सालकको खपटासहित तीनजना पक्राउ

सालकको खपटासहित तीनजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ७ कात्तिक

लोपोन्मुख प्रजातिको रुपमा रहेको सालकको खपटा ओसार पसार तथा खरिद बिक्री गर्ने एक गिरोहलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ । उक्त गिरोहलाई सालकको २ किलो २ सय ग्रााम खपटासहित धादिङबाट पक्राउ गरिएको हो । वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो गजुरी गाँउपालिका वडा नं. ६ आदमघाटबाट तीनजनालाई पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तु सालकको खपटा ओसार पसार गरी बिक्री गर्न लैजाने क्रममा उनीहरुलाई पक्राउ गरिएको सिआइबीका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा धादिङ गजुरी गाँउपालिका वडा नं. ७ डाँडागाँउका ४५ बर्षिय कृष्ण भन्ने झंक बहादुर अधिकारी , सोही ठाउँका कुभिन्डे बस्ने ४२ बर्षिय भिम बहादुर पण्डित र धादिङ गजुरी गाँउपालिका वडा नं. ८ कटुन्जेका ३० बर्षिय रामकाजी भुजेल गरी ३ जनाको गिरोह रहेको छ ।

सालक साइटिस महासन्धि १९७५ को अनुसुची १ मा लोपोन्मुख प्रजातिको सूचीमा सूचीकृत गरिएको वन्यजन्तु हो । उक्त गिरोहलाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय धादिङमा बुझाइएको ब्युरोले जनाएको छ ।

उनीहरुले अपराध गरिएको प्रमाणित भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) अनुसार कारवाही हुने छ । गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु सालक मार्ने, आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा ओसार पोसार गर्ने व्यक्तिलाई ५ लाखदेखि १० लाख रूपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रवधान रहेको ब्युरोले जनाएको छ ।

 

Logo