नेपालमा पनि भएको त्यही हो। 

नेपालमा विदेशी प्रजातिको कोरोना भाइरस भित्रिएको भन्दै गर्दा नेपालमै उत्पत्ति भएर नयाँ भेरियन्ट बन्ने अवस्था छ कि छैन ? 

विज्ञानले छ भन्छ। विज्ञानका अनुसार धेरै जनघनत्व भएको ठाउँमा धेरै भाइरस हुने भएकाले मानिस बढी संक्रमित भएका छन्। त्यहाँ भाइरसले प्रजाति परिवर्तन गर्न खोज्छ ।
जस्तैः नेपालको काठमाडौं, वीरगन्ज, जहाँ धेरै जनघनत्व छ। त्यहाँ संक्रमणको दर पनि उच्च छ। त्यसैले धेरै संक्रमण भएको ठाउँमा पक्कै पनि प्रजाति परिवर्तन भएको छ।

 हामीले कहिल्यै पनि यो प्रश्न सोधेनौं। हामीले खाली विदेशबाट के आयो, भारतबाट के आयो, बेलायतबाट के आयो भनेर सोध्यौं। तर, हाम्रो प्रजाति के छ त ? भन्नेतर्फ लागेनौं। 
यो पत्ता लगाउन गाह्रो छैन। तर, हामी अथवा हाम्रो राज्य निकायले सोधेनन् र, गैरराज्य निकायले गर्न पाएका छैनन्। गर्न सकिने अवस्था भएर पनि उनीहरुले गर्न पाएका छैनन्। 

अहिले नयाँ भेरियन्ट बढी संक्रामक हुनुको कारण के हो? यसले एक–दुई महिनापछि कस्तो नतिजा निकाल्छ, अबको १–२ महिनापछिको परिदृश्य कस्तो होला? 

अहिलेको भेरियन्टहरुमा प्रोटिन परिवर्तन हुने भएकाले यसले मानिसको शरीरमा भएको प्रतिरक्षा प्रणालीलाई छल्न अथवा लुक्नसक्ने देखिएको छ। यसका वैज्ञानिक पक्ष पनि छन्। 

अहिलेको प्रजातिले पुरानो विकसित भइसकेको प्रतिरक्षा प्रणालीलाई छल्न सक्छ र, विकसित हुन खोजेको प्रतिरक्षा प्रणालीलाई पनि यसले छल्न सक्छ कि भन्ने देखिएको छ। यसरी प्रतिरक्षा प्रणालीलाई छलेपछि यसले धेरै व्यक्तिलाई सार्न पायो। त्यही भएर यो महामारी संक्रामक भएको हो। 

 संक्रमितको संख्या र जोखिम बढे पनि आत्तिनुपर्ने अवस्था छैन भन्न सकिन्छ? 

अत्तालिहाल्नुपर्ने अवस्था छैन। पहिले जस्तो असर पथ्र्यो, अहिले पनि त्यस्तै छ। तर, संक्रमण दर भने नयाँ प्रजातिमा उच्च छ। 

नयाँ भेरियन्ट पुष्टि गर्नका लागि अहिले पनि नमुना विदेश पठाउनुपर्ने अवस्था छ, यस हिसाबले हाम्रो स्वास्थ्य प्रणाली र सरकारले गरिरहेको प्रयासलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

हामीले अहिले पनि सिक्वेन्सिङ गर्नका लागि विदेश पठाइरहेका छौं। जब नेपालमै यी प्रविधि छन्, जनशक्ति छ र, अनुभव पनि छ। 

त्यो हुँदाहुँदै पनि राज्यले नेपाली संस्थालाई विश्वास नगरेको हो कि या आफूले गर्न सकिएन भने पनि अरुलाई गर्न नदिने सोच हो । यी सबै कारणले गर्दा नेपालमा परीक्षण हुन सकेको छैन, जुन हुनुपथ्र्यो। 

दुई महिना अगाडि नै परीक्षण व्यवस्था गरिदिएको भए नेपालमा फैलिरहेको प्रजाति कुन हो भन्ने पुष्टि हुन्थ्यो। नियमित रुपमा सिक्वेन्सी गरेको भए हामीलाई कुन भेरियन्ट हो भन्ने थाहा हुन्थ्यो। 

