‘मण्डनदेउपुरको मुहार फेर्नका लागि मेरो उम्मेदवारी हो’: विष्णुमणि नेपाल (उपमेयर उम्मेदवार)

‘मण्डनदेउपुरको मुहार फेर्नका लागि मेरो उम्मेदवारी हो’: विष्णुमणि नेपाल (उपमेयर उम्मेदवार)


काभ्रेको मण्डनदेउपुर नगरपालिकामा यतिबेला कुनै उम्मेदवारको चर्चा छ भने ती हुन् विष्णुमणि नेपाल । हालका नेपाली कांग्रेस नगर उपसभापति एवं वडा नं. १० का निवर्तमान वडाध्यक्ष विष्णुमणि नेपालले सत्ता गठबन्धनका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएपछि उनको चर्चा मात्र भएको छैन, लोकप्रियता पनि उतिकै बढेको छ।

गएको ०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा नं. १० को वडाध्यक्षमा विजयी भएका नेपालले यसपटक भने नगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । 

आफ्नो ५ वर्षे कार्यकालमा निकै लोकप्रियता कमाएका नेपाल युवाहरु माझ चर्चामा छन् । उनले आफ्नो कार्यकालमा मण्डनदेउपुरका १२ वटा वडामध्ये १० नम्बर वडालाई विकासका हरेक गतिविधिहरुसँग जोडेका छन् । राजनीतिलाई समाजसेवाको रुपमा अघि बढाउनु पर्छ भन्ने मान्यता राख्ने नेपालले आफूले उपमेयरमा जिते सम्पूर्ण नगरलाई नमूना बनाउन लागिपर्ने बताए।यसपटक हामीले उनै उपमेयरका उम्मेदवार विष्णुमणि नेपालसँग कुराकानी गरेका छौं ।

तपाईंको उम्मेदवारी के का लागि ?

मण्डनदेउपुर नगरका नागरिक यसअघि हरेक समस्याले ग्रसित थिए। सदरमुकाम नजिकै भएरपनि विकासमा यो नगर निकै नै पछि परेको थियो । विगत ५ वर्षमा केही राम्रा कामको सुरुवात भएका छन् । तर ती सबैलाई पूर्णता दिन सकिएको छैन । मेरो उम्मेदवारी आफू वडाध्यक्ष हुँदा सुरु भएका कामलाई पूर्णता दिन र मण्डनदेउपुरको मुहार फेर्न सकिन्छ कि भन्नका लागि हो । 

यसपटक नगरपालिकामा तपाईंले जित्ने आधार के छन् ?

मैले नै जित्नै पर्छ पनि म भन्दिनँ । तर जनताको स्वविवेकले पक्कै राम्रो मान्छे खोज्छ भन्ने लागेको छ । विगतमा वडाध्यक्ष हुँदा जे गर्न सकें त्यो पर्याप्त होइन । धेरै काम गर्न बाँकी छ। एउटा वडामा निकै कामको सुरुवात भए। अब तिनै काम नगरपालिकामा किन नगर्ने भन्नका लागि मैले उम्मेदवारी दिएको हुँ। म धेरै कुरा गर्न चाहन्नँ तर नागरिकको जनभावनामा पक्कै पनि खेलबाड गर्ने छैन ।

नगरपालिकामा तपाईंको अलि बढी नै चर्चा भएको छ, किन होला ? के छ तपाईंसँग त्यस्तो ? 

यो त मैले भन्ने कुरा होइन । जनताले कामको मूल्यांकन गर्नु भएको होला शायद । र तपाईंले भन्नु भएजस्तो त्यति धेरै चर्चा भए जस्तो त मलाई लागेको छैन तर अब नागरिकलाई युवाको नेतृत्व चाहिएको भने प्रष्टै बुझ्न सकिन्छ । त्यसैले पनि उहाँहरुले म बाट केही अपेक्षा राख्नु भएको हुन सक्छ।

तपाईंले अघि सार्नु भएका के एजेण्डा छन् , जसले तपाईंलाई जिताउने भूमिका खेल्न सक्छन् ?

