स्थानीय निर्वाचनमा ५० प्रतिशतभन्दा माथिको परिणाम ल्याउँछाैं : शंकर पोखरेल

स्थानीय निर्वाचनमा ५० प्रतिशतभन्दा माथिको परिणाम ल्याउँछाैं : शंकर पोखरेल


स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान हुने दिन नजिकिँदैछ। वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घरमा गएर आफ्नो पक्षमा मत मागिरहेका छन् । पाँचदलीय सत्ता गठबन्धनको एकातिर चुनावी तालमेल छ भने अर्कोतिर प्रतिपक्षी नेकपा एमाले एक्लै गठबन्धनका विरुद्ध चुनाव लड्दैछ। २०७४ सालको निर्वाचनमा ४० प्रतिशतभन्दा बढी मतका साथ पहिलो दल बनेको एमालेलाई यो निर्वाचनमा गठबन्धनसँग लड्न सहज भने छैन । तर एमाले यो निर्वाचनमा ५० प्रतिशतमाथिको जीत हासिल गर्ने दाबी गर्दै आएको छ। नेकपा एमालेका महासिचव शंकर पोखरेलसँग गरिएको निर्वाचन केन्द्रित कुराकानीको सारसंक्षेप । 

स्थानीय निर्वाचन केन्द्रित चुनावी प्रचारप्रसार एमालेले कसरी चलाइरहेको छ ? 

नेकपा एमालेको नेतृत्वको सरकारलाई विस्थापन गर्ने र मुलुकलाई अस्थिरतातर्फ लैजाने नीतिहिन अवसरवादी गठबन्धनका माध्यमबाट मुलुकको राजनीतिलाई कमजोर बनाउने जे खेल भएको छ। त्यसका विरुद्धको चुनावको रुपमा हामी चुनावको तयारीमा जुटेका छौं। स्थानीय तहको चुनावको माध्यमबाट हामी नेकपा एमालेलाई राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने योजनामा छौं। त्यसको बलियो सम्भावना र आधार तयार भएको छ। यो चुनावमा ३ वटा मान्यताहरू एमाले पङ्तिभित्र स्थापित भएका छन्। पहिलो कुरा हरेक नेता कार्यकर्ताले आफ्नो वडाको जिम्मा लिने । ‘म जिताउँछु मेरो वडा। हामी जिताउँछौं हाम्रो पालिका ।’ हाम्रो चुनावी क्याम्पियन मूलतः स्थानीयकरण भएको छ। सबै नेता कार्यकर्ताहरू आफ्नो पालिका र वडामा केन्द्रित हुनुभएको छ। दोस्रो सन्दर्भ चैँ स्वभाविकरुपमा यो चुनावको समयमा एउटा नयाँ भावना पार्टी पङ्तिभित्र विकसित भएको छ। ‘टिकट पाए म जितेर देखाउँछु, टिकट नपाए जिताएर देखाउँछु ।’ यो एमालेको भावनाका रुपमा अगाडि आएको छ। यसले पार्टीलाई एकतावद्ध बनाउने कुरामा सहयोग पुर्‍याएको छ। तेस्रो कुरा हामीले यो बीचको अवधीमा नेकपा एमाले सिङ्गो राष्ट्रको स्वीकार्य शक्तिको रुपमा। राष्ट्रिय शक्तिको रुपमा स्थापित हुने प्रक्रियामा छ। त्यसर्थमा हामीले एकता र एकीकरणको प्रकृयालाई पार्टी प्रवेश अभियानका रुपमा अगाडि बढाएका छौं। जसले हाम्रो पार्टीलाई चुनाव जिताउने मात्रै होइन सिङ्गो प्रतिनिधिमूलक पार्टीका रुपमा राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने कुराको आधार तयार गर्दैछ। त्यो दिशातर्फ चुनावको क्याम्पेयन अगाडि बढिरहेको छ।

गएको निर्वाचनमा एमाले पहिलो दल बनेको थियो । त्यो उपलब्धीलाई कसरी जोगाउने तयारी छ ? मूलतः निर्वाचनमा एमालेको ‘कमब्याक’ कसरी हुन्छ ? 

