राष्ट्रपतिले ओली गुटको सदस्य जस्तो बनेर काम गर्नाले मुलुकमा अस्थिरता आयोः हिरण्यलाल श्रेष्ठ

राष्ट्रपतिले ओली गुटको सदस्य जस्तो बनेर काम गर्नाले मुलुकमा अस्थिरता आयोः हिरण्यलाल श्रेष्ठ


नेपाल कम्युनिष्ट पार्टी एमालेभित्र आन्तरिक टसल उत्कर्षमा छ। पार्टी नै विभाजन हुने पो हो कि भन्ने स्थिति पनि छ। पछिल्लो समय दोस्रो तहका नेता पार्टीलाई एकताबद्ध बनाउन सक्रिय भएर पनि लागेका छन्।

तथापि विवादको जडको बारे सहमति हुन नसकेका कारण पार्टी एकताबद्ध बनाउने दुबै पक्षको प्रयास सफल हुन सकेको छैन।

माधव पक्षको माग ओलीले एकलौटी फागुन २८ मा गरेको निर्णय फिर्ता, पार्टीलाई जेठ २ अघिको अवस्थामा फर्काउनु पर्ने, अध्यक्ष ओलीले विकल्प हुँदा हुँदै पुनः संसद विघटन गरेकोमा आत्मालोचना गर्नुपर्ने माग राखेको छ।

यी कुरामा ओली समूहले सहमति गरे, पार्टी एक हुने उनीहरुको धारणा छ। तर, ओली पक्ष उनीहरुको दुवै माग सम्बोधन गर्ने पक्षमा छैन ।

पार्टीलाई जेठ २ अघिको अवस्थामा फर्काउन सक्ने भएपनि पुनः संसद विघटन गरेको आत्मालोचना गर्न ओली पक्ष सहमत हुने अवस्था छैन। ओली जसरी भएपनि चुनाव गराएर पुस ५ र जेठ ७ सहि सत्य सावित गर्न चाहन्छन्।

यहि रस्साकस्सिका बीच सत्तारुढ दल अल्मिलिएको छ। सत्तारुढ दलकै यस्तो अवस्थाले नागरिकमा नैरास्थता त छँदैछ, पार्टी निर्माणकर्ताहरु पनि अहिलेको यो विवाद टुलुटुलु हेरेर बस्न बाध्य छन्।

यसै सन्दर्भमा माले र माक्सवादी पार्टीको एकताबाट एमाले निर्माण शाखाका संस्थापक नेता हिरण्यलाल श्रेष्ठसँग केन्द्रबिन्दुकर्मी विकास आचार्यले गरेको संवादको सम्पादित अंशः

तपाईं माले र माक्सवादी पार्टीको एकताबाट एमाले निर्माण शाखाका संस्थापक नेता पनि हुनुहुन्छ तर, अहिले पार्टी यस्तो अवस्थामा छ, कस्तो लागिरहेको छ, यस्तै पार्टीको परिकल्पना गर्नु भएको थियो?

थिएनौं, पहिलो त दुई तिहाई हाम्रो पार्टीले पचाउन नसकेको हो। अस्थिरता भयो भनेर जनताले दुई तिहाई दिए, त्यसलाई आफ्नै कारणले पचाउन सकेनन् नेताहरुले। 

दोस्रो आत्ममुखी, अहंकारी सर्वशक्तिशाली शासक हुने महत्वांकाक्षा प्रधानमन्त्री केपी ओलीले लिए। हामीलाई बलियो प्रधानमन्त्री चाहिएको थिएन । हामीलाई बलियो कानुनी राज चाहिएको थियो । संविधानको सर्वोच्चता चाहिएको थियो। तर प्रधानमन्त्रीलाई व्यक्तिगत अहंकारले थिच्यो, त्यसो गर्नु हुँदैनथ्याे। 

अर्को चाहिँ सामुहिक नेतृत्वको सिद्धान्त छोडेर व्यक्तिवाद लागेको हुनाले यो समस्या आएको हो। तेस्रो कुरा प्रधानमन्त्रीले जे गर्दा पनि राष्ट्रपतिले साथ दिन नहुने थियो। कानूनसंवत बाहेक अन्य कुरालाई राष्ट्रपतिले प्रधानमन्त्रीको साथ दिनै नहुने थियो।

प्रधानमन्त्रीको गुटको कार्यकर्ताको रुपमा राष्ट्रपति रहनुले आज अस्तो अवस्था आएको हो। राष्ट्र,जनता र संविधानको रक्षक बन्नु पर्ने राष्ट्रपतिको त्यस्तो भूमिका रहेन।

र अर्को चाहिँ हाम्रो राजनीति हामी नेता पीडित हुन पुग्यौं, कहाँ कहाँ त्रुटि छ भनेर छलफल हुनु पर्नेमा सबै एकसे एक बलियो हुन खोज्नु भयो। 

