विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’को नेपाली संस्करण प्रकाशित

विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’को नेपाली संस्करण प्रकाशित


टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित भएको छ । टर्कीस भाषामा पहिलोपटक ‘हुजुर’ नाममा उपन्यास प्रकाशन भएको थियो ।  डा. विमलकुमार सुवेदीले नेपाली भाषामा अनुवाद गरेको उपन्यासको नाम ‘सम्यक मन’ राखिएको छ । यसको प्रकाशन वी रिडले गरेको हो ।

टर्किस साहित्यको इतिहासमा यो नै त्यस्तो पहिलो उपन्यास हो जसले वर्ग चेतना र आधुनिक उपन्यासका सिद्धान्तलाई सघन र सर्वाङ्गीण रूपले सम्बोधन गर्दै पश्चिमीकरणका समस्याबारे गम्भीर छलफल गरेको छ । पूर्व–पश्चिमबीचको द्वन्द्व, व्यक्तिगत खुसी र सामाजिक दायित्वबीचको सम्बन्ध र नयाँ–पुरानो मान्यताबीचको द्वन्द्व उपन्यासको केन्द्रमा छ । धर्म, प्रेम, पश्चिमा सभ्यता र संस्कृति अनि इतिहासका विविध आयाम समेटेर लेखक थम्पिनारले उपन्यासलाई खँदिलो र पठनीय बनाएका छन् ।

थम्पिनारलाई बीसौं शताब्दीको सबैभन्दा प्रमुख टर्कीस उपन्यासकारका रुपमा लिइन्छ । इस्तानबुलमा जन्मेका उनी कवि, निबन्धकार पनि हुन् । उनका ‘माहुर कम्पोजिसन’, ‘आउटसाइड द स्टेज’, ‘द टाइम रेगुलेसन इन्स्टिच्युट’, ‘वुमन अन द मून’ उपन्यास र ‘अल हिज पोएम्स’, ‘अडिसन्स’, ‘अब्दुल्लाह इफेन्दीज् ड्रिम्स’, ‘द समर रेन’ कविता प्रकाशित छन् । उनी १९४४ देखि १९४६ सम्म टर्की संसद्को सदस्य पनि भएका थिए । 

उनले इस्तानबुल विश्वविद्यालयमा सौन्दर्यशास्त्र, पौराणिक कथा र साहित्य अध्यापन गराए । १९०१ जुन २३ मा जन्मिएका उनको १९६२ जनवरी २४ मा निधन भयो ।

Logo