प्रसंग महाभारतको हो । महाभारत युद्धमा गेम चेन्जरका रूपमा देखा परेका दुई योद्धा हुन् अर्जुन र कर्ण । एक्लैले हाहाकार मच्चाउन समर्थ यी योद्धाहरूको मूल्यांकन गर्ने क्रममा भीष्मले कर्णलाई अर्थरथी भनेर होच्याइएको पाइन्छ भने अर्जुनलाई दुई महारथी बराबरको सामथ्र्य भएको भनेर प्रशंसा गरिएको पाइन्छ । यीमध्ये एक प्रशंसित छन् भने अर्का अभिशप्त । जन्मँदै आमाबाट परित्यक्त कर्णले जीवनभरि नै आफ्नो अस्तित्वरक्षाका लागि अपमानको विष पिउनुपरेको थियो भने अर्जुनले आभिजात्यको मुखुण्डो लगाएर शिर ठाडो पार्न सकेका भए पनि जीवन भने संघर्षपूर्ण नै रह्यो । रमाइलो कुरा के भने दुवै योद्धाका आमा एकै थिइन् कुन्ती । जन्म दिने बाबुको कुरा गर्दा कर्ण सूर्यपुत्र थिए भने अर्जुन इन्द्रपुत्र ।
शिक्षादीक्षा, तपस्या आदिका दृष्टिले पनि अर्जुन र कर्ण एकसमान नै थिए । कर्णका गुरु परशुराम थिए भने अर्जुनका गुरु परशुरामका शिष्य द्रोणाचार्य थिए । कर्णले गुरु परशुरामबाट अन्त समयमा अर्थात् जुन बेला आफूले सिकाएको विद्या सबैभन्दा बढी आवश्यक पर्छ त्यतिबेला सबै बिर्सने श्राप दिएका थिए । तर पछि फेरि दया गरेर पाँचवटा अमोघ वाण तथा दिव्य अलौकिक विजय धनु दिएका थिए ।
उता द्रोणाचार्यले अर्जुनलाई विश्वकै उत्कृष्ट धनुर्धर बनाउने वचन दिनुका साथै आफूसँग भएका सबै शस्त्रास्त्र विद्या प्रदान गरेका थिए । अर्जुनले स्वर्गमा गएर सबै दिव्यास्त्र प्राप्त गर्नुका साथै भगवान् शिवलाई खुसी पारेर पाशुपतास्त्र नामक महाअस्त्रसमेत प्राप्त गरेका थिए । कर्णसँग पनि वैष्णवास्त्र थियो । सबैभन्दा विशेष कुरा कर्णसँग जन्मजात् कवच कुण्डल थियो जुन छउन्जेल कसैले पनि कुनै शस्त्रास्त्रको प्रयोग गरेर उनलाई मार्न सक्दैनथ्यो ।
कर्ण र अर्जुन आमनेसामने युद्ध लडेका थिए । कर्णसँग परशुरामद्वारा दिइएको विजय धनु थियो भने अर्जुनसँग अग्निदेवद्वारा दिइएको गाण्डीव धनु थियो । दुवैको ठोक्रोमा अलौकिक दिव्यास्त्रको कमी थिएन । भनाइ के छ भने कर्णको धनु अर्जुनको धनुभन्दा धेरै हिसाबले उत्कृष्ट थियो । के थियो त यी दुई धनुको रहस्य ? हेरौं,
गाण्डीव धनु
गाण्डीव धनुका विषयमा तथा यो अर्जुनसँग कसरी आइपुग्यो भन्ने विषयमा दुई प्रकारको कथा पाइन्छ । एकथरीको भनाइमा यो धनु दधीचि ऋषिको हड्डीबाट निर्माण गरिएको थियो । अर्को भनाइअनुसार यो कण्व ऋषिले तपस्या गर्दा उनको शरीरमा धमिराले गोलो बनाएको थियो । पछि उक्त गोलोमा सुन्दर एवं कठोर बाँस उम्रियो ।
