आकाशबाटै तारा गायब भएपछि…!

आकाशबाटै तारा गायब भएपछि…!


आजै र राति के देखेँ सपना म मरी गएको…

ब्रह्माण्डको विस्तृत आकाशमा कवि माधव घिमिरे लिखित, नातीकाजीको संगीतमा नारायण गोपालले गाएको गीत नै घटित भयो गत मंगलबार राति। 

केही  क्षणका लागि  सिंह (लियो) तारामण्डलको एउटा ताराको मृत्यु हुन गयो। कविले भनेझैं यो मृत्यु सपनामा नभएर यथार्थमा घटित भएको थियो।

९ मार्च तदनुसार फागुन २५ गते मंगलबार राति पृथ्वीबाट देखिने आकाशमा एउटा दुर्लभ खगोलीय घटना घटित भयो। पृथ्वीबाट देखिने आकाशमा रहेको एउटा तारा एक सेकेण्डका लागि विलुप्त भयो।

पृथ्वीबाट ७७.५ प्रकाशवर्ष टाढा एउटा तारामण्डल छ। यस तारामण्डललाई ल्याटिन भाषामा  ‘अल्फा लियोनिस’ भनिन्छ ।  हिन्दुहरुले यसलाई सिंह तारामण्डल भन्छन्।  यस तारामण्डलमा ९२ वटा तारा  छन्। यीमध्ये १५ वटा तारा चम्किला छन् अर्थात् ठूला छन्। अझ भनाैं यस मण्डलका प्रमुख ताराझैं छन्। आकाशीय संरचनामा  यस ‘लियो’ तारामण्डलको पश्चिमपट्टि कर्कट (क्यान्सर) तारामण्डल तथा पूर्वमा कन्या (भिर्गो) तारामण्डल अवस्थित रहेको छ।

खगोल विज्ञानले सम्पूर्ण आकाशलाई ८८ वटा विभिन्न ‘कन्स्टिलेसन’ मा विभाजित गरेको छ। यस सिंह तारामण्डलमा रहेका तारालाई  एउटा सरल रेखाले एकआपसमा जोड्दा  सिंहको आकृति बन्न आउने भएकाले यसको नाम सिंह तारामण्डल भएको  हो। आधुनिक खगोल विज्ञानको उदय हुनुभन्दा  हजारौं वर्ष पहिला भारतीय ज्योतिषशास्त्रले  खगोल विज्ञान र ग्रह–नक्षत्र र ताराहरुका बारेमा यस्तो सूक्ष्म अध्ययन र जानकारी राख्नु आफैंमा विस्मयकारी कुरा हो। यसले त्यस बेलाको ज्ञानविज्ञानको सहज दर्शन गराउँछ ।

सिंह तारामण्डलमा दुइटा ठूला तारा छन्, पहिलो मघा अथवा  ‘रेगुलस’। ‘रेगुलस’ ल्याटिन भाषाको शब्द हो, यसको अर्थ हुन्छ सानो राजा अथवा राजकुमार। यसै तारालाई अरबीमा ‘कÞल्ब अल–असद’ भनिन्छ  जसको अर्थ हुन्छ, सिंहको  मुटु। सिंह तारामण्डलको सबैभन्दा चम्किलो तारा हो मघा। पृथ्वीबाट ७७.५ प्रकाशवर्ष टाढा रहेको यो तारा रात्रिकालीन आकाशको २२ औं नम्बरको सबैभन्दा चम्किलो तारा हो।

सिंह तारामण्डलको दोस्रो तारा हो ‘बिटा लियोनिस’। यसै तारालाई  हिन्दुहरुले  उत्तर फाल्गुनी भनी बोलाउँछन्।  उत्तर फाल्गुनी पृथ्वीबाट देखिने ६१ औं नम्बरको  सबैभन्दा चम्किलो तारा हो र, यो पृथ्वीबाट ३६ प्रकाशवर्ष टाढा रहेको छ।

वास्तवमा मघा एउटा तारा नभएर दुइटा ‘द्विसंगी  तारा’ (बाइनरी स्टार सिस्टम) अन्तर्गत आउँछ।  अर्थात् यो चारवटा ताराको समूह हो। पहिलो  ‘द्विसंगी  तारा’लाई   मघा ’ए’ (रेगुलस ए) र  दोस्रो ‘द्विसंगी तारा’लाई मघा ‘बी’ (रेगुलस बी) भनिन्छ।

नेपाली तथा भारतीय  ज्योतिष परम्परामा मघा तारालाई ‘मघा नक्षत्र’ भन्ने चलन छ।  ज्योतिष  परम्परामा  विभिन्न २७ वटा नक्षत्र मानिन्छन्।  मघा नक्षत्रलाई  ज्योतिष  नक्षत्रमण्डल विज्ञानमा दशौं स्थान प्राप्त  छ। मघा नक्षत्रका चारवटै चरण सिंह राशिमा गणना  हुन्छन्। ज्योतिष शास्त्रअनुसार यस नक्षत्रको स्वामी केतु हो र यसको राशिको स्वामी सूर्य हो।  ज्योतिष  परम्परामा यस नक्षत्रमा जन्मिएका जातकको स्वभाव जिद्दी हुने र यिनको जिउको बनावट मध्यम आकारको अर्थात् झन्डै ५ फीट ६ इन्चको हाराहारीमा हुने दाबी गर्ने गरिन्छ।  

९ मार्चको राति एक सेकेण्डका लागि मघा तारा पृथ्वीबाट हेर्दा विलुप्त हुन गयो। घटना एक सेकेण्डका लागि घटित भए पनि यो ब्रह्माण्डमा घटित भएको दुर्लभ घटना हो।

भारतीय तारा भौतिकी संस्थानका पूर्व प्रोफेसर रमेश कपूरका अनुसार मंगलबार राति भएको घटनामा सूर्यको परिक्रमा गरिरहेको एउटा क्षुद्रग्रह (एस्टेरोयड) ‘डेनियल’  मघा तारालाई छेक्दै अघि बढ्यो।  यसकारण एक सेकेण्डका लागि मघाबाट आउने प्रकाश अवरुद्ध हुन गयो र पृथ्वीबाट एक सेकेण्डका लागि मघा तारा ओझल हुन गयो।

‘डेनियल’ नामक ऐस्टेरोयडको खोज २२ अगस्त, सन् १९७९ मा भएको थियो । हाम्रो सौर्य मण्डलमा मंगल ग्रह र वृहस्पति ग्रहको बीचको विस्तृत आकाश लाखौं पिण्डले भरिभराउ छ।  यी पिण्डलाई नै एस्टेरोयड भनिन्छ।  एस्टेरोयडले पनि अन्य खगोलीय पिण्डका भाँती सूर्यको परिक्रमा गर्छन्। ‘डेनियल‘  नामक एस्टेरोयडले सूर्यको एक पटक परिक्रमा गर्न ४.८९ वर्ष लाग्छ । ९ मार्चको राति यसै ‘डेनियल’ले मघा तारालाई  छेकिदिएको थियो, जसले गर्दा मघा तारा १ सेकेण्डका लागि पृथ्वीबाट देखिएन। ‘डेनियल’  एस्टेरोयडको व्यास  ९.४ किमी रहेको छ। खगोल विज्ञानको ज्ञात इतिहासमा यस्तै घटना २० मार्च, सन् २०१४ को राति पनि घटित भएको थियो। त्यसबेला एउटा अर्को एस्टेरोयड एरिगोनले छेकेर मघा तारा १४ सेकेण्डका लागि पृथ्वीबाट ओझल भएको  थियो। 

Logo