राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन


काठमाडौं ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। आज उनकै निवासमा १०२ वर्षको उमेरमा निधन भएको हो। साँझ ५ः५५ मा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे १५ दिन देखि विरामी थिए ।

विसं. १९९२ मा १४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकको कविता गोरखापत्रमा छपाएर काव्ययात्रा यात्रा सुरु गरेका घिमिरेको जन्म वि.सं. १९७६ साल असोज ७ गते लम्जुङको पुस्तुनमा भएको थियो ।

गीत, कविता र महाकाव्यको रचनाबाट नेपाल राष्ट्र र नेपाली जनताको मनमनमा बस्न सफल राष्ट्रकवि घिमिरेलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल नेपाली साहित्यकार भनेर चिन्ने गरिन्छ ।

बाल्यकालदेखि नै निरन्तर रुपमा नेपाली साहित्यको कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्ध जस्ता अनेकौं विधामा निरन्तर कमल चलाउँदै आएका बहुप्रतिभाशाली व्यक्तित्व थिए ।

प्रकृतिका सुन्दर फूललाई गीत र कवितामार्फत अझ सुन्दर मालामा उनेर मानव मुटुमा सजाइदिन सक्ने राष्ट्रकवि घिमिरे आफ्नो दीर्घ जीवनको रहस्य प्रकृति, फूल, हरियाली रमणीय र हराभरा परिवेशलाई मान्थे । चराका चिरबिरलाई काव्यको भाषामा रूपान्तरण गर्ने शिल्पी घिमिरेले परिष्कारवादी काव्य धारलाई सशक्त बनाए ।

प्रत्येक वाक्य र बोलीलाई गीत बनाउन सक्ने गीति कवि घिमिरेले गीतबाटै चर्चित नाटक पनि लेखेका छन् । यसरी उनको जीवन नै गीत र कविताको सङ्ग्रह र महाकाव्य आकारको सङ्ग्रह बनेको थियो । उनको निधनले नेपाली साहित्यमा अपुरणिय क्षति भएको छ ।

Logo