जब कण्व ऋषिको तपस्या पूर्ण भयो । ब्रह्माजीको परामर्शमा विश्वकर्माले उक्त बाँसबाट तीनवटा दिव्य एवं सुन्दर धनु बनाए, पिनाक, शार्ङ्ग र गाण्डीव । पिनाक महादेवले राखे, शार्ङ्ग विष्णुले लिए भने गाण्डीव धनु वरुणदेवलाई दिइयो । पछि गाण्डीव धनु वरुणले अग्निदेवलाई दिए । अग्निदेवले अर्जुनलाई दिए । यज्ञको घिउ खाएर अजीर्ण भएका अग्नि घिउ पचाउनका लागि खाण्डव वन जलाउन चाहन्थे तर इन्द्रले रक्षा गरिएको वन भएकाले जलाउने आँट गरिरहेका थिएनन् । अग्नि कृष्णार्जुनसँग सहयोग माग्न गए । चतुर कृष्णले अग्निसँग गाण्डीव धनु र अक्षय ठोक्रो मागेर अर्जुनलाई दिलाए । यी दुई चामत्कारिक हतियारको सहायताबाट अर्जुनले खाण्डव वन जलाउन अग्निलाई सघाए ।
गाण्डीवको टंकारले पूरा युद्ध क्षेत्र गुन्जायमान हुन्थ्यो । धनुको ठोक्रो अक्षय भएकाले बाण कहिल्यै समाप्त हुँदैनथ्यो । कुनै कुनै बाण लक्ष्य भेद गरिसकेपछि पुनः फर्केर आउँथे । यो धनु देव, दानव तथा गन्धर्वबाट वर्षौंसम्म पूजित रहेको थियो । यो धनु कुनै पनि प्रकारको शस्त्रबाट नष्ट हुँदैनथ्यो । यो धनु धारण गरेर अन्य लाखौं धनुर्धारीको सामना गर्न सकिन्थ्यो । जसले यो धनु धारण गथ्र्याे उसमा असाधारण शक्तिको सञ्चार हुन्थ्यो । यो धनुबाट पाशुपतास्त्र, नारायणास्त्र एवं ब्रह्मास्त्रजस्ता घातक अस्त्र प्रहार गर्न सकिन्थ्यो । यो दिव्य धनु धारण गर्ने हुनाले अर्जुनलाई गाण्डीवधारी भनिन्थ्यो ।
विजय धनु
विजय धनु धारण गर्ने भएकाले कर्णलाई विजयधारी भनिन्थ्यो । महाभारत युद्धको सत्रौं दिन कर्णले यो धनु धारण गरेका थिए । कर्णको यो धनु अर्जुनको धनुभन्दा यसकारण पनि श्रेष्ठ थियो कि जब कर्ण तीर चलाउँथे, उनको तीरले अर्जुनको रथलाई केही फिट टाढा धकेल्थ्यो । त्यतिबेला श्रीकृष्ण क्याबात् कर्ण भनेर तारीफ गर्थे । तर जब अर्जुन तीर चलाउँथे त्यतिबेला कर्णको रथ थुप्रै मिटर पछाडि धकेलिन्थ्यो तर कृष्णले प्रशंसा गर्दैनथे ।
अर्जुनले श्रीकृष्णसँग यसको कारण सोधे । यसको जवाफमा श्रीकृष्ण भन्छन्, तिम्रो रथमा स्वयं हनुमानजी एवं म पनि बसेको छु । तर पनि कर्णको वाणमा यति क्षमता छ कि हाम्रो असाधारण रथ पछि धकेलिन्छ । हनुमान नहुने हो भने सोच हाम्रो रथको गति के होला ? कृष्णको भनाइ सुनेर अर्जुनले कुरा बुझ्छन् । कृष्ण भन्छन्, जबसम्म कर्णको हातमा उनको विजय धनु रहन्छ तबसम्म तीनै लोकका सबै योद्धाले मिलेर एकसाथ आक्रमण गरे पनि कर्णलाई हराउन सक्दैनन् ।
कर्णको विजय धनुमा यस्ता थुप्रै खुबी थिए जुन अर्जुनको गाण्डीव धनुमा थिएन । विजय धनुलाई कुनै पनि प्रकारको अस्त्र या शस्त्रले नोक्सान पुर्याउन सकिँदैनथ्यो । यो धनुबाट वाण छुट्दा भयानक ध्वनि उत्पन्न हुन्थ्यो । भनाइ के छ भने कर्णको विजय धनु मन्त्र शक्तिले यसरी अभिमन्त्रित गरिएको थियो कि उक्त धनु जुन योद्धाको हातमा हुन्थ्यो त्यस योद्धाको चारैतिर एउटा अभेद्य घेरा निर्माण हुन्थ्यो र उक्त घेरालाई भगवान शिवको पाशुपतास्त्रले पनि भेदन गर्न सक्दैनथ्यो ।
