कर्मअनुसार आत्माले गति प्राप्त गर्छ । भनाइ पनि छ– धनानि भूमौ पशवश्च गोष्ठे । भार्या गृहेद्वारा जनश्मसाने । देहश्चितायां परलोकमार्गे । कर्मानुजो गच्छति जीव एक । यो श्लोकले बताएअनुसार मानिससँग मरेपछि साथ जाने भनेको उसले गरेका कर्महरू नै हुन् ।
शरीर छाडेर गइसकेका मानिसहरूमध्ये धेरैजसो अतृप्त हुन्छन् । शास्त्रीय मान्यता के छ भने अतृप्त आत्मालाई सद्गति प्राप्त हुँदैन, ऊ भट्किरहन्छ । किन यसो हुन्छ त ? थाहा पाऔं, आत्मा अतृप्त रहने ५ कारण ।
१. इच्छाहरू बाँकी रहनु – मानिस जुनसुकै उमेर वा अवस्थामा मरेको होस्, उसका इच्छाहरू प्रबल रहेछन् भने ऊ आफ्ना इच्छाहरूलाइृ लिएर मृत्युपश्चात पनि दुःखी रहन्छ र मुक्त हुन पाउँदैन । यो नै अतृप्तता हो । इच्छाहरूको कुनै अन्त छैन भन्ने कुरा धेरैले बुझेका हुँदैनन् । जो व्यक्ति भोको, प्यासा, सम्भोग सुखबाट विरक्त, राग, द्वेष, क्रोध, लोभ, वासना आदि अनेकानेक इच्छा एवं भावनाहरू लिएर मरेको छ, ऊ अवश्य पनि अतृप्त नै रहेर भट्किरहन्छ ।
२. अकाल मृत्यु – अकाल मृत्युको अर्थ हो असामयिक निधन । पूरा उमेर नबाँचिकन मर्नु । अर्थात् जसले आत्महत्या गरेर वा कुनै रोग वा कुनै दुर्घटनामा परेर मारिएका छन् । वेदले बताएअनुसार आत्मघाती मानिस मृत्युपछि अज्ञान एवं अन्धकारले ढाकिएको, सूर्यको प्रकाशरहित, असूर्य नामको लोकमा पुग्दछ र तबसम्म अतृप्त भएर भट्किन्छ जबसम्म उसको जीवनका चक्रहरू पूर्ण हुँदैनन् ।
३. खराब व्यक्ति – हरेकबाट जीवनका कुनै न कुनै मोडमा अनजानमै अपराध वा खराब काम भइरहन्छ । तर, जो मानिसले जानाजान कसैको हत्या, बलात्कार, अहित आदि कार्य गर्दछ, निर्दोष व्यक्ति वा प्राणीहरूलाई सताउँछ त्यो खराब व्यक्ति हो । यसका साथै चोर, डाँकु, अअपराधी, धूर्त, क्रोधी, नशा लिने र कामी व्यक्ति मरेपछि पनि संकट र दुःखमा जाकिइरहन्छन् ।
४. ज्ञानशून्य मानिस – धर्मलाई वास्तविक स्वरूपमा नजान्नु नै सबैभन्दा ठूलो अधर्म एवं अतृप्तताको कारण हो । जसले उपनिषद एवं गीताका अध्ययन राम्रोसँग गरेनन् ती ज्ञानशून्य र बेहोसीमा बाँच्ने मानिसहरू अतृप्त नै मर्छन् । किनभने उनीहरू आफ्ना मनगढन्ते तर्कहरूद्वारा तथा झुटा शास्त्र एवं सम्प्रदायद्वारा प्रभावित भई आत्मा, ईश्वर र ब्रह्माण्डका सम्बन्धमा धारणाहरू बनाउँछन् । यस्ता मानिसहरूलाई पनि कर्मको गतिले कस्तो प्रकारको जन्म लिन्छन् भनेर तय गर्छ । यिनमध्ये पनि जो अज्ञानी छन् तर भक्त छन् भने उनीहरू जोगिन्छन् ।