स्थानीय चुनावमा नेकपा एमालेले विगतमा जे जनमत प्राप्त गरेको थियो त्यो ‘लुज’ कति गर्छ। माधव नेपाल पक्षले कति क्षति पुर्‍याउला भन्दाखेरि त्यो क्षति पुर्‍याउने संख्या अत्यन्त नगन्य छ । किनकी उहाँहरूले दलको विभाजन जनप्रतिनिधिमार्फत गर्न सक्नुभएन । उहाँहरूले गरेको विभाजन पार्टी केन्द्रीय कमिटी मार्फत गर्नुभयो । त्यो पनि कानुन बदलेर अध्यादेशका माध्यमबाट गर्नुभयो । सामान्यतया पार्टी प्रणालीभित्र के जोसँग बहुमत छ पार्टी त्यसैका पक्षमा हुन्छ भन्ने एउटा प्रचलित अभ्यास र मान्यता छ । अर्कोतर्फ हामीले स्वभाविकरुपमा बुझ्ने कुरा स्थानीय तहमा जुन सनाखत गर्ने समयमा १० प्रतिशतभन्दा कमले मात्र विभाजनका पक्षमा सनाखत गरे । त्यसको ठूलो हिस्सा फर्कि नै सकेको छ। पार्टी सदस्यता नवीकरण गर्दा चार प्रतिशतले मात्रै नवीकरण गरेनन् । सबै नवीकरण गर्नेहरू विभाजनका पक्षमा भन्न मिल्दैन । त्यसर्थमा नवीकरण नगर्नेहरूको संख्यालाई आधार बनाउने हो भने दुई तीन प्रतिशतको हाराहारीमा मात्रै नवीकरण नहुनेहरू चैँ त्यता लागेका हुन सक्छन् भनेर अनुमान गर्न सकिन्छ।

मतदाताको तहमा जाँदा मतदाताको मनोविज्ञान कसले चुनाव जित्ने भन्ने कुरामा बढी केन्द्रित हुन्छ। सामान्यतया हार्नेलाई आम मतदाताले मतदान गर्दैनन्। कार्यकर्ताहरू आफ्नो पार्टी रोज्छन् । आम मतदाताले जित्ने उम्मेदवार खोज्छन् । कसले जित्छ त्यसका पक्षमा मतदान गर्छन् । त्यसर्थमा माधव नेपाल पक्षले हामीलाई हाम्रो जनाधारमा पुर्‍याउने क्षति अत्यन्त न्यून छ। अर्कोतर्फ जति क्षति पुर्‍याएको छ त्यो भन्दा धेरै हामीले माओवादी केन्द्रतर्फको जनाधारबाट थुप्रै लाभ लिन सक्ने आधार तयार गरेका छौं । किनकी अहिले नेकपा एमालेभित्र केन्द्रीय कमिटीमै झण्डै ३ दर्जनको हाराहारीमा केन्द्रिय नेतृत्वमा माओवादी केन्द्रबाट आउनुभएका साथीहरू हुनुहुन्छ। स्थानीय तहसम्म यो फराकिलो दायरामा विस्तार भएको अवस्था छ। त्यसअर्थमा हामीले झण्डै माओवादीको जनाधारबाट २५/३० प्रतिशतको हाराहारीमा जनमतलाई आफ्नोतर्फ आकर्षित गर्न सफल भएका छौं।

अर्कोतर्फ तराई मधेशमा जुन प्रकारको हिजो हामी प्रवेशै गर्न नपाउने अवस्था थियो । त्यो अवस्था आज अन्त्य भएको छ। तराई मधेशमा हामीले सरकारका माध्यमबाट गरेका कामहरूको प्रभाव तराईका जनताहरूमा उल्लेख्य मात्रामा परेको छ। आज हामी तराईमा पहिलो शक्तिका रूपमा स्थापित भएका छौं। यो अर्थमा आउने चुनाव नेकपा एमाले पहिलो पार्टी होइन मुलुकको पहिलो र महत्वपूर्ण राष्ट्रिय शक्तिका रुपमा स्थापित हुने हिसाबले । भविष्यमा तीन वटै तहका सरकार नेतृत्व गर्ने पार्टीका रुपमा नेकपा एमाले जनताका मनमा स्थापित भइसकेको छ ।

एकातर्फ सत्ता गठबन्धन छ। अर्कोतर्फ एमाले एक्लै चुनावी मैदानमा छ। यस्तो अवस्थामा यो निर्वाचनबाट एमालेले कसरी जीत हासिल गर्छ, एमालेको आँकडा के छ ? 

