एमसीसीको विरोध गर्नेहरूसँग कुनै अर्थपूर्ण तर्क नै छैनः सुवेदी

एमसीसीको विरोध गर्नेहरूसँग कुनै अर्थपूर्ण तर्क नै छैनः सुवेदी


एमसीसी अर्थात् मिलेनियम च्यालेन्ज कर्पोरेसनका कारण यति बेला सिंगो देश नै दुई भागमा खण्डित भएको छ । 

एमसीसीको विषयमा विभिन्न किसिमका बहसहरू भइरहेका छन् । एमसीसी नेपालको हितमा भएकाले कार्यान्वयनमा ल्याउनुपर्ने वा यो राष्ट्रघाती कदम भएकाले अस्वीकार गर्नुपर्ने दुवैको पक्षको जमात उत्तिकै छ ।

सन् २०१७ सेप्टेम्बर १४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमसीसीका तर्फबाट कार्यवाहक सिइओ जोनाथन नाशलले एमसीसीमा हस्ताक्षर गरेका थिए । पछि सन् २०१९ सेप्टेम्बर २९ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेका थिए । 

एमसीसी सम्झौतासम्बन्धी विषय संसद्मा नउठाएको भन्दै राजनीतिक दलहरूको आलोचना हुने कार्यसमेत हुँदै आएको छ । यता प्रचण्डका कारणले एमसीसी सम्झौता संसद्मा पेस हुन नसकेको नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।

मंगलबार एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता बाँस्कोटाले तत्कालीन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्नि सापकोटाले एमसीसी सम्झौता ढुसी पारेर राखेको टिप्पणी गरे । “महराजीले पनि पेन्डिङमा हाल्दिनु भो । अग्नि सापकोटाजी पनि घर्रामा ढुसी पारेर राख्दिनु भो, निकाल्दै निकाल्नु भएन’ उनले भने ।
त्यसो त एमसीसीका विषयमा विभिन्न स्थान र तहहरूमा आआफ्नै तरिकाले बहस हुँदै आएका छन् । 

प्रस्तुत छ, भूराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीसँग एमसीसीकै विषयमा केन्द्रित रहेर केन्द्रबिन्दुकर्मी निकेश बरालले गरेको संवादको सम्पादित अंशः

तपाईंको बुझाइमा अन्य वैदेशिक सहयोग र एमसीसी बिचको फरक के हो ?

वैदेशिक सहयोग र एमसीसीका बिच खास फरक छैन । एमसीसीमा भन्दा कडा सर्तहरू भएका अन्य सहयोगहरू पनि नेपालले भित्र्याइसकेको छ । तर अन्य वैदेशिक सहयोगबाट प्राप्त परियोजनाहरू नेपालको कानुनसँग बाझिने अवस्था आएकाले समयमा सम्पन्न हुन सकेका छैनन् । एमसीसी भने एक विशिष्ट कानुनको रूपमा लागू हुने भएकाले नेपालको कानुनले कुनै पनि अवरोध गर्न सक्दैन । जसले गर्दा यो लक्षित समयमा काम सम्पन्न हुने निश्चित छ । 

एमसीसीबाट नेपालले वा अझ भनौँ नेपाली जनताले लिन सक्ने ठूला लाभहरू के के छन् वा हुन सक्छन् ?

एमसीसी भनेको पूर्वाधारसँग जोडिएको कार्यक्रम हो । यसले समेट्ने मुख्य कुरा भनेको सडकभन्दा पनि प्रसारण लाइनसँग सम्बन्धित छ । प्रसारण लाइनबाट हुने सबैभन्दा ठूलो फाइदा भनेको सम्पूर्ण कार्यहरू सकेर पनि केन्द्रीय प्रसारण लाइनसँग जोडिन नसकेका कर्णाली र भेरी आसपासका करिब ४५ सय मेगावाटका ठूला परियोजनाहरू केन्द्रीय प्रसारण लाइनसँग जोडिन पुग्छन् ।

एमसीसी साँच्चै नेपाल र नेपाली जनताको हितका लागि हो भने यसको चौतर्फी विरोध किन भइरहेको छ ?