मन्त्रले अभिमन्त्रित भएका कारण विजय धनुमा सामान्य बाण राखेर चलाउँदा पनि त्यो बाण वास्तविक तागतभन्दा कैयौं गुणा शक्तिशाली बन्दथ्यो । अन्य धनु यहाँसम्म कि गाण्डीवको समेत ताँदो काट्न सकिन्थ्यो तर विजय धनुको ताँदो कुनै पनि शस्त्रास्त्रको प्रयोग गरेर काट्न सकिँदैनथ्यो ।
एक भनाइअनुसार विजय धनुको निर्माण विश्वकर्माले तारकासुर राक्षसका तीन नगर अर्थात् त्रिपुर विनाश गर्नका लागि गरेका थिए । यसै धनुको सहायताबाट भगवान शिवले त्रिपुर एवं त्रिपुरासुरलाई एकसाथ विनाश गरिदिएका थिए । त्रिपुरासुरको पतनपछि भगवान शिवले विजय धनु देवराज इन्द्रलाई दिएका थिए । देवराज इन्द्रले यो अद्भुत शक्तिशाली धनुको सहायताले थुप्रै पटकको युद्धमा असुर एवं राक्षसहरूको विनाश गरेका थिए ।
पछि परशुरामले हैहयवंशी क्षत्रियहरूको विनाश गर्नका लागि आफ्ना गुरु भगवान शंकरको तपस्या गरी दिव्य धनु मागे । त्यतिखेर भगवान शंकरले यही धनु इन्द्रबाट लिएर परशुरामलाई दिए । जब कर्णले झुटो बोलेर परशुरामसँग धनुर्विद्या एवं ब्रह्मास्त्रको शिक्षा लिए । झुटो बोलेको थाहा पाएपछि परशुरामले कर्णलाई अत्यावश्यक समयमा विद्या भुल्ने श्राप दिए । तर फेरि पछि आफ्ना प्रिय शिष्य कर्णप्रति परशुरामको मनमा दया पलायो र उनले कर्णलाई विजय धनुका साथ यशस्वी हुने आशीर्वाद प्रदान गरे ।
कर्णको हातमा विजय धनु छउन्जेल उनलाई कसैले मार्न सक्दैनथ्यो । आफू सेनापति भएपछि अर्जुनलाई मार्न भनेर कर्णले विजय धनु हातमा लिए । कर्ण र अर्जुनका बीच भयानक युद्ध भयो तर दुवै शक्तिशाली भएका हुँदा कुनै परिणाम निस्कन सकिरहेको थिएन । कर्णलाई प्रहार गर्ने अर्जुनको सारा प्रयत्न विफल भइरहेको थियो । यस्तो अवस्थामा चतुर सारथि कृष्णले केही गिलो भूमितर्फ रथ मोडे । कर्णको सारथि शल्यले पनि त्यसै गरे । त्यतिबेलै कर्णको रथ जमिनमा भासियो । सारथि शल्यले निकै प्रयास गरे तर रथलाई निकाल्न सकेनन् ।
कर्ण फसेको रथ निकाल्न भनेर विजय धनु रथमै राखेर रथको पाङ्ग्रा उचाल्न थाले । यही समयमा कृष्णको प्रेरणा पाएर अर्जुनले निहत्था कर्णमाथि वाण चलाए । कर्णको अन्त्य भयो । यो समयमा यसरी प्रहार नगरेको भए कर्णलाई मार्न अनि अर्जुनलाई बचाउन सकिँदैनथ्यो भन्ने कुरा कृष्णलाई राम्रोसँग थाहा थियो । यसकारण युद्धनीतिका विरुद्धमा गएर भए पनि कृष्णले यस्तो कठोर निर्णय लिए र विजयधारी कर्णलाई समाप्त पारिदिए ।
अर्जुनले आफूमाथि वाण प्रहार गर्नलाग्दा कर्णले अर्जुनलाई युद्धको नियम सम्झाउन खोजेका त थिए तर कृष्णले निहत्था अभिमन्युलाई कौरवहरूले त्यसरी नै युद्धनीतिविरुद्ध मार्ने समयमा कर्णको संलग्नता रहेको कुरा बताउँदै यसमा कुनै दोष नलाग्ने कुरा अर्जुनलाई सम्झाए । यसरी धनु जुन शक्तिशाली भए पनि कृष्णको सहायताप्राप्त अर्जुन नै युद्धमा विजयी भए ।































प्रतिक्रिया