अहिले जुन प्रकारको लहर देखापरेको छ। यो लहरको आधारमा हामीले गर्ने अनुमानभन्दा पनि परिणाम अझ सकारात्मक हुने अवस्था देख्छु म । जसरी विगतमा हामीले ६ वटा महानगरमध्ये दुईवटा मात्रै जितेका थियौँ। अहिले महानगरमा चमत्कार नै हुने अवस्था देखिएको छ। हामीले कुनै महानगर हार्ने अवस्था देखिँदैन । यद्यपी चुनाव हो। चुनावी अन्तिम परिणाम के हुन्छ भन्ने कुरा त चुनावको प्रतिक्षा गर्नुपर्छ । तर हरेक ठाउँमा उभार छ । चुनाव जित्ने सम्भावना प्रवल बनेको छ। 

हामीले स्वभाविकरुपमा बुझ्ने कुरा स्थानीय तहमा जुन सनाखत गर्ने समयमा १० प्रतिशतभन्दा कमले मात्र विभाजनका पक्षमा सनाखत गरे । त्यसको ठूलो हिस्सा फर्कि नै सकेको छ। पार्टी सदस्यता नवीकरण गर्दा चार प्रतिशतले मात्रै नवीकरण गरेनन् । सबै नवीकरण गर्नेहरू विभाजनका पक्षमा भन्न मिल्दैन ।

यसैपनि एकप्रकारको उभार छ। त्यसर्थमा अहिलेको अवस्थालाई हेर्दा २०५४ सालमा हामीले जुन हिसाबले मनमोहन अधिकारीको नेतृत्वको सरकार ढालेपछि जनतामा जुन प्रकारको मनमोहन अधिकारी वा नेकपा एमालेप्रति आकर्षण वृद्धि भएको थियो, अहिले केपी ओली नेतृत्वको सरकारलाई काम गर्न नदिएपछि त्यस्तै प्रकारको आकर्षण जनतामा नेकपा एमालेप्रति देखिन्छ। त्यतिबेला हामीले झण्डै दुई तिहाई स्थानमा विजय हासिल गरेका थियौँ । अब अहिले त्यसकै हाराहारीमा हामी पुग्ने सम्भावना छ। यो चुनावमा हामी ५० प्रतिशत भन्दा माथिको परिणाम प्राप्त गर्न सक्छौं।

महानगरको प्रसङ्ग उठाउनुभयो । विगतमा २ महानगर मात्रै एमालेले जितेको थियो । के एमाले ६ महानगरमध्ये केही महानगरमा कमजोर छ भन्ने तपाईंहरूको आकलन हो ?

पहिले हामीले केही महानगरमा कमजोर छौं कि भन्ने खालको आँकलन नभएको होइन। किनकी हामीले विगतमा २ वटा मात्रै महानगर जितेका थियौँ। तर पछिल्लो समय कस्तो अवस्था उत्पन्न भएको छ भन्दा हरेक महानगरबाट आइरहेका रिपोर्टहरूले सबै ठाउँ हाम्रो अवस्था अत्यन्त सुधार भएको छ। सबैतिर हामीले जित्ने सम्भावना प्रवल बनेको छ ।

निर्वाचनका लागि टिकट वितरण गर्ने सन्दर्भमा पोखरा महानगरमा पहिले अर्कै व्यक्तिलाई टिकट दिइएको थियो । अन्तिममा अर्कैलाई टिकट दिइयो । यो घटनाले परिणाममा के असर गर्छ ?

