विज्ञान भन्छ, ‘प्राणायामको नियमित अभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढ्छ’

विज्ञान भन्छ, ‘प्राणायामको नियमित अभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढ्छ’


विभिन्न अनुसन्धानले गहिरो र सचेत श्वाप्रश्वास क्रिया शारीरिक र मानसिक स्वास्थ्यका लागि कसरी फाइदाजनक हुन्छ भनी देखाएको छ। श्वासप्रश्वास स्वेच्छिक र अस्वेच्छिक दुवै कार्य हो। यो अचेत र सेचत दुवै हिसाबले भइरहेको हुन्छ। यसको अर्थ यदि तपाईंले श्वासमा ध्यान दिन सक्नु भएन भने पनि शरीरले आफ्नै हिसाबले यो कार्य गरिरहेको हुन्छ। यदि तपाईं यसको बारेमा माइन्डफुल हुनु भयो भने श्वासको गति र बहावलाई नियन्त्रण गर्न सक्नुहुन्छ। 

न्युरोवैज्ञानिक भन्छन्- सचेत भएर जति विस्तारै गहिरो श्वास फेर्‍याे भने त्यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ, रिल्याक्सेसनको अवस्था रहन प्रेरित गर्छ, भावनात्मक स्थायित्व सिर्जना गर्छ, मुटुको गति र श्वासप्रश्वासको गतिमा सुधार ल्याउँछ र डिप्रेसनको औषधिका रुपमा काम गर्छ।

अब प्रश्न उठ्छ कि कुनै व्यक्तिले कसरी सचेत तरिकाले श्वास फेर्न सक्छ? यो प्रश्नको सही उत्तर हुन्छ -प्राणायामको अभ्यासमा पारंगत भएर। यो अभ्यासले सचेत भएर श्वासप्रश्वास क्रिया गर्न मद्दत गर्छ र यसका वैज्ञानिक तरिकाबाट पुष्टि भएका असंख्या फाइदा पनि छन्। 

प्राणायाम के हो?

प्राणायाम योगको एउटा पद्धति हो, जसले श्वासलाई नियन्त्रण गर्न सिकाउँछ। प्राणायाम शब्दको अर्थ हुन्छ- जीवनशक्तिको विस्तार। यसमा सचेत तरिकाले श्वास लिने र फेर्ने तथा नियन्त्रण गर्ने विभिन्न तरिका पर्छन्, जसले गर्दा यसको अभ्यास गरेको केही क्षणसम्म कुनै पनि व्यक्ति बाहिरी दुनियाँको अराजक स्थितिबाट अलग रहन्छ। प्राणायामलाई हेरक बिहान अभ्यास गर्न सकेमा यसले फाइदा पुग्छ। प्राणायामको अभ्यास बिहान सबेरै स्वच्छ हावा भएको बेलामा खाली पेटमा गर्दा निक्कै उपयोगी हुन्छ।

प्राणायाम पछाडिको विज्ञान

प्राणायामले सचेत श्वास फेराइको सामान्य विज्ञानलाई प्रयोग गर्छ। हाम्रो शरीरको भावनात्मक र शारीरिक दुवै तनावसँग व्यवहार गर्ने आफ्नै तरिका हुन्छ। तनावयुक्त परिस्थिति नै हाम्रो शरीरमा तनाव प्रतिक्रिया जन्मिनुको कारण हो, जसले हाम्रो शरीर र मनलाई विभिन्न तवरले प्रभाव पार्छ।

जब हामी भावनात्मक वा शारीरिक तनावको सामना गर्छौं, तब ‘फाइट वा फ्लाइट रेस्पोन्स’ प्रणालीमा स्वतः असर पर्छ। वातावरणबाट तनावविरुद्ध हाम्रो रक्षाको पहिलो पहिलो रेखा प्यारासिम्पेथेटिक स्नायु प्रणालीद्वारा सुरु गरिएको प्रक्रिया हो। 

तनावले पारासिम्प्याटिक स्नायु प्रणालीमा भ्यागस नर्भलाई उत्तेजित गर्छ, जुन मस्तिष्कको आधारबाट पेटसम्म चल्छ। नर्भ (स्नायु)ले गर्ने दुईवटा महत्वपूर्ण चीज भनेको स्नायु प्रणालीको रेस्पोन्स व्यवस्थापन र मुटुको ढुकढुकी घटाउने हो।