यो सरकारको एउटा ठूलो कमजोरी हो र, अर्को चाहिँ नियमित परीक्षण नहुनु। जाडो महिनामा कोरोना साम्य थियो, त्यति बेला मुस्किलले दैनिक एक हजार परीक्षण हुन्थ्यो। त्यसमा पनि अधिकांश विदेश जाने थिए। गाउँ–गाउँ, टोलटोलमा त सरकार परीक्षण गर्न पुगेको छैन। 

नागरिक आफै पैसा तिरेर परीक्षण गर्न आउँदै आउँदैन। तर, निशुल्क रुपमा समाजमा, टोलटोलमा गएर नियमित अथवा लक्षण भएकाहरुलाई परिक्षण गर्ने हो भने मानिसहरुले गर्छन् । 

दुई महिना अगाडि १० वटा टोलमा १० जना फेला पथ्र्यो भने दुई सातापछाडि ३० जना, त्यसपछि १ सय, २ सय पत्ता लगाउन थालेपछि त्यहीबाट नै मापदण्ड लगाउन सकिन्थ्यो तर, सरकारले गरेन।

अहिले आएर सरकारले एक्कासि निषेधाज्ञा गर्याे। यी कुराले राज्यको तयारीमा कमजोरी देखियो। अघिल्लो वर्ष सरकारले केही कुरा सिक्यौ तर अझै धेरै कुरा सिक्न सकेको छैन र, सिक्न बाँकी नै छ। 

कोरोनाको पहिलो लहरमा जुन किसिमले भेन्टिलेटर, आइसियुको चर्चा भयो। तर, अक्सिजनको त्यति धेरै चर्चा भएन। पछिल्लो समय संक्रमितले किन अक्सिजन बढी खाजे? हामी अक्सिजनमा निर्भर छौं या छैनौं, के छ यसको अवस्था ?

अक्सिजनको महत्व विशेषगरी फोक्सोको रोगमा हुन्छ। तर, कोभिडको उपचारका विषयमा अघिल्लो वर्षको मध्यतिर मात्र अक्सिजन राखियो भने आइसियु बेड पनि चाहिँदैन भन्ने बुझ्न थालियो। 

नेपालमा पनि पोहोर सालको मध्यपश्चात् मात्र अक्सिजनको महत्व बुझ्न थालिएको हो। कोभिड बिरामीलाई अन्य उपचारपद्धतिसहित अक्सिजन निरन्तर दिइयो भने आइसियुमा नराखी बिरामी ठिक पार्न सकिन्छ भन्ने थाहा भएको हो । 

संक्रमण नियन्त्रणका लागि समन्वय चाहिन्छ। कुनै पनि नियम कानुन बनाउनुभन्दा पहिले समन्वय गर्नसक्ने क्षमता छ कि छैन भन्ने सोच्नु पर्छ। 

कोभिडको सुरुआततिर अक्सिजनको महत्वको विषयमा संसार स्पष्ट थिएन । अक्सिजनको महत्व बुझेपछि भने अहिले कोभिड बिरामीको लागि अनिवार्य भएको छ । र यसले अन्य कडा रोग लाग्नुबाट बचाउने देखियो ।

यो कुरा नेपाल सरकार, चिकित्सक, विज्ञहरुलाई पनि थाहा थियो। तैपनि, अक्सिजन व्यवस्थापन अथवा तयारी अवस्थामा राखिएको छैन। सायद हामीसँग अक्सिजन पर्याप्त मात्रामा हुन पनि सक्छ । 

नेपालमा उत्पादन हुने अक्सिजनको जम्मा ३० प्रतिशत मात्र खपत हुन्छ बाँकी ७० प्रतिशत खेर जाने रहेछ। भनेपछि भारत र हाम्रो देशबीच आकाश–पातलको फरक छ।

 हामीसँग देशमा अक्सिजन छ । आत्तिनुपर्ने अवस्था छैन। तर,अक्सिजन राख्ने ट्याङ्कर र यसलाई ट्रान्सपोर्ट गर्न भने अलि अप्ठ्यारो छ। त्यसैले राज्यले अब यसलाई कसरी सही व्यवस्थापन गर्ने भन्ने ठूलो चुनौती हो।  

सरकारको यस्तै सुस्त व्यवस्थापन कायम रहे संक्रमण नियन्त्रणमा आउन सक्ला त ? 