पोखरा त हाम्रो बलियो संगठनात्मक आधार भएको ठाउँ हो । त्यहाँ त हामीले हार्ने सम्भावनाको कुरा नै छैन । मात्रै के हो भने कार्यकर्ताको चाहना र आकाङ्क्षाहरूबीचको छनौटको प्रकृयामा अलिकति जटिल बनेको हो । त्यसलाई पार्टीले अन्तिमरुपमा निर्णय गरिसकेपछि सबै कार्यकर्ताहरू पार्टी निर्णयको पक्षमा परिचालित भइसकेको अवस्था छ। त्यहाँ पहिलेभन्दा अझ उत्कृष्ट परिणाम ल्याउछौं। अघिल्लो निर्वाचनमा हामीले दुई तिहाई वडाहरू जितेका थियौँ । त्यो भन्दा राम्रो परिणाम पोखरा महानगरमा हामीले प्राप्त गर्छौं।

तपाईंहरूले मधेशमा एमाले राम्रो भएको छ र पार्टीमा प्रवेश गर्नेहरूको लहर राम्रो छ भनिरहनुभएको छ । पहिलो दल होइन महत्वपूर्ण राष्ट्रिय शक्ति बन्छौं पनि भनिरहनुभएको छ । चुनावको समयमा पार्टी प्रवेशले मात्रै परिणाममा यति धेरै फरक ल्याउन सक्ला ? 

प्रवेश भनेको ध्रुवीकरणतर्फको सिम्बोल हो। राष्ट्रिय राजनीति ध्रुवीकरणतर्फ जाँदैछ। अब नेपालमा धेरै राजनीतिक दलहरू लामो समय अस्तित्वमा रहन सक्दैनन् । नेपालमा विकास र समृद्धिका सन्दर्भमा धेरै दलहरू हुनु आफैंमा चुनौती हो, बाधा हो । त्यसर्थमा जति धेरै दल त्यति धेरै नीति र विचलन । जति धेरै राजनीतिक दल त्यति धेरै अस्थिरता । जति धेरै राजनीतिक दल त्यति धेरै वैदेशिक चलखेल । यो हामीले व्यहोरेको पीडा हो । अब मुलुकलाई विकास र समृद्धिको बाटोमा स्थायित्वतर्फ लाने हो भने दलहरूको संख्यामा कटौती जरूरी छ । त्यसका लागि ध्रुबीकरण आवश्यक छ । नेपालको राजनीति मूलतः दुई ध्रुबतर्फ केन्द्रित भएको छ। एउटा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन । अर्को नेकपा एमालेको नेनृत्वमा नीतिगत स्पष्टतासहितको सहि दिशातर्फको यात्रा । जसलाई विकास र समृद्धिको यात्रा भन्न सक्नुहुन्छ । समृद्ध नेपाल सुखी नेपालीतर्फको राष्ट्रिय आकांक्षाको यात्रा भन्न सक्नुहुन्छ । ती दुईटा प्रवृत्तिका बीचको ध्रुबीकरण सुरू भएको छ । वास्तवमा गठबन्धन एमालेलाई रोक्नका लागि गरिएको प्रयास हो । त्यो असफल भइसकेपछि मुलुक बन्छ भन्ने कुराको सन्देश जनताका बीचमा सम्प्रेषण भइराखेको छ। नेपालमा हामी विकास र समृद्धिको कुरा गर्दा केपी ओलीलाई घेराबन्दीमा राख्ने प्रयास भएको छ। विकास र  समृद्धिको यात्रालाई रोक्ने जुन कोशिस भएको छ यो कोशिसलाई असफल पार्ने काम हामीले गर्‍यौँ भने मुलुक बन्ने प्रकृया सुरु हुन्छ । त्यो दिशातर्फ आम जनताको मूल पनि बनिरहेको छ। यो चुनावले मुलुकको भविष्यको एउटा रेखाङ्कन गर्छ भन्ने म ठान्छु। 

दुई पार्टीको ध्रुवीकरणको कुरा तपाईंले अहिले उठाउँदै आउनुभएको विषय हो। अहिले गठबन्धन भर्सेस एमालेको अवस्था छ। तपाईंले भनेको ध्रुवीकरण कस्तो हो ? 