५. गलत धारणा वा मान्यता – शास्त्रले भन्छ कि तपाईंले के सोच्नुहुन्छ, के बुझ्नुहुन्छ, के बोल्नुहुन्छ र के सुन्नुहुन्छ त्यसले केही फरक पर्दैन । फरक यसबाट पर्छ कि तपाईं के गर्नुहुन्छ, के मान्नुहुन्छ र कस्तो धारणा राख्नुहुन्छ । किनभने धारणा चित्तको हिस्सा बन्दछ जसले तपाईंको कर्मको गति तय गर्छ । यति तपाईंमा व्यक्ति मरेपछि चिर निद्रामा सुत्छ भन्ने धारणा दृढ छ भने तपाईंका साथ त्यस्तै हुन्छ । हाम्रो चित्तको गति प्रारब्ध र वर्तमान कर्ममा आधारित हुन्छ ।
अन्तमा ज्ञानको कुरो
तीन अवस्था हुन्छ– जाग्रत, स्वप्न र सुषुप्ति । यी ३ प्रकारका अवस्थाभन्दा बाहेक सामान्य मानिसले अरू कुनै अवस्थाका विषयमा जान्दैनन् (ध्यान साधनाबाट चौथो अवस्था तुरीयसम्म पुग्न सकिन्छ ) । मृत्युपश्चात व्यक्ति सुषुप्तिभन्दा पनि गहिरो अवस्थामा पुग्छ, केही समयपश्चात स्वप्न सुरु हुन्छ र जबसम्म नयाँ जन्म मिल्दैन तबसम्म स्वप्न चलिरहन्छ । तर यदि मानिस जाग्रत भयो भने मरेपछि पनि थाहा हुन्छ कि ‘म मरेँ ।’ अनि समस्या खडा हुन्छ ।
संसार वा जगत ३ स्तरको छ– एक स्थूल जगत जसको अनुभूति आग्रत अवस्थामा हुन्छ । दोस्रो सूक्ष्म जगत जसको अनुभव स्वप्नमा हुन्छ र तेस्रो हो कारण जगत जसको अनुभूति सुषुप्ति अवस्थामा हुन्छ ।
आत्माको ३ स्वरूप मानिएको छ– जीवात्मा, प्रेतात्मा र सूक्ष्मात्मा । जो भौतिक शरीरमा वास गर्दछ ऊ जीवात्मा हो । जब यही जीवात्माको वास वासना एवं कामनामय शरीरमा हुन्छ तब उसलाई प्रेतात्मा भनिन्छ । यो आत्मा मरेपछि सूक्षतम शरीरमा प्रवेश गर्दछ, तब उसलाई सूक्ष्मात्मा भनिन्छ । मर्नुअघि पनि यो शरीरमा प्रवेश गर्न सकिन्छ ।
मरेपछि नयाँ जन्म नलिउन्जेलसम्म जीवधारीले सूक्ष्म शरीरमा रहनु पर्दछ । तीमध्ये जो अशान्त हुन्छन् तिनलाई प्रेत र जो निर्मल हुन्छन् तिनलाई पितर प्रकृतिको अर्थात् उदारचेता, सहज सेवा, सहायता गर्नेवाला मानिन्छ ।
मृत्युपछिको थकान हटिसकेपछि संचित संस्कारअनुरूप अर्को शरीर धारण गर्नका लागि उपयुक्त वातावरण खोजी गर्नुपर्ने हुन्छ, यसका लागि प्रतीक्षा गर्नुपर्छ । त्यो काम सूक्ष्म शरीरमा रहेर गर्नुपर्छ । यस्ता आत्माहरू आफ्ना मित्र, शत्रु, परिवारजन एवं परिचितहरूमाझ आफ्नो अस्तित्वको परिचय दिने गर्छन् । प्रेतहरूको अशान्तिले सम्बद्ध मानिसहरूलाई पनि हैरान गर्छ ।
यस्ता व्यक्तिहरूको आत्मालाई तृप्त गर्नका लागि श्राद्ध र तर्पण गरिन्छ । मान्यता के छ भने जो मानिसले आफन्त वा पितृहरूको श्राद्ध र तर्पण गर्दैनन् तिनीहरू ती अतृप्त आत्माहरूद्वारा सताइन्छन् ।





























प्रतिक्रिया