संक्रमण नियन्त्रणका लागि समन्वय चाहिन्छ। कुनै पनि नियम कानुन बनाउनुभन्दा पहिले समन्वय गर्नसक्ने क्षमता छ कि छैन भन्ने सोच्नु पर्छ। 

नेपालमा दुई वर्ष निषेधाज्ञा भइसके पनि निषेधाज्ञा गर्नुअघि सरकार आफैं अलमलमा थियो। उदाहरणका लागि स्वास्थ्य मन्त्रालय एउटा कुरा, उद्योग अर्को कुरा, शिक्षा मन्त्रालयको आफ्नै अडान। यसरी तीन मन्त्रालयले समन्वय गर्न सक्दैन भने आपतकालीन अवस्थामा कसरी जुट्न सक्छन्। त्यसैले संक्रमणका लागि चाहिने नियम, ऐन जे बनाउनुछ, सबैभन्दा पहिले समन्वय गरौं। 

लकडाउन अथवा निषेधाज्ञा कोरोना संक्रमण नियन्त्रणको अचूक उपाय हो ?

लकडाउनले चेन ब्रेक गराउन अथवा अस्पतालको चाप घटाउन केही हदसम्म काम गर्ला। तर, कहिलेसम्म ? एक हप्ता, एक महिना ? भनेपछि यति सजिलै १५–२० दिनमै सहज हुनसक्ने अवस्था होइन यो। यसका लागि पहिलो सबैलाई खोप दिनुपथ्र्यो, दास्रो नागरिकलाई सतर्क बनाउनु पथ्र्यो। 
नागरिकस्तरबाट नै मास्क र सामाजिक दूरी किन कडिकडाउ गर्न सकिएन या चाहिएन? 

लकडाउन अथवा निषेधाज्ञा भनेको सय हो, शून्यबाट सुरु गर्दा सय अन्तिम अंक हो भने लकडाउन पनि त्यही हो। तर, हामी दुई साता अगाडिसम्म शून्यमा थियौं। तर, सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गराउन सकेन। 

लकडाउनले संक्रमण केही समय मत्थर होला तर, यो दोस्रो लहर साम्य भएपछि नागरिकलाई भिडभाड र मास्क लगाउन, भौतिक दूरी कायममा कडाइ गरिएन भने फेरि लकडाउनकै अवस्थामा पुग्छौं। 

अब नागरिकले गर्नुपर्ने काम के के हुनु पर्छ?

सबै कमजोरीमध्ये सय प्रतिशतमा ३० प्रतिशत मात्रै सरकारको भागमा पर्छ। बाँकी ७० प्रतिशत कमजोरी त नागरिकको हो। भन्नै पर्दा नागरिक नै दोषी हुन्। 

नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्नै छोडिदिए। मलाई राज्यले पिट्न आउछ भनेर गर्ने होइन कि आफ्नो जिम्मेवारी पूरा गर्न लगाउने हो।  

कुनै पनि देशमा नागरिक भनेको सर्वोच्चमा बस्ने ठाउँ हो, नागरिक भन्दा माथि कोही पनि जान सक्दैन । लोकतन्त्रमा नागरिक धेरै शक्तिशाली पनि हुन्छ।

 त्यसैले हामीले जिम्मेवारी ठानेर मास्क लगाएर, भौतिक दूरी कायम राखेर, भिडभाड, प्रदर्शन, सभासमारोह नगरिदिएको भए आज फेरि यो दिन आउने थिएन । 

त्यसैले, नियम भनेको अरुको लागि होइन, आफ्ना लागि पनि हो भनेर बुझ्न आवश्यक छ र, नियम पालना गर्नु हाम्रो जिम्मेवारी हो, यसमा हामी चुकेकै हो। 

Logo