माओवादी केन्द्र र माधव नेपाल पक्ष आफ्नो नीति कार्यान्वयन गर्ने पक्षमा रहनुभएन । उहाँहरू नेपाली कांग्रेसमाथि आश्रित रहनुपर्ने बाध्यता रह्यो । माओवादी केन्द्रले चुनावी घोषणापत्र जारी गर्ने आवश्यक पनि ठानेन । अब पच्चिस प्रतिशत उम्मेदवार खडा गरेर राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा त मजाकको विषय हो। त्यसर्थमा ध्रुवीकरण त सुरू भइसक्यो उहाँ कांग्रेसको सहयोगी बन्नुभयो । स्वतन्त्र अस्तित्व उहाँहरूले गुमाइसक्नुभयो । विचारका हिसाबले उहाँहरूले आफूलाई कम्युनिष्ट समाजवादी भन्नुहुन्छ । कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वको सरकार बनाउने काम गरिसकेपछि उहाँहरू कम्युनिष्ट आन्दोलनबाट विचलित पक्षका रूपमा रहनुभएको छ । त्यसर्थमा अबको राजनीति भनेको एमाले भर्सेस कांग्रेस हो । अथवा समाजवाद भर्सेस पूँजीवाद नै हो । अथवा स्थायीत्व भर्सेस अस्थिरता र नीतिगत नेतृत्व भर्सेस गठबन्धन । यो नेपालको राजनीतिका मुख्य प्रवृत्ति हुन् । 

प्रवेश भनेको ध्रुवीकरणतर्फको सिम्बोल हो। राष्ट्रिय राजनीति ध्रुवीकरणतर्फ जाँदैछ। अब नेपालमा धेरै राजनीतिक दलहरू लामो समय अस्तित्वमा रहन सक्दैनन्। नेपालमा विकास र समृद्धिका सन्दर्भमा धेरै दलहरू हुनु आफैंमा चुनौती हो।

मलाई लाग्छ नेपालको विकास र समृद्धिमा एउटा नीतिगत स्पष्टता जरुरी छ। विकास र समृद्धिका लागि सवल शक्तिको आवश्यकता छ। यो परिपेक्षमा नेकपा एमाले जनताको रोजाइ बन्दैछ भन्ने कुरालाई बुझ्नु आवश्यक छ। 

नेपालका कम्युनिष्टहरू एक ठाउँमा आउनुपर्छ भनेर तपाईंहरूले पार्टी एकता गरि नेकपा बनाउनुभयो तर, त्यो सफल हुन सकेन । अहिले फेरि स्थानीय चुनावपछि बाम एकता हुन्छ भन्ने पनि सुनिन थालेको छ । त्यो सम्भावना के छ ? 

हामी एकता एकीकरणको मूल प्रवृत्ति हौँ । अहिले पनि पार्टी प्रवेशको अभियान जुन चलाइरहेका छौं त्यो एकता एकीकरणको एउटा नयाँ प्रकृया हो । अहिले हामीले नेताका टाउका जोडेर एकता गर्ने कुरा असफल भयो। हामी कार्यकर्ताको मन जोड्न चाहान्छौं। कार्यकर्ताको भावना जोड्न चाहन्छौं। त्यसका माध्यमबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन चाहान्छौं भनेका छौं । त्यसर्थमा अहिले जुन प्रकारको ध्रुवीकरणको प्रकृया पार्टी प्रवेश मार्फत देखापरेको छ। यो त्यसकै संकेत हो। त्यसर्थमा बलियो कम्युनिष्ट पार्टी निर्माणको प्रकृया जारी नै छ । त्यो रोकिएको छैन । प्रचण्ड र माधव नेपालले त्यो यात्राबाट आफूलाई अलग गर्नुभयो । नेकपा एमाले त्यो यात्रा दृढ छ । 

नेपालका कम्युनिष्टहरू टुटफूटको इतिहास लामो छ। तपाईंहरूले कोशिस गर्नुभएको थियो तर, त्यो सफल हुन सकेन । यसरी कम्युनिष्टहरू एकापसमा लड्दा कम्युनिष्टको संख्या धेरै भएपनि फाइदा त कांग्रेसलाई भयो नि ? 