कुनै पनि काम गर्छु भनेर मात्र हुँदैन । मैले यसअघि वडाध्यक्ष हुनु भन्दा पहिले राजनीतिक दलको कुनै ठूलो जिम्मेवारी पदमा नरहेर पनि  आफ्नै पहलमा केही विकासका कामहरुमा सक्रियता देखाएको थिएँ । जुन कुरा यहाँका वासिन्दाले राम्ररी बुझ्नु भएको छ। वडाध्यक्ष भएपछि केही थप नयाँ कामहरु गरियो । अब अवसर पाएँ भने थप जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। 

यसअघि पनि मण्डनदेउपुरमा यस्तै भन्नेहरु आएका थिए तर कसैले पनि भनेअनुशार गरेनन् भन्ने यहाँका नागरिकको गुनासो छ । अब तपाईंलाईं पनि कसरी विश्वास गर्ने ?

यसअघिका नेतृत्वकर्ताहरुले आफ्ना प्रतिबद्धताहरु विर्सिए । मण्डनदेउपुरले कुन नेतृत्व पाएन र ? संविधानसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, राज्यको फूल मन्त्रीदेखि लिएर देशका केही महत्वपूर्ण राजनीतिक नेतृत्वमा यहाँबाटै पुगेकाहरु थिए । तर उनीहरुले विगतमा जनभावनाविपरित काम गरेका उदाहरण धेरै छन् । म अहिले ती कुरा उठाएर नागरिकलाई निराश बनाउन चाहन्नँ । सबै कुरा यहाँका नागरिकलाई थाहा छ। अब मण्डनदेउपुरवासी निकै सचेत भइसकेका छन् । निष्पक्ष मूल्यांकन गर्न सक्ने नागरिकलाई म यो गर्छु र त्यो गर्छु भनेर झुटो आश्वासन दिन्नँ । जे गर्न सक्छु त्यहि मात्र बोल्छु । अरु जस्तो गफ गरेर काम नगर्ने बानी म सँग छैन । मैले अघि नै भनिसकें, नागरिकलाई धोका दिन मैले उम्मेदवारी दिएको हुँदै होइन । बाँकी कुरा त मण्डनदेउपुरवासीको हातमा छ । 

विकासका काम केही नै भएनन् त म भन्दिनँ तर जति हुनु पर्ने थियो , सम्भावना धेरै भएरै पनि त्यो हुन सकेन । त्यसैले गर्दा जनताले शंका गर्नु परेको हो । तर अहिले नागरिक सचेत भइसकेका छन् । युवापुस्तामा नेतृत्व गयो भने आफ्नो ठाउँको मुहार फेरिन्छ भन्ने यहाँका नागरिकले बुझिसकेका छन् ।

मण्डनदेउपुरले कुन नेतृत्व पाएन र ? संविधानसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, राज्यको फूल मन्त्रीदेखि लिएर देशका केही महत्वपूर्ण राजनीतिक नेतृत्वमा यहाँबाटै पुगेकाहरु थिए । तर उनीहरुले विगतमा जनभावनाविपरित काम गरेका उदाहरण धेरै छन् ।

अहिले राजनीतिप्रति सबै नागरिकको वितृष्णा जागेको छ । कसलाई भोट दिए के हुन्छ र भनेर नागरिक निराश पनि भएका छन् । यस्तो अवस्थामा मतदाताहरुलाई भोट खसाल्न जाने वातावरण कसरी बनाउने ?

