केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २५ असोज ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ११औं गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ । दीपावलीको अवसरमा ललितपुरको जावलाखेलमा पुष्प प्रदर्शनी हुन लागेको आयोजकले जनाएको छ ।
यही असोज २७ गतेदेखि २९ गतेसम्म जावलाखेलको खेल मैदानमा सञ्चालन हुने मेलामा पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा तथा पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा अन्तक्र्रिया समेत हुनेछ ।
एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार पुष्प व्यवसायीले उत्पादन गरेका फूललाई आम जनमानसलाई देखाउन र गुणस्तरीय फूलको व्यापार गर्नका लागि यो प्रदर्शनी गर्न लागिएको हो ।
प्रतियोगितात्मक प्रदर्शनीमा गोदावरी फूल स्पाइडर, मिनियचर, इन्क्रर्भ र रिफ्लेक्सलाई प्रतिस्पर्धामा सहभागी गराउनका लागि तीन वटा छुट्टै स्टल राखिनेछ ।
नेपालका लागि आवश्यक फूल नेपालमै उत्पादन गर्न सकियोस् तथा नेपाली फूलको बजार व्यापक विस्तार गर्न सकियोस् भन्ने यस मेलाको उद्देश्य रहेको आयोजकले जनाएका छन् ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारा रहेको मेलामा व्यावसायिक स्टल ४४ वटा, सूचनामूलक स्टल तीनवटा, प्रतिस्पर्धात्मक तीनवटा गरी जम्मा ५० स्टल रहनेछन् ।































प्रतिक्रिया