त्यस्तो मात्रै होइन। आज कांग्रेसले आफ्नो ऐतिहासिक विरासतलाई गुमाइसकेको छ। त्यसर्थमा राजनीतिको ध्रुवीकरणको जुन ट्रेन्ड देखापरेको छ। त्यो ट्रेन्डले अब नेपाली कांग्रेस असान्दर्भिक शक्तिका रूपमा रुपान्तरित हुने प्रकृयामा छ। स्वयं कांग्रेसका नेताहरूले नै त्यही विश्लेषण गरिरहनुभएको छ। शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेसको अस्तित्व संकटमा छ भनिराख्नुभएको छ। 

अर्कोतर्फ नेकपा एमालेको जुन धारा छ त्यो आमरुपमा एकता एकीकरणको धारा हो । त्यो फूट र विभाजनको धारा होइन । यद्यपी हामीकहाँ ०५४ सालको फूट ब्यहोर्‍यौँ । पछिल्लो समय माधव नेपालका माध्यमबाट हामीले अर्को फूट ब्यहोरेका छौं  तर, म तपाईंलाई के भन्न चाहान्छु त भन्दाखेरि हाम्रो मूल प्रवृत्ति एकता र एकीकरण हो । हामी एकता र एकीकरणलाई सफलतापूर्वक कार्यान्वयन गर्दै अगाडि बढेका छौं । त्यो झापा विद्रोहदेखि हाम्रो श्रृंखलालाई हेर्नुहुन्छ भने मूल प्रवृत्ति एकता र एकीकरण नै हो । हामीले पछिल्लो समय मालेबाट एमाले बनाउने प्रकृयामा मदन भण्डारीको नेतृत्वमा जसरी एकताको प्रकृया अगाडि बढायौँ । त्यो त पूर्णरूपमा सफल प्रयोग हो।

पछिल्लो समय माओवादी केन्द्रसँगको एकता खण्डित भयो । तर पूर्णरूपमा असफल भएको होइन। किनभने हामीसँग रामबहादुर थापा बादल लगायतका ३ दर्जन साथीहरू साथमा हुनुहुन्छ भनेपछि त्यो एकता असफल भयो भन्न मिल्दैन। खण्डित भएको अवश्य हो तर एकताको प्रकृया जारी छ । 

माओवादी अध्यक्ष प्रचण्ड र माधव नेपालले एमालेकै अध्यक्ष केपी ओलीकै कारणले यो एकता खण्डित भयो भनेर भनिरहनुभएको छ नि ?

त्यस्तो होइन, त्यो उहाँहरूले जे जे आरोप लगाउनुभयो । त्यो अभियोग र आरोप त उहाँहरू आफैंले खण्डित गरिसक्नुभयो । जुन कुराको आरोप लगाउनुभयो त्यो कुरामा अडिएको भए आरोप सहि थियो भन्ने पुष्टी गर्न सकिन्थ्यो । जस्तो कि जनतामा जाने कुरा नयाँ जनादेशमा जाने कुरा प्रतिगमन भन्दै भाष्य खडा गर्नुभयो । तर पछि पुष्पकमल दाहाल आफैंले वैशाखमा प्रतिनिधिसभाको चुनाव गरौँ भनेर प्रस्ताव राख्नुभयो । त्यो मानेको भए के हुन्थ्यो ? आखिर संसद् विघटन त हो नि । वैशाखमा चुनाव गर्ने कुरा भनेको संसद् विघटन होइन र ? त्यो प्रचण्डले राख्दाखेरि क्रान्तिकारी कुरा हुने । केपी ओलीले राख्दाखेरि प्रतिगमन हुने हुन्छ र ? त्यस्तै माधव नेपालले संसदमा नाराबाजी गरिरहने हो भने भंग गरिदिए हुन्छ भनेर भन्नुभयो । अब उहाँले गर्दाखेरि प्रगतिशील हुने । केपी ओलीले गर्दाखेरि प्रतिगमन हुने हुन्छ र ? त्यसर्थमा नीतिगत रुपमा अगाडि बढ्नका लागि बाधा उत्पन्न भयो भने संसदीय प्रजातन्त्रमा, लोकतन्त्रमा प्रधानमन्त्रीलाई जनतामा जाने अधिकार हुन्छ । त्यो अधिकारको प्रयोग केपी ओलीले गर्न खोज्नुभयो । तर नेपालमा चाहिँ जतिबेला कम्युनिष्टहरूले संसद् विघटन गर्छन् त्यतिबेला अदालतले रोक्ने गरेको छ । कांग्रेसले विघटन गर्दाखेरि सदर गर्छ । एमालेले विघटन गर्दाखेरि रोक्छ । त्यसर्थमा हाम्रो अदालतको भूमिका निष्पक्ष नहुनुको परिणाम हो । 