एमसीसीको विरोध गर्नेहरूसँग कुनै पनि अर्थपूर्ण तर्क नै छैन । एमसीसीको विषयलाई लिएर केही व्यक्तिहरूले विगतमा व्यक्त गरेको गलत धारणालाई प्रतिष्ठाको विषय बनाए त्यही रायलाई अघि बढाइरहेका छन् । त्यसले गर्दा विरोध एमसीसीको विरोध गर्नेहरूले अमेरिकाप्रति राख्ने धारणा र उनीहरूको दृष्टिकोणमा भएको संकुचनका कारण मात्र विरोध भइरहेको छ । एमसीसीका कारकहरूलाई हेर्दा आपत्ति जनाउनु पर्ने कुनै पनि कारणगर्नेहरूको बौद्धिक क्षमता स्खलित भइसकेको प्रस्ट हुन्छ ।

तपाईंको दृष्टिकोणबाट हेर्ने हो भने नेपालमा एमसीसी किन आउनुपर्छ ?

सर्वप्रथम त प्रसारण लाइनलाई पूर्णता दिनका लागि एमसीसी आउनुपर्छ । नेपालमा प्रसारण लाइनको न्यूनताले हाम्रो धेरै परियोजनाहरू थन्किएर बसेका छन् । जसले गर्दा औद्योगीकरणमा मात्र समस्या हुने हैन, उत्पादन भइसकेका विद्युत्समेत केन्द्रीय प्रसारण लाइनसँग जोडिन नसकेर खेर गइरहेको अवस्था छ । यो अवस्थामा हामी भारतबाट विद्युत् खरिद गर्न बाध्य छौ । 

यस किसिमको विरोधले गर्दा हाम्रो भारत माथिको निर्भरता झनझन बढ्दै गइरहेको अवस्था छ । यो प्रसारण लाइनलाई जोड्नासाथ भारतको उत्तर प्रदेश र विहारको पिक आवरको निर्भरता नेपालमा आउँछ । यसरी भारत नेपालमा निर्भर रहने भन्ने कुरा छ, जुन साँच्चै नै अर्थपूर्ण पक्ष पनि हो ।

एमसीसीसँग जोडिएर सैन्य शक्तिका विषयहरू पनि बहस हुने गरेका छन् । यो विषयमा पनि केही भनिदिनुस् न ।

एमसीसीका विरोधीहरूले जोड्दै आएका सैन्य शक्तिका कुराहरू विरोधमै मात्र सीमित छ । यो हल्ला मात्र हो । यस्तो कुराहरू एमसीसीमा कतै पनि उल्लेख गरिएको छैन । त्यहाँका सर्तहरू पल्टाएर हेर्ने हो भने प्रस्ट रूपमा ४ वटा बुँदाहरू उल्लेख गरिएको छ । सामान्य लेखपढ गर्न सक्नेहरुले यो कुरा बुझ्न सक्छ ।

एमसीसी नेपालमा भित्रिए चीनले सहयोग गर्न छाड्छ र नेपालको आर्थिक अवस्था डामाडोल हुन्छ भन्ने तर्कहरू पनि बहसका विषय बनेका छन् । यसमा तपाईँको भनाई के छ ?

चीनले एमसीसीको कुन कारकमा असमझदारी जनाएको छ ? मंगोलियामा एमसीसी अन्तर्गतको पहिलो चरणको काम सकिएर दोस्रो चरण सुरु भइसकेको छ ।

एमसीसीमा विरोध गर्नुपर्ने त्यस्तो केही पनि छैन । जसलाई गरिबिको खेतीबाट आफ्नो राजनीतिको पक्षपोषण गर्नुपर्ने छ, उनीहरूले चलाएको हल्ला मात्र होे यो ।

चीनले अहिलेसम्म आधिकारिक रूपमा केही बोलेकै छैन । अनि विरोधीहरू आफै चिनियाँ राजदूत बन्न खोज्ने ? त्यस्तो केही भएको भए त हामीलाई पनि थाहा हुनुपर्ने हैन र ?

Logo