तपाईंले भन्नु भएको कुरा एकदमै सहि हो । खासमा राजनीति खराब विषय होइन । यो त राज्य चलाउनका लागि अनिवार्य नीति हो । विगतमा उच्च नेतृत्व वर्गले राजनीतिको गलत फाइदा उठाएका कारण नागरिकमा वितृष्णा जागेको निश्चित हो । अब युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्ने बेला आएको छ । युवापुस्ताले काम गर्ने जाँगर पनि बोकेका हुन्छन् । म सबै मतदाताहरुलाई आफ्नो भोट खसाल्ने अधिकारको प्रयोग गर्नुहोला भन्ने अनुरोध गर्न चाहन्छु । विगतका कुरा विर्सिएर नयाँ जोश बोकेका युवापुस्तालाई काम गर्ने अवसर दिनुभयो भने आगामी दिनमा निराश हुनु पर्ने अवस्था आउँदैन । अहिलेका मतदाता धेरै सचेत भइसकेकाले को मान्छे कस्तो छ भनेर उनीहरुले छानीसकेका छन् । त्यसैले यस चुनावमा उनीहरुको उत्साहजनक सहभागिता रहने छ भन्ने मैले विश्वास लिएको छु । 

त्यसका लागि यहाँहरुको भूमिका चाहिं के रहन्छ ?

स्थानीय चुनावको मिति नजिक आउँदै गर्दा मतदाताहरु आफैं उत्साहित भएका छन् । कहिले चुनाव आउला र भोट खसाल्न पाइएला भनेर मिति कुरेर बसेका छन् । तैपनि हामीहरु चुप लागेर बसेका छैनौं । कसरी मतदाताहरुलाई सिकाउने भनेर सक्रिय पनि भएका छौं । अहिलेका स्थानीय निकायहरु धेरै अधिकार सम्पन्न भएकाले नागरिकमा यो कुरा सिकाउनु जरुरी छ । हामीहरु यस्ता धेरै कुराहरु बुझाउने र सिकाउने प्रयास गरिरहेका छौं । 

यहाँले समाजसेवाका लागि आफूले उम्मेदवारी दिएको भन्नु भयो, यसका लागि कुनै दलको नेता नै हुनु पर्ने रहेछ होइन त ? 

कुरा त्यस्तो होइन, मैले अघि पनि भनिसकें । यसअघि म कुनै राजनीतिक दलको ठूलाे पदमा नबसेरै पनि विकास निर्माणका धेरै काम गरिसकेको छु। तर यतिले मात्र त पुग्दैन नि । भोलि थप काम गर्न र माथिल्लो निकायमा गएर आफ्ना ठाउँका समस्याहरु राखेर समाधानका उपाय निकाल्न त राजनीतितिर लाग्नै पर्ने रहेछ। नेपालको परिवेश नै त्यस्तै भएकाले पनि मैले यसरी उम्मेदवारी दिनु परेको हो । यो अवस्थाको बारेमा सबैलाई राम्ररी थाहा छ। राजनीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागी हुन युवाहरुलाई अनुरोध गर्दछु । हाम्रा नवजवानहरुमा विदेशलाई नै सुरक्षित भूमि सोचेर बाहिर जाने परिपाटि छ, राजनीतिले यसलाई चिर्नु पर्दछ। यो राष्ट्रिय कुरा हो तैपनि सुरुवात गर्न सकियो भने यो नमुना हुन्छ देशको लागि नै योगदान रहन्छ।

अर्को कुरा स्थानीय सरकार नगरवासीको दैनिकीसँग जोडिने हुनाले यो पालिका मेरो हो म यहाँ जाँदा सजिलोसँग काम गर्न पाउँछु र जन प्रतिनिधि भनेका हाम्रा सहयोगी हुन्, यिनीहरुले हामीलाई सहयोग मात्र गर्दछन्। यो कुरा अनुभूत हुने गराउनु पनि मेरो उद्देश्य हो ।

समय दिनु भयो, यहाँलाई धन्यवाद । 

मलाई पनि आफ्ना विचारहरु राख्ने अवसर दिनु भएकोमा यहाँलाई र यहाँकाे संचारमाध्यमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।  

Logo