पछिल्लो समय माओवादी केन्द्रसँगको एकता खण्डित भयो । तर पूर्णरूपमा असफल भएको होइन। किनभने हामीसँग रामबहादुर थापा बादल लगायतका ३ दर्जन साथीहरू साथमा हुनुहुन्छ भनेपछि त्यो एकता असफल भयो भन्न मिल्दैन।

तर संसदीय लोकतन्त्रका हिसाबले प्रधानमन्त्रीलाई जनतामा जाने अधिकार हुन्छ । यो विश्वव्यापी मान्यता हो । त्यो चिज हामीले जनताका बीचमा लिएर गएका छौं। र जनताले त्यो चिजलाई सकारात्मकरुपमा ग्रहण गर्नुभएको छ ।

गएको निर्वाचनमा कम्युनिष्टलाई झण्डै २ तिहाई मत दिएर पाँच वर्षका लागि मुलुक बनाउने जनादेश जनताले दिए । तर काम गर्न सकेनन् । बीच बाटोबाटै सरकारबाट बाहिरियो । अब फेरि पनि जनताले एमालेलाई किन मत दिने ?

हामीले दुईवटा पार्टीलाई मिलाएर दुई तिहाई नजिकको शक्ति निर्माण गर्न खोजेका थियौँ। प्रचण्ड र माधव नेपालका कारणले त्यो असफल भयो । वास्तवमा जनताले दिएको जनादेशलाई खण्डित गर्ने काम प्रचण्ड र माधव नेपालका तर्फबाट भयो । विगतको जनादेश कांग्रेसका विरुद्धको जनादेश थियो । त्यो जनादेशलाई अपमान गर्ने काम पुष्पकमल दाहाल र माधवकुमार नेपालले गर्नुभयो । हामी जनतामा किन जान चाहन्थ्यौं त भन्दाखेरि त्यो जनताको जनादेश खण्डित गर्ने षड्यन्त्रका विरुद्ध जनतामा जान चाहन्थ्यौँ। यो चुनावमा हामी तिनै मुद्दा लिएर जाने हो । वास्तवमा जनताको जनादेशलाई खण्डित गर्नेहरूका विरुद्ध जनताको अभिमत प्राप्त गर्ने प्रयास हाम्रो हुनेछ । 

हामी त यो सरकारलाई ५ वर्षसम्म सञ्चालन गरेर त्यसको जगमा अझ ताजा जनादेशका साथ नयाँ म्याण्डेडका साथ अगाडि बढ्ने आधार तयार गर्न चाहन्थ्यौं। नेकपाभित्रको अन्तरसंघर्षमा प्रचण्ड र माधव नेपालले जुन एउटा भूमिका खेल्नुभयो त्यो भूमिका गलत छ र त्यो भूमिकालाई साथ दिने देउवा पनि गलत हुनुहुन्छ भन्ने कुरा स्थापित गर्नका लागि नै हामी चुनावमा जान खोजेका छौं। गठबन्धन किन बनाइयो त भन्दाखेरि उहाँहरूको राजनीतिक भविष्यको असुरक्षाको भयबाट गठबन्धन बनेको हो । गठबन्धन अवसरवादी छ । स्वार्थ आधारित छ । यो देश र जनताका पक्षमा छैन भन्ने कुरा स्पष्ट छ ।

Logo