१९ मंसिर २०७८ आइतबार

तबमात्र तपाईंले अस्तित्वको अनन्ततालाई जान्न सक्नुहुनेछः सदगुरु

कुनै व्यक्तिलाई आफ्ना मान्यता र विश्वासहरूको घेराले बनेको आफ्नो मानसिकताबाट बाहिर निस्किन तथा आफ्नो जीवनको आधारभूत पक्षबारे नै पूरै अनभिज्ञ रहेको कुरा स्वीकार गर्नको निम्ति विशाल हिम्मत चाहिन्छ। 

के तपाईं आफूसँग दुईवटा हातहरू छन् भनेर विश्वास गर्नुहुन्छ? वा, तपाईंलाई आफूसँग दुईवटा हातहरू छ भन्ने कुरा थाहा छ? यदि तपाईंले आफ्नो आँखाले हेर्नुभएन भने पनि तपाईंसँग दुईवटा हातहरू छन् भनेर जान्नुहुन्छ। यो कुरा तपाईंले अनुभवबाट जान्नुभएको छ। तर, जब भगवानको कुरा आउँछ, तपाईंलाई विश्वास गर्न भनिएको छ। कसैले पनि तपाईंलाई देवत्वको खोज गर्न भन्दैनन् !

कुनै पनि कुरामा विश्वास गर्नाले तपाईंमा रूपान्तरण हुँदैन। तर, यदि तपाईंले त्यसलाई अनुभव गर्नुभयो भने, तपाईंलाई पूर्णतया रूपान्तरित गरिदिनेछ। तपाईं चाहे जस्तोसुकै कुरा विश्वास गर्नुहोस्, त्यसलाई अनुभव नगर्दासम्म त्यसले कुनै अर्थ राख्दैन। उदाहरणको लागि, तपाईं जन्मेको बेलादेखि यदि मैले तपाईंलाई लगातार मेरो कान्छी औँला भगवान हो भनेको भए, मैले कान्छी औँला देखाउनेबित्तिकै तपाईं दैवीय भावले विह्वल बन्नुहुनेछ। त्यसैगरी, तपाईं जन्मेको बेलादेखि मैले तपाईंलाई मेरो कान्छी औँला राक्षस हो भनेको भए, मैले कान्छी औँला देखाउनेबित्तिकै तपाईं भयभित बन्नुहुनेछ। यही तपाईंको मनको प्रकृति हो।

तपाईं आफ्नो मनमा चाहे जेसुकै सोच्नुहोस्, त्यसको कुनै औचित्य हुँदैन। साधनको रूपमा मन उपयुक्त छ, तर अस्तित्वको वास्तविकता जान्नको लागि यसले सहायता गर्दैन, किनभने आज मन एउटा रूपमा हुन्छ, अनि भोलि अर्कै। मनलाई जस्तोसुकै आकार वा स्वरूप दिन सकिन्छ। यसले कस्तो आकार लिन्छ भन्ने कुरा यसलाई कसरी प्रभावित गरिन्छ भन्ने कुरामा निर्भर गर्दछ। यदि तपाईंले गहिराइमा हेर्नुभयो भने, तपाईंले जे लाई “मेरो मन” भन्नुहुन्छ, त्यो तपाईंले वरिपरीका हजारौँ मानिसहरूबाट बटुल्नुभएको हो। तपाईंले अनेकौँ छिद्रहरू जम्मा गरी यो मन बनाउनु भएको छ। तपाईंको मन तपाईंकै पृष्ठभूमि मात्र हो, जुन तपाईं कस्तो परिवारबाट आउनुभयो, तपाईंले के–कस्ता शिक्षाहरू लिनुभयो, कुन धर्म–सम्प्रदायमा हुर्किनुभयो, तपाईं जुन समाज, राष्ट्र वा यहाँ सम्म कि जुन विश्वमा रहनुभएको छ, त्यसले निर्धारित गरेको छ।

बुद्धि जीवित रहनको लागि सहायक साधन हो; यो तपाईंको जीवनको सीमित पक्ष हो। जीविका अपरिहार्य छ, तर त्यसले पूर्णता दिँदैन। यदि तपाईं जीवनका गहन आयामहरूमा जान चाहनुहुन्छ भने, सर्वप्रथम तपाईंलाई आवश्यक साधनहरू चाहिने हुन्छ। यतिखेर तपाईं आफ्ना इन्द्रियहरूको माध्यमले मात्रै जीवनलाई अनुभव गरिरहनुभएको छ—देखेर, सुनेर, छोएर, चाखेर अनि सुँघेर। यी इन्द्रियहरूको सहायताले तपाईं भौतिक पक्षभन्दा पर केही पनि जान्न सक्नुहुन्न। तपाईं एक फुट लामो स्केलले समुद्रको गहिराइ नाप्न सक्नुहुन्न। अधिकांश मानिसहरू यस्तै प्रयास गरिरहेका छन्। आवश्यक साधनहरूबिनै मानिसहरू आफ्नो जीवनको गहन र गूढ आयामहरू जान्न चाहिरहेका छन्।

मानिसहरू निष्कर्षमा पुग्न हतार गरिरहेका हुन्छन्, किनभने उनीहरूले मूलभूत रूपमा केही पनि अनुभव गरेका हुँदैनन्। तपाईंले जसलाई "म" भन्नुहुन्छ, त्यो व्यक्ति वा व्यक्तित्व भनेको जीवनबारे रहेका तपाईंका निष्कर्षहरूको डङ्गुर मात्र हो। तर, तपाईं चाहे जस्तोसुकै निष्कर्षमा पुग्नुहोस्, त्यो गलत हुने निश्चित छ, किनभने जीवन तपाईंका निष्कर्षहरूको दायराभित्र रहेको हुँदैन।

यसलाई साधारण रूपमा बुझ्नको लागि एकजना व्यक्तिको उदाहरण लिऔँ । मानौँ कि तपाईंले कुनै व्यक्तिलाई बीस बर्षअघि भेट्नुभएको थियो अनि उसले गरेको काम तपाईंलाई मन नपरेको हुनाले तपाईंले ऊ खराब मान्छे हो भन्ने निचोडमा पुग्नुभएको थियो। अनि, यदि अहिले तपाईंले ती व्यक्तिलाई बीस वर्षपछि भेट्नुभयो भन, ऊ असाध्यै असल मान्छे बनेको हुन सक्छ। तर, तपाईंको मनले तपाईंलाई ती व्यक्तिलाई उसको हालको अवस्थामा अनुभव गर्न दिँदैन। तपाईंले निस्कर्ष निकाल्नेबित्तिकै तपाईंले आफ्नो विकास रोक्नुभएको हुन्छ—तपाईंले जीवनका सम्भावनाहरूलाई नै रोक्नुहुन्छ, तिनलाई नष्ट गर्नुहुन्छ।

आध्यात्मिक प्रक्रिया भनेको एकथरीका निष्कर्षहरूलाई छोडेर अर्का थरीका निष्कर्षहरू समात्नु होइन । जब तपाईं यहाँ कुनै निष्कर्षहरूबिनै रहने साहस गर्नुहुन्छ, हरक्षण केही नौलो अनुभव गर्नको लागि तत्पर रहनुहुन्छ, यस अस्तित्वको सानो कणको रूपमा यहाँ रहन इच्छुक बन्नुहुन्छ, तबमात्र तपाईंले अस्तित्वको अनन्ततालाई जान्न सक्नुहुनेछ।न्युज कारखाना 
-सदगुरुको प्रवचनमा आधारित

ब्लग

प्रकाशित: २ मंसिर २०७८ ०८:३३ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी