केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० मंसिर ।
सौख र सुरक्षाका लागि घर–घरमापालिने कुकुरहरु अहिले शहरी क्षेत्रमा रवाफ देखाउन पालिन थालिएको छ ।
काठमाडौंमा केन्द्रित रहेको कुकुरको व्यापार अहिले नेपालका अन्य शहरहरुमा पनि फैलिएको छ ।
अहिले काठमाडौं बाहिर वुटवल, पोखरा, झापा, धरान, लगायतका ठाउँबाट पनि कुकुरको व्यापार मौलाउँदो अवस्थामा रहेको छ ।
कुकुरको बढ्दो मागसंगै व्यापार पनि फस्टाउँदो छ । अहिले राजधानीमा वैधानिक रुपमा नै ३० वटा भन्दा धेरै केनल क्लबमार्फत कुकुरहरुको व्यापार हुँदै आएको छ भने कतिपयले ब्यक्तिगत रुपमा पनि महंगा जातका कुकुरहरुको ब्यापार गरिरहेका छन् ।
अहिले नेपालमा २० देखि २५ जातका कुकुरको बिक्री हुने गरेको रोयल केनलका संचालक केशर केसी बताउँछन् । कुकुर पनि जात अनुसार फरक–फरक मूल्यमा किनबेच हुने गरेको छ ।
उपत्यकामा अहिले सस्तोमा पाँच हजार रुपैंयादेखि महंगोमा २ लाख रुपैंया पर्ने सम्मका कुकुरहरुको किनबेच भैरहेका छन् ।
संसारमै सर्वाधिक महंगो मानिने टिबेटियन म्यास्टिफ जातको कुकुर हो । यसको मुल्य नेपालमा ५ देखि ७ लाख रुपैंयासम्म पर्ने व्यापारीहरु बताउँछन् ।
नेपालमा बढी बिक्री हुने कुकुर र यिनको मूल्य
टिबेटियन म्यास्टिफ
टिबेटियन म्यास्टिफ विश्वको सबैभन्दा महंगो जातको कुकुर मानिन्छ । यसको नेपालमा ५ लाख रुपैयाँसम्म पर्छ । तर अमेरिका लगायत अन्य देशमा भने झण्डै १ करोड रुपैंयामा किनबेच हुने गरेको सञ्चार माध्यममा सुनिन्छ । यो जातको कुकुर भने नेपालमा अझैं आउन सकेको छैन ।
ब्लु हाउण्ड
यो जातको कुकुरको उत्पत्ति वेलायतमा भएको हो । तर नेपालमा भने भारतबाट आयात गरिन्छ । यो मध्यम जातको कुकुर हो । यसको मूल्य सामान्यतः १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म पर्ने व्यापारीहरु बताउँछन् । यस जातको कुकुर वर्षमा १५ देखि २० वटा सम्म मात्र बिक्री हुने गरेको व्यापारीहरु बताउँछन् ।
सेन्ट–वेनार्ड
यसलाई विश्वको सबैभन्दा ठूलो जातको कुकुर मानिन्छ । यसको तौल एक सय किलो जतिको हुन्छ । यसको उत्पत्ति स्विट्जरल्याण्डमा भएको मानिन्छ । यसको मूल्य नेपाली बजारमा ३५ हजारदेखि ४५ हजार रुपैयाँ सम्म पर्छ ।
हस्की
यस जातको कुकुरको उत्पत्ति थाइल्याण्डमा भएको हो । यसको मूल्य नेपालमा १ लाखदेखि १ लाख २० हजार रुपैयाँसम्म पर्छ ।
ग्रेट डेन
यो कुकुरको उत्पत्ति जर्मनीमा भएको हो । यसको मूल्य ३५ हजारदेखि ४५ हजार रुपैयाँसम्म पर्छ । नेपालमा भने यो जातको कुकुर भारतबाट आयात गरिन्छ ।
नेपालमा सबैभन्दा बढी बिक्री हुने केही सस्ता कुकुर
जापनिज स्पीट्ज
यो कुकुरको उत्पत्ति जापानमा भएको हो । यो कुकुर नेपालमा वार्षिक १५ सयको हाराहारीमा बिक्री हुने गर्छ । यसको मूल्य ५ हजार देखि ६ हजार रुपैयाँसम्म पर्ने गर्छ ।
जर्मन सेफर्ड
यो जातको कुकुरको उत्पत्ति जर्मनीमा भएको मानिन्छ । यो कुकुर पनि दुई थरीको जातमा पाइन्छ । छोटो रौं भएको र लामो रौं भएको । यो जातको कुकुर अहिले नेपाली बजारमा १२ देखि १८ हजार रुपैयाँसम्म मा बिक्री हुने गरेको छ । यो जातको कुकुर नेपालमा वार्षिक सरदर १ हजार वटासम्म विक्री हुने गरेको ब्यापारिहरु बताउँछन् ।
लाह्सा एप्सो
यो कुकुरको उत्पत्ति पनि तिब्बतमा भएको हो । मूल्यको हिसाबले यो पनि मध्यम खालको कुकुर हो । यसको मूल्य ८ देखि १२ हजार रुपैयाँँसम्म पर्छ । नेपालमा यो कुकुर वार्षिक ९ सयको हाराहारीमा बिक्री हुने गरको छ ।
कोकर स्पानियल
यो जातको कुकुरको उत्पत्ति बेलायतमा भएको मानिन्छ । यसको रौं भुई नै छुने गरी लामो हुन्छ । यो कुकुर ४ रंगमा पाइन्छ । यसको मूल्य ९ हजार देखि १३ हजार रुपैयाँसम्म पर्छ । यसको वार्षिक व्यापार ९ सय वटाको हाराहारीमा हुने गरेको ब्यापारीहरु बताउँछन् ।
डाल्मासियन
यो कुकुरको उत्पत्ति बेलायतमा भएको हो । मूल्यको हिसाबले यो मध्यम खालको कुकुर हो । यसको मूल्य ८ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्छ । यसको व्यापार वार्षिक ५ सय देखि ७ सय वटासम्म हुने गरेको व्यापारीहरु बताउँछन् ।





























प्रतिक्रिया