दधिचि पौराणिक कालका एक प्रख्यात ऋषि हुन् । उनको आश्रम दैलेख जिल्लाको डुंगेश्वरमा थियो भन्ने भनाइ छ । दधिचिका पिता अथर्वण र माता क्षिती हुन् । अथर्वण ब्रह्माजीका मानस पुत्र भृगु ऋषिका छोरा हुन् । अथर्वणले अथर्ववेद पत्ता लगाएका थिए । दधिचिकी माता क्षिती त्यतिबेलाका ख्यातिप्राप्त ऋषि कर्दमकी छोरी थिइन् । दधिचिकी पत्नीको नाम स्वरचा हो भने छोराको नाम पिप्पलाद हो ।
एक समयको कुरा हो । महर्षि दधीचि लोकहितका लागि कठोर तपस्या गरिरहेका थिए । उनको तपस्याको प्रभाव एवं तेजका कारण तीनै लोक प्रकाशमय भयो । तर उता देवराज इन्द्रको तेज कमजोर बन्यो । इन्द्रको मनमा महर्षिले इन्द्रासन खोस्ने हुन् कि भन्ने डर पलायो । यसकारण इन्द्रले दधीचिको तपस्या भंग गर्ने विचार गरे । उनले कामदेवको साथ लगाएर एउटी सुन्दरी अप्सरालाई पठाए । तर अनेक उपाय गर्दा पनि उनीहरूले दधिचिको तपस्या भंग गर्न सकेनन् ।

इन्द्रले दधीचिको हत्या गर्ने विचार गरे । उनी आफ्ना सेनासहित महर्षिको तपस्थल पुगे । उनले अनेक अस्त्रशस्त्र महर्षिमाथि प्रहार गरे तर कसै गरे पनि महर्षिको तपस्याबाट सिर्जित अभेद्य कवच भेदन गर्न सकेनन् । महर्षि उत्तिकै अविचल तथा शान्त भावले समाधिस्थ रहे, बाहिर के भइरहेको छ भन्ने कुराले उनलाई कुनै फरक पारेन । हारका कारण लज्जित इन्द्र केही उपाय नलागेपछि स्वर्ग फर्के । यो घटना भएको धेरै समयपछि त्वष्टा ऋषिको यज्ञकुण्डबाट उत्पन्न पुत्र वृत्रासुरले देवलोकमाथि अधिकार जमाए । उनी निकै पराक्रमी एवं ब्रह्मज्ञानी थिए ।
पराजित इन्द्र तथा अन्य देवता दुःख सहँदै भौंतारिन थाले । त्यो देखेर प्रजापिता ब्रह्मा एवं विष्णुले वृत्रासुरको अन्त महर्षि दधीचिको हड्डीबाट निर्मित अस्त्रबाट मात्र सम्भव छ भन्ने रहस्य बताउँदै सोहीअनुसार उपाय गर्न सुझाए । विष्णुले दधीचिकहाँ गएर उनको हड्डी माग्न लगाए । यो सुनेर इन्द्र के गर्ने के नगर्ने स्थितिमा पुगे ।
आफूले जसको हत्या गर्ने प्रयास गरियो उसैसँग गएर माग्नु अझ जीवित मानिससँग हड्डी माग्नु कतिसम्म लाजमर्दो र नीच काम हो भन्ने कुरा सम्झँदा मात्रै पनि इन्द्र थरथर काम्न थाले । तर विकल्प अर्को थिएन । पहिलेको कुरा सम्झेर के सहायता गर्लान् र भन्ने डर पनि इन्द्रलाई छँदै थियो । अरू कुनै उपाय नदेखेपछि निर्लज्ज इन्द्र महर्षिकहाँ गएर अक्मकाउँदै बोले – ‘महात्मन् ! तीनै लोकको कल्याणका निमित्त हामीलाई तपाईंको हड्डी चाहियो ।’
महर्षिले विनम्रतापूर्वक भने – ‘देवराज इन्द्र, लोकहितका खातिर म तिमीलाई आफ्नो शरीर सुम्पन्छु ।’ इन्द्र ट्वाँ परेर उनको मुखमा हेर्दै थिए, महर्षिले उत्तिखेरै योग विद्याद्वारा आफ्नो शरीर त्याग गरिदिए । महर्षिले प्राण त्यागिदिएपछि उनको मृत शरीरलाई गाईहरूले चाटेर हाड निकालिदिए । उक्त हड्डीबाट विश्वकर्माले वज्र बनाए र इन्द्रलाई दिए । त्यही वज्र प्रहार गरी इन्द्रले वृत्रासुरलाई मारे । वज्रबाहेक पनि अन्य शस्त्रहरू बने भनिन्छ । जसमा शारंग, पिनाक र गाण्डिव धनुष तथा एकघ्नी वज्रको नाम आउँछ । यो कुरामा मतैक्य त छैन तापनि यी हतियार त्यतिबेलाका सर्वशक्तिशाली हतियार हुन् भन्ने कुराचाहिँ शास्त्रीय रूपमै निर्विवाद छ ।
अरूको कल्याणका लागि महर्षि दधीचिले आफ्नो हड्डीसमेत दान दिए । शरीर नश्वर छ र यो एक दिन माटोमै मिल्छ भन्ने कुरा दधीचिलाई राम्रोसँग थाहा थियो । तसर्थ उनले परोपकारका निम्ति आफ्नो प्राण समेत त्यागे । आफ्नो जीवित शरीर नै दान गर्ने दधिचिको नाम आजसम्म पनि दानीहरूको अग्रपंक्तिमा आउँछ ।































प्रतिक्रिया