सहज तरिकाले घरमै यसरी गर्न सकिन्छ माइन्डफुलनेस ध्यान

सहज तरिकाले घरमै यसरी गर्न सकिन्छ माइन्डफुलनेस ध्यान


माइन्डफुलनेस ध्यान विशेष खालको मानसिक तालिम हो, जसले विचारका वेगलाई शान्त पार्न, नकारात्मक विचार हटाउन र मन तथा शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।

माइन्डफुलनेस भन्नाले वर्तमान क्षणप्रति पूर्णरूपले सजग रहनु हो। माइन्डफुलनेस अभ्यासमा विचार, भावना र संवेगलाई कुनै ‘जजमेन्ट’ नगरी साक्षी भावले हेर्ने गरिन्छ।

माइन्डफुलनेस ध्यानको अभ्यास प्रक्रिया फरक फरक हुन सक्छ। तथापि, यो ध्यान पद्धतिमा गहिरो श्वासप्रश्वास साथै शरीर र मनप्रति सजगता अपनाइन्छ। माइन्डफुलनेसको अभ्यासमा कुनै बाह्य वस्तु र सामग्रीको जरुरी पर्दैन। जस्तो कि ध्यान गर्नका लागि मैनबत्ती, धुप वा मन्त्र केही चाहिँदैन।

यो ध्यान अभ्यास गर्नका लागि केवल बस्नका लागि सजिलो आसन भए पुग्छ। भुइँमा बस्दा असजिलो भएमा कुर्सी वा खाटमा बसेर पनि अभ्यास गर्न सकिन्छ। खाली समय मिल्यो भने एक पटकमा पाँच मिनेटसम्म ध्यान बस्दा फाइदा हुन्छ। ध्यान बस्दा के कुरा ख्याल गर्नुहोस् भने ‘जजमेन्ट’ नगरीकन मनलाई स्वतन्त्र छाडिदिनु पर्छ।

अभ्यास कसरी गर्ने ?
माइन्डफुलनेस सिक्न एकदमै सजिलो तरिका छ। कसैको सहायताबिनै तपाईं आफैँले यसको अभ्यास गर्न सक्नुहुन्छ। तथापि, कुनै गुरु वा कार्यक्रमले तपाईंलाई अभ्यास सुरु गर्न निकै मद्दत पुग्छ।

तपाईं आफैँ माइन्डफुलनेस ध्यान अभ्यास गर्न लाग्नुभएको छ भने तलका ‘स्टेप’हरूले पक्कै मद्दत गर्छन्।  

शान्त ठाउँ छनोट गर्नुहोस्
माइन्डफुलनेस अभ्यासका लागि शान्त र सजिलो स्थान पत्ता लगाउनुहोस्। त्यो स्थान तपाईंले घरमै तय गर्न सक्नुहुन्छ। भुइँमा ओछ्याइएको चकटी वा कुर्सीमा बस्नुहोस्। यसरी बस्दा टाउको, घाँटी र मेरुदण्ड सिधा राख्नुपर्छ।

यस्तो बेलामा शरीरलाई एकदमै सजिलो खालका खुकुला लुगा लगाउनुपर्छ, जसले तपाईंलाई अर्कोतिर ध्यान जानबाट रोक्छ। यो अभ्यास कुनै पनि ठाउँमा जति पनि समयावधि छुट्याएर गर्न सकिन्छ। यसका लागि कुनै ड्रेस कोड जरुरी पर्दैन। 

कति समय ध्यान गर्ने ?
सुरुको अवस्थामा केही मिनेट मात्र ध्यान बस्न सकियो भने त्यसले धेरै परिवर्तन ल्याउँछ। तसर्थ, तपाईं ध्यान अभ्यासको प्रारम्भिक चरणमा हुनुहुन्छ भने पाँच मिनेट अवधिबाट ध्यान सुरु गर्नुहोस्। ध्यान बस्ने अवधिलाई बिस्तारै १०/१५ मिनेट गर्दै लम्ब्याउन सकिन्छ। केही समयपछि तपाईंलाई ३० मिनेट ध्यान बस्दा पनि सजिलो हुन्छ। अभ्यस्त भइसकेपछि एक घन्टाभन्दा बढीको लामो ध्यानमा बस्न सकिन्छ।

श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्नुहोस्
श्वासप्रश्वासप्रति होस राख्नुहोस्। ख्याल राख्नुहोस् कि नाकको प्वालबाट श्वास भित्र गइरहेको छ अनि नाकबाट श्वास बाहिर आइरहेको छ। यसरी श्वास भित्र जाँदा फोक्सो फुल्ने र बाहिर जाँदा खुम्चने हुन्छ। ‘जजमेन्ट’ नगरीकन यो प्रक्रियालाई हेर्नुहोस्। श्वास लिँदा वा फेर्दा कस्तो तापक्रम महसुस हुन्छ, ख्याल गर्नुहोस्।

विचारलाई साक्षी भावले हेर्नुहोस्
ध्यान गर्नुको उद्देश्य मनमा आउने विचारलाई रोक्ने होइन। सहज र अनि सरल तरिकाले मनमा आउने विचारलाई साक्षी भावले हेर्ने हो।

ध्यानमा बस्दा तपाईंको मनमा विचार आउन सक्छ, त्यसलाई दबाउने प्रयत्न नगर्नुहोस्। त्यसलाई साक्षी भावले हेर्नुहोस्, त्यसप्रति कुनै रियाक्ट नगर्नुहोस्, शान्त रहनुहोस् र सामान्य ढंगले त्यसको जानकारी राख्नुहोस्। मनमा विचारका शृंखला आइरहन्छन्, त्यस बेला श्वासप्रश्वासप्रति सचेत रहनुहोस्।

यो अभ्यास घरमै बसी गर्न सकिन्छ। यसले तपाईंलाई शारीरिक तन्दुरुस्तीका साथै मानसिक शान्ति दिलाउँछ।न्युज कारखाना

Logo