अहंकारी सर्वशक्तिशाली शासक हुने महत्वांकाक्षा प्रधानमन्त्री केपी ओलीले लिए। हामीलाई बलियो प्रधानमन्त्री चाहिएको थिएन । हामीलाई बलियो कानुनी राज चाहिएको थियो । संविधानको सर्वोच्चता चाहिएको थियो। तर प्रधानमन्त्रीलाई व्यक्तिगत अहंकारले थिच्यो, त्यसो गर्नु हुँदैनथ्याे। 

शासनको लगाम जनताको हातमा हुनुपर्थ्याे, जस्तो कि राम्रो काम नेतृत्वले गरेन भने बहुमत मतदाताको हस्ताक्षर गरि फिर्ता बोलाउने(राईट टु रिकल)को व्यवस्था हुनु पथ्र्यो। तब नेतृत्व जनतासँग डराउँथे, र भष्ट्रहरु तह लाग्थे।

मेरो अहिले पनि मान्यता प्रतिनिधिसभाका सदस्य सबै जनताबाट निर्वाचित मात्रै हुनुपर्छ, समानुपातिकको नाममा चन्दा दिने, नाता कुटुम्बलाई सांसद बनाएपछि न उनीहरु राज्यको रखवाला बन्न सक्ने भए न गलत कुराको विरोध गर्न सक्ने भए। अहिलेको समानुपातिक संसदको भूमिका हेर्नुस् त, यी र यस्ता कमजोरीका कारण कम्युनिष्ट पनि कम्युनिष्ट जस्ता भएनन्।

र अर्को चाहिँ जनताको हातमा शासनको लगाम दिनु पथ्र्याे, विदेशी र शक्ति केन्द्रको हातमा लगाम थमाइनुले अहिलेको परिस्थिति आएको हो।

नेकपा एमालेमा अहिलेको परिस्थिति निम्त्याउन सबैभन्दा बढी दोष कसको देख्नु हुन्छ?

यस्तो त केहि नेताहरुले सामुहिकरुपले परस्पर विश्वास र सहयोग दाबी गर्न नसकेको र सामुहिकता बलियो बनाउन नसकेको दोष छ भने मूलरुपले अहिले समस्याको जड चाहिँ प्रधानमन्त्री सर्वशक्तिशाली हुन खोज्ने, मिलेर जान नसक्ने, आफूलाई यस सर भन्ने जमातमा रमाउने ती कमजोरीका साथ सबैभन्दा बढी दोषी केपी ओली नै हुन्।

अहिले पार्टीमा माधव पक्ष समानान्तर कमिटी विस्तार गर्ने ओलीको कदमको विरोध गर्ने तर पार्टीबाट अलग नहुने गरि अघि बढेको छ र ओली पक्ष माधव पक्षलाई पेलेर जान खोजिरहेको छ, यसलाई के भन्नु हुन्छ?

अब, मेरो भनाई चाहिँ सकभर मिलेर जानु पर्छ, त्यसको सम्भावना भएन भने फेरि सहमतिमै छुटिनु पर्छ। तर, सधैं किचकिच गरेर कोहि पनि काहिँ बस्नु हुँदैन।

०५४ सालमा तपाईं आफू पनि पार्टीको कारवाहीमा पर्नु भएको थियो । तत्कालीन महासचिव माधव नेपालको सिफारिसमा अहिले तिनै नेता पार्टीको साधारण सदस्य पनि रहनु भएन । कारवाहीले पार्टीलाई कहाँ पुर्याउँछ, विगतको नजिर र अहिलेको अवस्थालाई कसरी मुल्यांकन गर्नु भएको छ?

म लगायत बामदेव गौतम, चन्द्रप्रकाश मैनाली, साहना प्रधान, धनश्याम भूसाल लगायतलाई महाकाली सन्धीको विपक्षमा उभिएका कारण कारवाही भएको हो। महाकाली सन्धी मुल कारण हो। हामीले विपक्षमा भोट हालेका थियौं। हामीलाई कारवाही गरियो र माक्सवादी पार्टीबाट हामीले माले गठन गर्यौं।

पछि, ०५६ सालमा पुनः हामी मालेका बामदेवसहित म र केहि साथीहरु र माक्सवादी पार्टी एकिकरण भएर नेपाल माक्सवाद लेलिनवाद बनेको हो। म त्यसको संस्थापक नेता पनि हो।

कुरा यति हो कहिलेकाहिँ राम्रो कामको पछि लाग्दा पनि कारवाहिमा परिँदो रहेछ भन्ने उदाहरण म पनि हुँ।

अन्त्यमा, तपाईं एक पुरानो बामपन्थी नेता भएको नाताले के भन्न चाहनु हुन्छ ?

अहिलेको समस्था कोभिड नियन्त्रण हो । कोभिडसँग साझा संकल्प गरेर लडौं, कोभिड नियन्त्रणमा आएपछि राजनीति गरौंला ।

अर्को चाहिँ फेरि पनि टुट र फुट भएर जनतासामु जाँदा जनताले राम्रो मान्दैनन्। मिलेर जानु पर्छ।

मिल्नका लागि कताबाट कसले कति लचकता अपनाउने हो अपनाए हुन्छ। म एक्लै गएर देखाउँछु भन्ने भ्रम कसैले नपाले हुन्छ। जनता अहिले बाठा भइसके।

Logo