समय परिस्थिति अनुसारको मेकअप कसरी गर्ने ? पढ्नुहोस् टिप्स

समय परिस्थिति अनुसारको मेकअप कसरी गर्ने ? पढ्नुहोस् टिप्स

केन्द्रबिन्दु
0
Shares

सुन्दर र आकर्षक देखिन नचाहने मानिस विरलै होलान् । विशेष गरी महिलाहरू राम्री देखिने मामिलामा अगाडि नै हुन्छन् । हरेक उमेर समूहका महिला सुन्दर देखिन भरमग्दूर प्रयास पनि गर्छन् । तर कहिलेकाहीँ मौसम, समय, उमेर तथा अवसरअनुसार मेकअप गर्न नजान्दा राम्रो गर्न खोज्दा नराम्रो हुने सम्भावना बढ्नसक्छ ।
जाडो, गर्मी र वर्षामा गरिने मेकअप फरक हुन्छ । उमेरअनुसार पनि मेकअप सुहाउनेनसुहाउने हुन्छ । यहाँ त्यही विषयमा चर्चा गरिएको छ ।

आफ्नो अनुहारलाई फर्मल लुक दिने हो भने हल्का मेकअप गरे पुग्छ । यस्तो लुकका लागि सकेसम्म थोरै मेकअप गर्नुपर्छ । हल्का मेकअप गरेपछि कपाललाई पछाडि लगेर बाँध्नु राम्रो हुन्छ ।

पार्टी मेकअप हो भने लाइट मेकअप गर्नुपर्छ । यस्तो मेकअप गर्दा गाजल, ब्लसर तथा न्यूड लिपस्टिकको प्रयोग गर्न सकिन्छ । कपाल छोटो छ भने खुल्लै राख्ने अनि लामो छ भने पछाडि पोनीटेल बनाउनु राम्रो हुन्छ ।

क्याजुअल लुकका लागि पनि हल्का मेकअप नै पर्याप्त हुन्छ । त्यसका लागि आँखामा हल्का गाजल तथा ओठमा लिपग्लस उपयुक्त हुन्छ ।

कुनै जागिरको लागि अन्तवार्ता दिन जाँदा साधारण मेकअप गर्नुपर्छ । धेरै भद्दा मेकअप तथा गाढा रंगका सौन्दर्य सामग्रीको प्रयोग झुक्किएर पनि गर्नु हुँदैन ।

चाडपर्वको अवसरमा गरिने मेकअप केही फरक हुन्छ । आफूलाई परम्परागत शैलीमा ढाल्नका लागि आँखामा गाढा तरिकाले गाजल लगाउनुपर्छ । यसका साथै आइस्याडो तथा ओठमा न्यूड कलरको लिपस्टिक सुहाउँदो हुन्छ ।

आफ्नो लुकलाई अरूभन्दा पृथक देखाउन आँखालाई विशेष तरिकाले सजाउन सकिन्छ । त्यसका लागि आँखाका विभिन्न तरिकाका मेकअप रोज्न सकिन्छ ।

हिजोआज बजारमा स्मोकी लुकको चर्चा छ । यसका लागि इयर बडको सहायताले गाजललाई आँखाको माथिल्लो डिलमा दल्नुपर्छ । त्यसपछि एउटा राम्रो लिप पेन्सिलमा गाजल लगाएर हल्का दल्नु पर्छ ।

कलेज जाने किशोरी तथा युवतीहरूले आँखामाथि फाउन्डेसन पनि लगाउन सक्छन् । यसले उनीहरूको आँखाको वरिपरिको भाग घामबाट सुरक्षित हुन्छ । कलेज जाने छात्राहरूले आइस्याडो लगाउनु हुँदैन । उनीहरूले पातलो आइलाइनर तथा मस्काराको प्रयोग गर्न सक्छन् ।

कामकाजी हो र नियमित अफिस जाने गरिएको छ भने हरेक दिन अनुहारमा हल्का फाउन्डेसन लगाउनु पर्छ । आँखाको परेलालाई हल्का हातले कर्ल गर्नुपर्छ । हल्का मस्कारा तथा आँखाको माथिल्लो भागमा पातलो आइलाइनर लगाउनुपर्छ । आँखाको लागि आई पेन्सिल पनि प्रयोग गर्न सकिन्छ ।

हतार छ र आँखाको मेकअपलाई समय दिन भ्याइएन भने खैरो रंगको आइस्याडो प्रयोग गर्नुपर्छ । त्यसलाई आँखाको माथिल्लो डिललमा हल्का तरिकाले लगाउनुपर्छ । आँखाको तल्लो भागमा गाजल लगाउन सकिन्छ ।

दुई मिनेट मेकअप

दुई मिनेटमै तयार हुने हो भने पनि सम्भव छ । त्यसका लागि सबैभन्दा पहिला आफ्नो अनुहार सफा गरेर अनुहार र गर्धनमा फाउन्डेसन लगाउनुपर्छ । त्यसपछि कम्प्याक्ट अथवा ट्रान्सलुसेन्ट पाउडर लगाउनुपर्छ ।
कालो रंगको आइलाइनरबाट आँखालाई सजाउनुपर्छ । त्यसपछि मस्कारा लगाउनुपर्छ । आफूलाई जवान देखाउने चाहना छ भने अनुहार (गाला) मा गुलावी रंगको ब्लस लगाउनु राम्रो हुन्छ ।