भ्यागस नर्भबाट निस्किने एसेटिल्कोलिन नामक न्युरोट्रान्समिटरले चिन्ता घटाएर एकाग्रता र शान्तपना बढाउन महत्वपूर्ण भूमिका खेल्छ। तसर्थ, भ्यागस नर्भलाई उत्तेजित बनाउन सकियो भने ज्यादै बढी मात्रामा एसेटिल्कोलिन निस्कन्छ, यसले चिन्ताको लेभललाई घटाउँछ। वर्षौं पुराना योगका सिद्धान्तअनुसार श्वासप्रश्वास र मस्तिष्कको कार्यबीच अत्यन्त निकट सम्बन्ध रहेको छ। दुवै कार्य आपसमा अन्तर्सम्बन्धित छ।

यो प्रक्रिया बुझ्न एकदमै सजिलो तरिका छ। जब हामी तनावमा हुन्छौं, स्नायु प्रणाली चिन्तित र भयभित रहेको हुन्छ। त्यस्तो अवस्थामा हाम्रो शरीर अस्तित्व जोगाउने मोडमा हुन्छ, जसलाई फ्लाइट वा फाइट रेस्पोन्स भनिन्छ। यस्तो बेलामा हाम्रा शारीरिक र मानसिक क्रियाकलापहरु तनावयुक्त अवस्थातर्फ जान्छन्।  

यस्तो अवस्थामा मुटुको धड्कन बढेको महसुस हुन सक्छ। साथै, चाँडो श्वासप्रश्वास क्रियाकलाप र तनाव उत्पन्न गर्ने हर्मोन चाँडो निस्कन्छ। प्रतिक्रिया जनाउने शरीरका यी प्राकृतिक तरिकाले तनावयुक्त अवस्थामाथि प्रतिक्रिया जनाइरहेका छन् र अब यी परिवर्तन वा शारीरिक प्रकृति बाँच्ने प्रवृत्ति हुन्, जीवन धम्कीपूर्ण परिस्थिमिा महत्वपूर्ण हुन्छन्। हामीले दैनिक जीवनमा आइपर्ने समस्याको सामना गर्न कत्तिको अनुकूल गरेका छौं भनी तिनीहरुले निर्धारण गर्छन्। यसले यो पनि सुनिश्चित गर्छ कि एक पटक सिकेपछि, हामी अर्को पटक पनि त्यसो गर्न सक्छौं। यद्यपि, यी प्रतिक्रिया अनावश्यक स्थितिमा सामान्य तनावमा पनि हुनसक्छ। हामीलाई शान्त हुन मद्दतका लागि अनावश्यक भए पनि विपरीत प्रतिक्रियामा सुरु गर्ने क्षमता रहेको छ। प्राणायामको सहायताले यसलाई स्थापित गर्न सकिन्छ।

यसअघि नै उल्लेख भएझैं यो प्रतिक्रिया सामान्य तनावयुक्त अवस्थामा पनि आउन सक्छ, जुन अनावश्यक हो। यसले हामीलाई हर्मोन उत्पादन र निष्कासनलाई नियन्त्रण गर्न मद्दत गर्छ, जुन तनावसँग सम्बन्धित हुन्छ।

प्राणायामका फाइदा

श्वासप्रश्वासको विज्ञानले किन प्राणायामले हाम्रो शरीर र मनलाई फाइदा गर्छ भन्ने सम्बन्धमा ज्यादै तार्किक व्याख्या अघि सारेको छ। तनाव नियन्त्रणबाहेक प्राणायामले श्वासप्रश्वास प्रणालीलाई अनेक तरिकाले फाइदा गर्छ।

वरिपरि वातावरणमा नरम खालको हुमिङ साउन्ड बजाएमा हामीले शान्त तरिकाले प्रणायाम अभ्यास गर्न सक्छौं। यसमा नाकबाट बिस्तारै श्वास भित्र जाने र मुखबाट कार्वनडाइअक्साइड बाहिर जान्छ। प्राणायामका अनेकौं फाइदामध्ये यौगिक श्वासप्रश्वास क्रिया गर्दा विशेषतः कोर्डियोभास्कुलर रोग, मेटाबोलिक सिन्ड्रोम, डाइबेटिज, क्यान्सर र चिन्तामा प्रभाव पार्छ। विभिन्न अध्ययन र समीक्षाले योग तथा प्राणायामका सकारात्मक फाइदा पुग्नसक्ने प्रमाणित गरेको छ। 

(विभिन्न अनुसन्धानमूलक पेपरको आधारमा न्युज कारखानाले तयार पारेको सामग्री)

Logo