पाँच मिनेट मेकअप

अनुहार राम्रोसँग सफा गरेपछि मोइस्चराइजर लगाउनुपर्छ । त्यसपछि फाउन्डेसन लगाउनुपर्छ । त्यसपछि फाउन्डेसन ब्रसबाट ब्लेन्ड गर्नुपर्छ । त्यसो गर्दा अनुहार राम्ररी छोपिन्छ, अनुहारको सबै भाग ढाकिन्छ । आइलाइनर र आफूले लगाएको पहिरन अनुसारको आइस्याडो लगाउनुपर्छ । मस्कारा लगाएर आँखालाई थप सुन्दर बनाउन सकिन्छ । ओठलाई आकर्षक बनाउन लिप ब्रसले हल्का रंग लगाउन सकिन्छ ।

पन्ध्र मिनेट मेकअप

अनुहार सफा गरेपछि फाउन्डेसन लगाउनु पर्छ । अनुहारमा डार्क सर्कल तथा दाग छन् भने कन्सिलरको सहयोगबाट लुकाउनुपर्छ । अनुहारमा ट्रान्सलुसेन्ट पाउडर प्रयोग गर्नुपर्छ । आँखामा गुलावी आइस्याडो लगाउनुका साथै आइलाइनर र गाजल पनि लगाउनुपर्छ ।
मस्काराको प्रयोगले आँखालाई थप आकर्षक बनाउन सकिन्छ । गुलाबी रंगको ब्लस अनुहारमा लगाउनु पर्छ । ओठको आकर्षण बढाउन कलर ग्लस प्रयोग गर्नुपर्छ ।

तीस मिनेट मेकअप

सामान्यतया ३० मिनेटमा एउटी महिलाले पूर्ण रुपमले मेकअप गर्न सक्छिन् । यसमा सबैभन्दा पहिला कन्सिलरबाट अनुहारको दाग अथवा डार्क सर्कललाई हटाउनुपर्छ । अनुहारको छालाको रंगभन्दा एक सेड हल्का फाउन्डेसन लगाउनुपर्छ । आँखामा हल्का हरियो आइस्याडो लगाउन सकिन्छ । आँखालाई आकर्षक बनाउनका लागि आँखाको तल्लो भागमा नीलो रंगको आई पेन्सिल प्रयोग गर्नुपर्छ । मस्कारालाई दुईतीन तहसम्म प्रयोग गर्न सकिन्छ ।
ओठमा कलर ब्लस लगाउन छुटाउनु हुँदैन । कपाल छोटो छ भने त्यसै छाडिडिँदा पनि हुन्छ वा चल्तीको हेयर स्टाइल अँगाल्न सकिन्छ ।

निम्नलिखित उपाय अपनाएर पनि सुन्दर देखिन सकिन्छ :

–अनुहारमा दाग छन् भने गाढा पहेंलो अथवा सुनौलो रंगको फाउन्डेसन प्रयोग गर्नुपर्छ । अनुहार सफा छ भने मोस्चराइजर तथा सियर फाउन्डेसन लगाउनुपर्छ । यसले प्राकृतिक लुक्स दिन्छ ।

–आँखामुनि डार्क सर्कल छ भने त्यसलाई हटाउन अथवा लुकाउनका लागि हल्का सेड भएको फाउन्डेसन लगाउनुपर्छ र त्यसलाई डार्क सर्कल आएको भागतिर फैलाउनुपर्छ ।

–ओठहरू समान आकारका छैनन्, एउटा ओठ पातलो तथा अर्को ओठ मोटो छ भने पातलो ओठलाई मोटो बनाउन ओठभन्दा थोरै माथितर्फ आउटलाइन गरी मोटो ओठसित सन्तुलन मिलाउन सकिन्छ । अनुहारको तुलनामा ओठको आकार सानो छ भने ओठको भागभन्दा थोरै बाहिरतर्फ आउटलाइन गरेर लिपस्टिक लगाउन सकिन्छ ।

–निधार धेरै चौडा छ र त्यसलाई सानो देखाउने हो भने अनुहारमा प्रयोग गरिने रंगभन्दा तीन सेड गाढा रंग छनोट गर्नुपर्छ । त्यसलाई निधारको अन्तिम भाग अर्थात हेयर लाइनबाट प्रारम्भ गर्नुपर्छ । त्यसपछि मुनितिर ल्याउँदै अनुहारको रंगसँग मिलाउनुपर्छ ।

–अनुहारको छाला सफा छ भने गाढा रंगको लिपिस्टिक लगाउनु हुँदैन । सफा छालामा हल्का रंग नै सुहाउँछ । छाला हल्का खस्रो छ भने रातो अथवा गाढा रंगको लिपस्टिक सुहाउँछ । ओठ मोटो छ भने पनि गाढा लिपिस्टिक नै सुहाउँछ । हल्का लिपिस्टिकले ओठ झन् मोटो देखिन्छ । गाढा लिपिस्टिक लगाउँदा भने ओठ पातलो देखिन्छ ।

Skip This
Skip This
Logo